एकपक्षीय सुनुवाइका आधारमा न्यायनिरूपण हुनु भनेको प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत हो । सिद्धबाबा भनिने व्यक्तिले घटनाको दिन राति बैठक बसी दिग्विजय यात्राका बारेमा छलफल गरेको र पछि आराम गरेको भनी आफ्ना उत्तराधिकारी र सेवकहरूलाई बयान गरेको फैसलामा उल्लेख छ । आफू वैदिक सनातनी रामानन्दीय वैष्णव भएकाले फेसबुक नचलाउने, मोबाइल नछुने, अनि स्त्री र अग्निबाट टाढा रहने भनी उनले बयान गरेका थिए । कात्तिक ४ गतेको घटनामा ३८ दिन बितेपछि जाहेरी दर्ता गरेको भन्दै न्यायाधीश कोइरालाले पीडित परिसर–२६ को नियतमाथि प्रश्न उठाएका छन् । पीडितले जाहेरी र पछि बकपत्रमा प्रतिवादीको घुँडामा खत रहेको बताएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा सिद्धबाबा भनिने व्यक्तिको घुँडामा खत भएको भेटियो । सिद्धबाबाले ती पीडित आफ्नो आश्रममै नआएको र आफूलाई नभेटेको दाबी गरेका थिए तर नभेटेको भए पीडितले घुँडाको दाग देख्ने र थाहा पाउने थिइनन् । पीडितले सिद्धबाबालाई एकान्तमा भेटेको भन्ने एउटा प्रमाण यो पनि हो । पीडितले घटना हुँदा घुँडामा घाउ भएको र खत बसेको बताएकी थिइनन् तर न्यायाधीश कोइरालाले त्यो खत घटना हुनुभन्दा अघिको भएको अर्थ लगाइदिए । न्यायाधीशले त्यो खत घटनाको दिनको होइन भनी व्याख्या गरेका छन् । उनले फैसलामा भनेका छन्, ‘यसबाट प्रतिवादीको घुँडामा रहेको खत पहिलादेखि नै रहेको स्पष्ट भएको छ ।’
सिद्धबाबाका साक्षीहरूको बयान उद्धृत गर्दै फैसलामा सिद्धबाबालाई फसाउन र बदनाम गराउन यस प्रकारको झूटा आरोप लगाएको हो भनिएको छ । आफूलाई चार्टर एकाउन्टेन्ट दाबी गर्ने प्रशान्त अधिकारी पनि सिद्धबाबाको आश्रममा सेवक बनी बसेका थिए । प्रहरीले मुद्दा कमजोर बनाउन उभ्याएका प्रशान्त अधिकारीले बयानमा दीक्षा लिन उपस्थित नभएको देखेर ‘मैले मौका दिएका बेला चुप किन’ भनी आफूले म्यासेज पठाएको जवाफ दिएका थिए । पीडितका पतिले घटनाबारे थाहा पाएपछि आश्रमका व्यक्तिहरूसँग कुरा गरेका थिए । त्यसपछि सरसल्लाह गरेर मात्रै प्रहरीमा जाहेरी दिएका थिए । पीडितमाथि बलात्कार भएको होइन भन्न फैसलाले यही विषयलाई आधार बनाएको देखिन्छ ।
‘आफ्नो श्रीमतीलाई कसैले जबर्जस्ती गरेको भन्ने कुरामा विश्वस्त भएको अवस्थामा प्रहरीमा जाहेरी दिन जानुपर्नेमा उल्टै आश्रमका मानिससँग वार्तालाप गर्नुको कुनै विवेकसम्मत आधार खुलाउन सकेको पाइँदैन,’ फैसलामा भनिएको छ । घटनाको भोलिपल्ट आश्रमबाट निस्केपछि नजिकको प्रहरीमा गई घटनाबारे सूचना दिनुपर्नेमा नदिएको भन्दै न्यायाधीश कोइरालाले ढिलो गरी जाहेरी दिनुको नियतमाथि नै प्रश्न उठाएका छन् । फैसलाअनुसार ‘३८ दिनपछि मात्रै जाहेरी दर्ता भएको अवस्था विचारणीय देखिन्छ ।’ तर त्यही फैसलाको विवेचनामा न्यायाधीशले बलात्कारका क्रममा नरम र कठोर प्रकृतिका दबाब हुने गरेको भन्दै डर, धम्की र त्रासलाई नरम प्रकृति भनी चित्रित गरेका छन् । सिद्धबाबाको घटनामा पीडितमाथि कुनै दबाब थियो कि थिएन भन्ने विवेचना गर्न उनी चुकेका छन् किनकि पीडितले आफूमाथि अन्यत्र घटनाबारे बोलेमा अनिष्ट हुने भनी धम्क्याइएको भनी बयान दिएकी थिइन् ।
फैसलामा लामो हिस्सा पीडित र प्रतिवादीबीच फेसबुकको म्यासेन्जरमा भएको संवादको व्यहोरा हुबहु उतारिएको छ । त्यसलाई प्रमाणका रूपमा लिन मिल्ने भनी औचित्य पुष्टि गर्न फैसलामा न्यायाधीशले लामो विवेचना गरेका छन् । त्यो संवादमा भक्ति, अर्पणजस्ता भाव लाग्ने संवाद भए पनि शारीरिक सम्पर्कको विषय उल्लेख छैन । फैसलामा भने संवादलाई दुवैबीच सहमतिमा भएको यौनसम्बन्धको रूपमा चित्रित गर्न खोजिएको छ । ‘सुरुवाती चरणमा उजुरी दिने प्रतिवादीसँग बफादार रही भक्तिभाव दर्शाएको र निकट हुन चाहेको प्रतीत भएको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘तर क्रमशः जाहेरीवालाले गुरु र शिष्यको बीचको मर्यादा आफैंले तोडी यौन चाहना र उत्तेजनाका भाव सम्प्रेषण गर्न थालेको देखिइरहेको छ ।’
त्यसपछि फैसलामा पीडितमाथि लाञ्छना सुरु हुन्छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाले फैसलामार्फत राखेको दृष्टिकोणमा पारिवारिक दायित्व भुलेर पीडितले विवाहइतरको सम्बन्ध बनाएकी छन् । ‘आफूलाई अति माया गर्ने पति र स–साना सन्ततिप्रतिको दायित्व र जिम्मेवारीलाई बिर्सिएर विवाहेत्तर सम्बन्ध बनाउन जाहेरवाली आतुर भएको स्पष्टै देखिने अभिव्यक्ति म्यासेन्जरबाट पठाएको देखिन्छ,’ उनले फैसलामा लेखेका छन्, ‘सम्प्रेषित उक्त शब्द र वाक्यहरूले निजभित्र अन्तरनिहित यौनेच्छाको भाव प्रकट भएको देखिन्छ ।’ यदि प्रेमालापयुक्त संवाद भएको रहेछ भने पनि बलात्कार हुनु नितान्त फरक कुरा हो तर यो मुद्दामा भने प्रेम र समर्पण भन्ने आधारमा आरोपितलाई सफाइ दिइएको छ ।
जाहेरवाली आफैंले पटक–पटक अनुनयविनय गरी तृष्णाजन्य कामको इच्छा र चाहना देखाएपछि सिद्धबाबाले त्यसमा मौन स्वीकृतिको भाव प्रकट गरेको निचोड फैसलामा छ । त्यसपछि पीडितले गरेको म्यासेजलाई पनि सहमतिमा गरेको यौनसम्पर्क भन्दै त्यसका फेहरिस्त प्रस्तुत छ । फैसलामा भनिएको छ, ‘जाहेरीकर्ताले आफूमाथि भएको भनिएको घटनालाई सहज रूपमा लिँदै अझै थप सम्बन्ध राख्न चाहेको भाव प्रकट गरेको देखिन्छ । ती संवादबाट पनि उनको मञ्जुरीबेगर सिद्धबाबाबाट कुनै काम भएको भन्ने देखिँदैन ।’ फैसलाको निष्कर्षमा न्यायाधीश कोइरालाले पीडित आफैं सिद्धबाबाको बैठक कक्षमा गई स्वेच्छाले शारीरिक सम्पर्क भएको देखिएको भन्दै यस्तो काममा उनको मञ्जुरी नरहेको मान्न नमिल्ने ठहर गरेका छन् । ‘उनी (परिसर–२६) सिद्धबाबासँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी सहमतिमा भएको भन्ने देखियो,’ निष्कर्षमा भनिएको छ, ‘सिद्धबाबा उपरको अभियोग दाबी स्थापित हुन आएन । कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’
यथार्थ त्यस्तै हो ?
घटनापछि भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमा नै सिद्धबाबाले ‘मबाट एकपटक गल्ती भयो, माफ पाउँ, अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । फैसलामा यो पाटो उल्लेख गरिएको छैन ।
बलात्कारजस्ता घटनामा अपराधीहरूले अरूले थाहा नपाउने गरी गोप्य स्थान छनोट गरेका हुन्छन् भने सकेसम्म आफूलाई त्यससम्बन्धी प्रमाणबाट अलग गर्छन् । त्यसैले यस्तो घटनामा पीडितलाई नै प्रमाणका रूपमा ग्रहण गरिन्छ र अन्यथा प्रमाणित नभएको अवस्थामा पीडितको भनाइलाई प्रमुख प्रमाण मानिन्छ । त्यसका साथै अन्य प्रमाणले समेत घटनाको पुष्टि गरिसकेको अवस्थामा आरोपितले सफाइ पाएका हुन् ।
जिल्ला अदालत स्रोतबाट कान्तिपुरलाई प्राप्त मिसिलको फोटोकपीमा उक्त बलात्कारको घटना पुष्टि गर्ने अरू प्रमाण छन् । पीडितले सिद्धबाबाको नाम किटानीका साथ उल्लेख गरी आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् भने घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पनि पुष्टि भएको थियो । पीडित त्यस दिन आश्रममा गएको प्राविधिक परीक्षणबाट पनि पुष्टि भएको थियो । घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन्, अनि पीडितले रेकर्ड गरी उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पनि पुष्टि भएको छ । सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग कुरा गरेका थिए । उनले कुराकानीका क्रममा क्षमायाचना गरेको अडियो रेकर्डबारे पछि बयानमा आफ्नो होइन भनेका छन् तर उनले अन्य सवालजवाफमा ‘आफूले धर्म रक्षाका लागि साधकहरूको अनुरोधमा घटनाबारे भावविह्वल भई पीडितसँग माफी मागेको’ स्विकारेका छन् ।
घटनाको अनुसन्धानकै क्रममा प्रहरीसमेत प्रभावित भएको थियो । अनुसन्धान अधिकृत डीएसपी विनोद शर्माले किटानी जाहेरी पर्नासाथ मिलापत्रका लागि दबाब दिएका थिए । ‘यसले तपाईंको भलो हुँदैन’ भन्दै उनले बारम्बार दुवै पक्ष बसेर केस अघि नबढाउन लबिइङ गरिरहेका थिए । अनुसन्धानका दौरान घटनास्थल लैजाने क्रममा सुनसरीका एसपी यज्ञविनोद पोखरेलले आफूलाई एकान्तमा लगेर घटनाबारे मिहिन रूपमा बयान गर्न लगाएको पीडितको भनाइ छ । उनले कान्तिपुरसित भनिन्, ‘के के भएको हो, सबै भन्नुस् भनेर उहाँ एक्लैले सोध्दा मलाई निकै अप्ठेरो भयो ।’ अनुसन्धान अधिकृत विनोद शर्माले अनुसन्धानका दौरान करिब २४ जनासँग मौकाको कागज गराएका थिए, जसले सिद्धबाबाको पक्ष लिएर घटना भएको होइन भन्ने तथ्य स्थापित गर्न बल पुर्याएको देखिन्थ्यो । मौकामा कागज गरिएका सुरक्षागार्ड भनिने मुकेश साह त्यसका उदाहरण हुन् । पीडितको दाबीअनुसार सिद्धबाबाले बोलाएको दिन उनी आश्रममा पुग्दा कोही थिएनन् तर पछि सिद्धबाबाले मुकेश साहलाई सुरक्षागार्डका रूपमा प्रस्तुत गरे । घटना भएको रात आश्रममा गार्ड बसेको दाबी गर्ने साहले ‘त्यो दिन गुरु सुतेपछि मूलगेटको ताला लगाई साथैमा चाबी राखेर खाटमा पल्टिएको’ बयान दिएका छन् । फैसलामा भने गेटमा प्रहरी सुरक्षाकर्मी रहेको उल्लेख छ । अनुसन्धान बलियो बनाउनुपर्ने प्रहरीले पीडितको दाबीलाई खण्डन गर्न बल पुग्ने यस्ता प्रमाण जुटाएर आरोपपत्र पेस गरेको भेटिन्छ । सोधपुछका दौरान उभ्याइएका सबैजसोले पीडितलाई दोष दिएका छन् । सिद्धबाबाको पक्षमा उभिएका उनीहरूले पीडितलाई ‘दिमागी रूपमा बिरामी भएको’ आरोप लगाएका छन्, जसलाई आरोपपत्रमा महत्त्वका साथ समावेश गरिएको थियो । उनीहरूले ‘पाशुपत शिष्य महायोग’ नामबाट फेसबुक अकाउन्ट चलाउँथे । ‘बारम्बार फोन गरेकाले कहिलेकाहीं लाइकलगायत स्टिकर पठाउने गरेको थिएँ’ भन्ने अधिकारीको ‘मौकाको कागज’ आरोपपत्रमा पेस गर्नुको अर्थ सिद्धबाबाले नभई सेवकले मोबाइल चलाएको भनी तथ्यलाई उल्ट्याउन खोजिएको थियो । त्यही विवरणलाई साथमा राखेर न्यायाधीशले ‘आशक्तिपूर्ण प्रेमरसका म्यासेजहरू देखिएको र ती अन्यथा हुन नसकेको’ भनी व्याख्या गरेका थिए । ईकान्तिपुरबाट