सुमित्राको घाँटीमा रातो डाम देखेपछि बाबुछोराले उपचार गराउन लैजाँदा स्थानीय चिकित्सकले उपचार गर्न नमानेको परिवारजनले बताए । ‘त्यसलगत्तै केही व्यक्ति भेला भएर शव जलाउन दबाब दिए र नजलाए सबैको ज्यान लिने भन्दै धम्क्याए,’ नवलसिंहले भने, ‘सादा कागजमा ससुराको औंठाछाप पनि लिए ।’ त्यसै रात जबर्जस्ती पोखर रोडको किनारामा नुन र चिनी हालेर स्थानीयले शव जलाएको उनले बताए । स्थानीय प्रहरी चौकीका इन्चार्ज (एसएचओ) सञ्जीवकुमार रञ्जन र अभियुक्तबीचको अडियोवार्ता भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि घटना बाहिर आएको हो । अडियोमा रञ्जनले किशोरीको शवलाई सञ्चारमाध्यमले थाहा पाउनुअघि नै गुपचुप ठेगान लगाउन सल्लाह दिएका थिए । जबकि बालिका बलात्कारको आरोपमा भारतमा पोस्को कानुनअनुसार मुद्दा चलाउनुपर्छ । बालबालिकामाथि हुने यौनजन्य हिंसामा मृत्युदण्डसम्मको सजायको व्यवस्था छ । पश्चिम चम्पारणका प्रहरी अधिक्षक (एसपी) नवीनचन्द्र झाले प्रारम्भिक अनुसन्धानमा एसएचओ रञ्जनले बलात्कार र हत्याजस्तो जघन्य घटनाबारे थाहा हुँदाहुँदै उजुरी दायर नगरेको र उल्टै अभियुक्तलाई प्रमाण लुकाउन सहयोग गरेको बताए । अनुसन्धान टोलीले दोषी ठहर गरेमा रञ्जनमाथि कानुनी कारबाही थालिने उनको भनाइ छ । अडियो बाहिर आउनासाथ एसएचओ रञ्जन निलम्बनमा परिसकेका छन् ।
घटनाको अनुसन्धान गर्न उपप्रहरी अधिक्षक (डीसीपी) को नेतृत्वको एउटा विशेष टोलीसमेत गठन गरिएको छ । प्रहरी अधिक्षक झाका अनुसार फरेन्सिक जाँचका लागि मुजफ्फरपुरबाट एउटा टोली आइतबार घटनास्थल पुगेको थियो । त्यसको रिपोर्ट आउन केही दिन लाग्ने उनले बताए । ‘म हिजो (आइतबार) दिनभर घटनास्थलमै थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘घटनास्थलको प्रकृति र साक्षीको भनाइअनुसार बालिकाको हत्या भएको देखिन्छ ।’ पोस्टमार्टम नगरिएको र शव जलाइएकाले छानबिन गर्न कठिन भएको छ । ‘छिमेकी र साक्षीसँग बयान लिएर आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ,’ अधिक्षक झाले भने, ‘बालिकाको शव जलाउनुअघिका केही तस्बिरसमेत फेला पारेका छौं । जसमा घाँटीमा डामहरू पनि देखिन्छ ।’ बालिकाका बाबुले घटनाकै दिन अभियुक्तविरुद्ध उजुरी दिन खोजे पनि एसएचओ रञ्जनले मानेका थिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तहरूले बालिकाका बाबुलाई बन्धक बनाएर प्रहरीमा रिपोर्ट नगर्न धम्कीसमेत दिएका थिए । त्यहाँबाट जसोतसो फुत्किएर उनी छोरालाई लिएर नेपाल फर्किए । त्यसको दुई दिनपछि अरू आफन्तलाई साथ लाएर उनी फेरि चैनपुर फर्किएका थिए ।
चम्पारणमा बस्दै आएका नेपाली समुदायले उक्त घटनाको विरोध गरेर मुद्दा दर्ता गर्नुपर्ने भनेपछि आफू त्यहाँबाट आएको किशोरीका बाबुको भनाइ छ । चैनपुर थानामा ११ जनाविरुद्ध फेब्रुअरी २ मा उजुरी दर्ता गराएर उनी नेपाल फर्किएका छन् । विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहविरुद्ध सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । घरमालिक साहसहित अन्य ७ जनाविरुद्ध जबर्जस्ती शव जलाएर प्रमाण नष्ट गरेकामा मुद्दा दर्ता गरिएको नवलसिंहले बताए । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा दीपकलाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार छन् । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले जघन्य अपराध गर्ने घरमालिक साहसहित अभियोगीलाई भारतीय कानुनअनुसार फाँसीको सजाय दिन माग गरेका छन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन परराष्ट्र मन्त्रालयबाट पहल गरिनुपर्ने उनको भनाइ छ । पोस्टमार्टमसमेत नगरी जबर्जस्ती बालिकालाई जलाइएको घटना जघन्य अपराध भएकाले नेपालले भारतीय अधिकारीसँग न्यायका लागि पहल गर्नुपर्ने उनले बताए ।
ईकान्तिपुरबाट