नेपालगन्ज—साईड इफेक्ट हुनसक्ने डरका कारण कोभिड १९ बिरुद्धको खोप बाँकेका केही स्वास्थ्यकर्मीहरुले लगाउन मानेनन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले केही स्वास्थ्यकर्मीहरु खोप नलगाएको स्वीकारे । बाँकेमा कोभिडबिरुद्धको खोप भने स्टक छ । त्यही खोप लगाउन डिडिएमसीको बैठकले बाँकेका पत्रकारहरुलाई खोप लगाउन सोमबार निर्णय गरेको थियो । तर लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशकले डिडिएमसीको गरेको निर्णयलाई बदर गरेपछि बाँकेका पत्रकारहरु आक्रोसित भएका छन्् । ‘पत्रकारलाई भ्याक्सिन लगाउन बोलाएर एकाएक खोप दिन नमिल्ने स्वास्थ्य निर्देशकले गरेको निर्णयको खेद व्यक्त गर्दछु । अझै पनि सरकारी कर्मचारीहरुमा केन्द्रीय मानसिकता छ,’ नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु भन्छन्,‘कोभिडको इपीसेन्टर बनेको बा“केका पत्रकारले ज्यानको परवाह नगरी रिर्पोटिङ गरेका छन् । डिडिएमसीले खोप दिने निर्णय गर्यो । तर स्वास्थ्य निर्देशकले सनकभरमा खोप रोक्नु निन्दाजनक छ ।’
सोमबार भएको बैठकमा पत्रकारलाई खोप लगाउने निर्णय गरेको थियो । निर्णय गर्नु अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोत व्यक्ति तेज ओलीले खोपको रिर्पोटिङ गर्न नमिल्ने अडान लिएका थिए । उनले बैठकमै खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई भत्ताको व्यवस्था हुनुपर्ने माग गरे । स्वास्थ्य कार्यालयका प्रतिनिधिले भत्ता माथिबाट नआएको बताए । जिल्लाबाट पत्रकारलाई खोप लगाउने निर्णय गर्न नमिल्ने भनिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले केन्द्र र प्रदेश सरकारको भरमा चल्न नमिल्ने बताए । ‘निर्णय नै गर्न नसक्ने यो झुण्डको के काम ?,’ उनले प्रश्न गर्दै भने,‘जिल्लाको कुनै अधिकार नै छैन ? निर्णय नै गर्न नमिल्ने भए डिडिएमसीको के काम ?’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले अडान लिएपछि बाँकेका पत्रकारहरुलाई खोप लगाउने निर्णय भएको थियो । कोभिड १९ बिरुद्धको खोपको समयापधि बारे पनि छलफल भएको थियो । खोप समयमै नलगाए एक्सपायर हुनसक्ने भन्दै चिन्ता जनाइएको थियो । ‘स्वास्थ्यकर्मीले खोप लगाउन नमान्ने अनि हामी पत्रकारहरुले खोप लगाउन तयार हुँदा पनि नदिने ? खोप एक्सपायर भए कस्ले जिम्मा लिने ?,’ पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले भने ।