भारतमा बर्दियाकी चेलीको बलात्कारपछि हत्या, पीडित परिवार असुरक्षित - Dastabej

भारतमा बर्दियाकी चेलीको बलात्कारपछि हत्या, पीडित परिवार असुरक्षित


  • कमल पन्थी

  •  

    बर्दिया — भारतमा सामूहिक बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया नेपाली किशोरी सुमित्रा विकका परिवारले आफूहरू असुरक्षित रहेको बताएका छन् । मृतकका बाबुआमा र भाइ अहिले भारतको बिहार राज्यस्थित पश्चिम चम्पारणमा छन् । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका घरबेटी सीताराम साह र उनका छोरा विनयले डेरा खाली गर्न धम्की दिन थालेको सुमित्राका भिनाजु नवलसिंह विकले बताए । पीडित परिवारलाई सहयोग गर्ने भारतीय समाजसेवीलाई समेत मुद्दा फिर्ता गर्न दबाब दिएको उनको भनाइ छ ।‘सुरक्षाको कारण देखाउँदै प्रहरीले उहाँहरूलाई त्यहीं बस्न भनेको छ,’ उनले भने, ‘मुद्दा दर्ता भएकाले न्यायका लागि सासूससुरा अहिलेसम्म त्यहीं हुनुहुन्छ ।’ उनीहरूलाई स्थानीयले खाने, बस्ने र मुद्दामा सहयोग गर्दै आएका छन् ।

    २१ जनवरीमा भएको घटनाबारे फेब्रुअरी २ मा मुद्दा दर्ता गराइएको थियो । सुमित्राका बुबाले सिकरहनास्थित डीएसपीलाई निवेदन दिएका थिए, त्यसपछि मुद्दाको प्रक्रिया अघि बढेको हो । पीडित परिवारले ११ जनाविरुद्ध मुद्दा दर्ता गराएका छन् ।प्रहरीले घरबेटी र उनका छोरालाई पक्राउ गरे पनि अन्य फरार रहेको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी हेम शाहीले बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बारबर्दिया नगरपालिका–६ स्थित नवज्योति आधारभूत प्राथमिक विद्यालय शक्तिपुरमा कक्षा ३ मा पढ्दै गरेकी सुमित्रा गत असोजमा आमासँगै बुबा भेट्न बिहार गएकी थिइन् । बलात्कारपछि प्रमाण लुकाउन अभियुक्तहरूले उनको शवसमेत जलाएको भारतीय प्रहरीको भनाइ छ ।

    ईकान्तिपुरबाट

  • २८ माघ २०७७, बुधबार १०:५१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा