नेपालगन्ज । जिल्ला खोप तथा अनुगमन समिति बाँकेले बाँकेमा कार्यरत पत्रकारहरुलाई मंगलबार कोभिड १९ बिरुद्धको खोप दिने निर्णय गरेको छ । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुको समन्वयमा समितिले सोमबार उक्त निर्णय गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतमा बसेको बैठकले पत्रकार महासंघ बाँकेका सदस्य तथा सदस्य नरहेका कृयाशिल पत्रकारहरुलाई खोप लगाउने निर्णय गरेको हो । काठमाडौंका पत्रकारलाई कोभिड १९ बिरुद्धको खोप दिने निर्णय पहिलो पल्ट भएको थियो । त्यसयता मुलुककै दोस्रोमा बाँकेका पत्रकारले खोप पाउने छन् । मंगलबार एक दिनका लागि भेरी अस्पताल नेपालगन्जमा कोभिडबिरुद्धको खोप लगाउने भएकाले परिचत्रपत्र वा प्रेस कार्ड लिएर बिहान १० वजे अस्पताल आउन महासंघ बाँकेले आग्रह गरेको छ ।