नेपालगन्ज ।राउटेहरु फिरन्ते समुदायका रुपमा परिचित छन् । लोपोन्मुख उक्त समुदाय सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेकमा भेटिन्छन् ।आफ्नै नियम र प्रचलनमा रमाउने राउटेहरुभित्रको संगीतप्रेम पछिल्लोपटक दैलेखको कुसापानीमा देखिएको थियो । जतिबेला मैले गाउँदा एक राउटे युवक छमछमी नाचेका थिए । के ती राउटे युवा साँच्चैनै कलापारखी भएर नाचेका थिए त ? पक्कैपनि धेरैको मनमा यो प्रश्न आउन सक्छ । जंगलको खोँचमा बाँदरको मासु कन्दमुल खाएर बाँच्ने राउटे युवालाई नाच्ने रहर कसरी जाग्यो भन्ने कुरा बडो अचम्मको छ । उनी गीत नबुझेर नाचेका होईनन् । उनको हाउभाउबाट पनि उनी गीतकै मर्म समाएर नाचेकोबाट बुझ्न सकिन्छ । हाँसो ठट्टा या मजाकको लागि पनि उनी नाचेका होईनन् । आफ्नो कला देखाउन पनि उनी वन पाखामा हल्लिएका होईनन् । बरु उनी बडो गम्भीर भएर हल्लिएका छन् । हावामा उडिरहेको आफ्नै धोतीको फेरो सम्हालिरहेका छन्,ः छम् छम् नाचिदेउ निउरेर,हातमा रुमाल कानमा फुल सिउरेर…….
काठका मदुस् र अन्य घरायसी सामान बनाएर ती सामान गाउँ सहरमा अन्नसित साटेर जीविका चलाउने राउटेहरु पछिल्लो समयमा मादक पदार्थ र गुट्का खैनीको अम्मलमा चुर्लुम्मै डुबेका छन् । उनीहरु जाँड रक्सी पाएभने खानाखानै भुल्छन् । पानीको स्रोत नजिक पारेर अस्थायी रुपमा पाल टाँगेर कष्टपूर्ण तरिकाले बाँचेजस्तो देखिने राउटेहरुको बस्तीमा जाँड रक्सी चुरोट गुट्काको कतिसम्म खपत हुन्छ भन्नेकुरा उनीहरुको बस्ती सर्दा खाली जमिनमा देखिने रित्ता सिसी र सुर्तीजन्य खोलहरुबाट बुझिन्छ । राउटेहरु यही अम्मलको आसामा कोही नौलो मान्छे पुग्दा पच्छयाउँछन् । पैसाको माग गर्दा गाउँछन् नाच्छन् । राउटे धनबहादुर शाही भन्छन् ः जाडो हुन्छ मित्ज्यु रक्सी नखाई हुन्न । खैनी छ भने दिएर जानुस् ।
राउटे समुदायमा बालबिवाह छ,चरम रुढिबाद छ,अभाव छ भोकमरी । पछिल्लो समय सरकारले राउटेका लागि भत्ताको समेत ब्यवस्था गरेको भएपनि उनीहरुको अस्तब्यस्तता उस्तै छ । अम्मल सिकेका राउटेहरु दुइचार सय रुपैयाँ दिँदा जुनसुकै गीतमा नाच्दिन्छन् । प्रतिफोटो पचास या सय रुपैयाँ भन्दै फोटो खिच्न अनुमति दिन्छन् र सेल्फी पोजको लागि तयार हुन्छन् । अक्सर युवा युवतीहरु नाचगानमा बढी चासो राख्छन् । अविवाहित २१ बर्षीया गाजली शाही बजारमा चलेका नयाँ नयाँ गीतबारे जानकारी राख्छिन् । जंगल छोडेर सहर बजारतिर जाम् न त भन्दा गाजली शाही भन्छिन्, मुखियाको नियम तोडेर जान सक्दैनौं । हामीलाई जंगल प्यारो छ । यहीँ नाच्छौं यही बस्छौं ।
