नेपालगन्ज । वास्तविक उमेर १७ वर्ष । तर खाडीमुलुकमा बैदेशिक रोजगारीमा जाने प्रलोभनमा २३ सोलुखुम्भु मप्पे दुधकोशीका दुई किशोरी २३ वर्ष उमेर देखाएर राहदानी बनाए । उनलाई सविना नामक महिलाले खाडी मुलुक पठाउने भन्दै राहदानी बनाउन सहयोग गरेकी हुन । विदेश जाने भन्दै काठमाडौं लगेर एक हप्ता राखियो । काठमाडौंंबाट हवाई उडान बन्द भएको भ्रम पारी माघ ८ गते काठमाडौंबाट वसमा नेपालगन्ज ल्याइयो । ती दुई किशोरीका लागि नेपालगन्ज नयाँ शहर । कसैले सोधे घुम्न आएको जवाफ फर्काउन उनीहरुलाई सिकाइएको थियो । उनीहरुलाई नेपालगन्जबाट अटोरिक्सामा भारतको रुपैडिहा लैजाने क्रममा सीमामा रहेका मानव बेचबिखनबिरुद्ध क्रियाशिल संस्था शान्ति पुनस्र्थापना गृहका कर्मचारीहरुले रोकेर परामर्श दिनथाले । परिचयपत्र मागे । दुबै किशोरीले घुम्न जान थालेको बताए ।सोधपुछकै क्रममा आफूहरुसंग एक रुपैयाँ नभएको बताएपछि शंका उत्पन्न भयो । संगै रिक्सामा रहेका पुरुषसंग सोधपुछ गर्दा नाम दिलबहादुर विक बताए । तर परिचयपत्र हेर्दा नाम बाबुराम अधिकारी देखियो । घटना झनै शंकास्पद देखिएपछि प्रहरीलाई जानकारी दिइयो । सुरक्षा जाँच गर्दा अधिकारीसंग किशोरीहरुको राहदानी फेला प¥यो । बैदेशिक रोजगारीका लागि नेपाल सरकारले भारतबाट जान प्रतिबन्ध लगाएको किशोरीहरुलाई कुनै जानकारी छैन । परामर्शपछि किशोरीहरुले बिचिन थालेको सुराक पाए । प्रहरीले अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । अर्का सविना नामकी महिला फरार रहेकी छन् ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खडकाले मानवतस्करहरुले चोर बाटोका रुपमा नेपालगन्ज नाकालाई प्रयोग गर्न खोजेको बताउँछन् । ‘गलत काम गर्ने व्यक्तिहरु गलत बाटो प्रयोग गर्ने नै भए,’ उनले भने,‘भारतबाट विदेश जान सरकारले रोक लगाएको जानकारी नपाएका व्यक्तिहरुलाई यो नाकाबाट लैजाने प्रयास गरेको हुनसक्छ ।’ उनले मानव बेचबिखनका मुद्दाहरु महिला एक÷दुई वटा दर्ता हुने गरेको जनाए । नुवाकोट दुपचेस्वरका दुई किशोरीलाई पनि काठमाडौंमा एक साता राखेर पुुस १२ गते नेपालगन्ज पुर्याइयो । भारत लैजाने क्रममा सीमामा सोधपुछ गर्दा भारतको दिल्लीमा बुटिकमा काम गर्न जान थालेको उनीहरुले बताए । उनीहरुलाई गाउँकै श्याम तामाङले काठमाडौं पुर्याएको किशोरीहरु बताउछन् । उनीहरुलाई काठमाडौंबाट सुनिता तामाङले नेपालगन्ज ल्याएकी थिईन । सोधपुछका क्रममा उनीहरुलाई भारतमा बिक्री गर्न सक्ने शंका मानेर प्रहरीले श्याम र सुनितालाई पक्राउ गरी मानव बेचबिखन अपराधमा मुद्दा चलाएको छ । कोरोनाको महामारी सुरु भएपछि नेपाल भारत सीमा औपचारिकरुपमा बन्द छ । तर मानव तस्करहरुले भने बन्दका बेलामा पनि नेपालगन्ज नाका भएर भारत लैजान क्रियाशिल देखिएका छन् । मानव बेचबिखनबिरुद्ध क्रियाशिल संस्था शान्ति पुनस्र्थापना गृहका कानुनी सल्लाहकार अधिवक्ता सतिष शर्माले नेपालगन्ज नाका मानव बेचबिखनका लागि पहिलेदेखि नै प्रयोग भइरहेको जनाए । उनले मानव बेचबिखनको रुटका रुपमा नेपालगन्ज देखिएपछि हेल्पडेस्क राखेर परामर्श दिइरहेको जनाए । जोखिमपुर्ण यात्रामा रहेका ५५ जनालाई सीमा रोकेर घर फिर्ता गरिएको छ । १ हजार दुई सयलाई परामर्श गरिएको संस्थाले जनाएको छ । नेपालगन्ज नाका भएर भारत पसेका करिव ८ सय बढी महिलाहरु हराई रहेको प्रहरीले जनाएको छ ।