नेपालगन्ज । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनामा संलग्नताको अशंकामा पक्राउ परेका नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारलाई काठमाडौंबाट नेपालगन्ज ल्याइएको छ । सिआईबीको टोलीले उनलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पक्राउ परेका परियारलाई हवाईजहाज मार्फत काठमाडौं ल्याइएको पुष्टि गरेका छन् । सिआईबीको टोली हत्या घटनाको अनुसन्धानका लागि नेपालगन्ज आएको थियो । घटनास्थलमा भेटिएको चप्पल लगायतका प्रमाणको आधारमा सिआईबीको टोलीले अनुसन्धान गर्दा परियार पक्राउ परेका हुन । नेपालगन्ज ल्याइएका परियारसंग प्रहरीले सोधपुछ सुरु गरेको छ । उनी पक्राउ परेसंगै घटनाको सत्यतथ्य बाहिर आउने विश्वास गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा लागुऔषध प्रयोगकर्ताहरुले हत्या गरेको हुने शंका गरिएको छ । घटनामा चारदेखि ६ जनासम्म संलग्न हुनसक्ने बताइएको छ । सूचक मगरको टाउकोको प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । यसअघि बाँके प्रहरीले करिव १५ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनीको लगायतका कोणबाट अनुसन्धान गरेको हो । मृतक प्रविनका बुबा डम्मर थापा मगर नेकपा बाँकेका नेता हुन । एकमात्र छोराको हत्या भएपछि परिवार शोकमा अझै डुबेको छ । स्थानीयले घटनामा संलग्न व्यक्तिहरुको पत्ता लगाई कारवाहीको माग गरिरहेका छन् ।मंंसिर २ गते उनको हत्या भएको थियो ।