शनिबार उनको घरतर्फ जाँदै गरेकाहरू ती पसलेको कुरा नसुनेझैं गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को एक समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिधिनिसभा सदस्य दामोदर भण्डारीलगायत नेता–कार्यकर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् । भण्डारीले प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको र अपराधीलाई कानुनी कठघरामा उभ्याउने आश्वासन दिए । उनले ‘दोषी कुनै पनि हालतमा उम्कन पाउँदैनन्’ भनेर सान्त्वना दिनै लाग्दा द्रोपतीलाई छोरीको यादले भावुक बनायो । उनी एकाएक डाँको छाडेर रुन थालिन् । ‘कति पीडा भयो होला मेरी छोरीलाई । अन्तिमपटक के भनी होली,’ द्रोपतीले भक्कानिँदै भनिन् । पति र सन्तान वियोगको पीर एकैसाथ खेपिरहेकी भागरथीकी आमा द्रोपतीको अनुहार बेचैन र मलिन थियो । दुई महिनादेखि नओभाएका उनका आँखा सुन्निएका थिए । गत पुस ७ मा उपचारका क्रममा श्रीमान् कृष्णानन्दको मृत्यु भएको थियो । डेढ महिना नबित्दै छोरी भागरथीको बलात्कारपछि भएको हत्या घटनाले उनी झन् विक्षिप्त बनेकी छन् । हत्यामा संलग्न पहिचान नहुँदा परिवारले शवसमेत बुझेका छैनन् । द्रोपतीका दिन अचेल भागरथीको घटनाबारे बुझ्न आउनेलाई बेलीविस्तारै लगाउँदै दैनिक सयौंपटक भक्कानिँदै बितिरहेका छन् । अझै उनी भक्कानिएको तस्बिर र भिडियो खिच्न पर्खेर बसेकाहरू त त्यसबेला वरिपरि झुम्मिन पुग्छन् । कतिपय फोटो र भिडियो खिचेर फेसबुकमा राख्नलाई मात्र भेट्न आउने गरेको परिवारको गुनासो छ ।
घटना भएकै दिनदेखि जिल्लाभित्र र बाहिरका कतिपय सार्वजनिक पदमा रहेका व्यक्ति पीडित परिवारलाई सान्त्वना दिन द्रोपतीका घरमा पुगिरहेका छन् । घटना भएकै भोलिपल्ट दोगडाकेदारै घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि पुगेका थिए । शनिबार निवर्तमान सांसद भण्डारीको समूह पनि पुग्यो । आइतबार प्रदेश सरकारको सामाजिक विकास समितिका पदाधिकारीहरू उनको घरमा पुगेका थिए ।
कांग्रेसले घटनाबारे स्थलगत अध्ययन गर्न खटाएका केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको टोली पनि आइतबार भागरथीका घरमा पुगेको थियो । नेता लेखकले द्रोपतीलाई सहयोगस्वरूप दुई लाख रुपैयाँको चेक पनि दिए । उनले पनि दोषीलाई उम्किन नदिने प्रतिबद्धता जनाए ।
भागरथीको शव भेटिएको सोमबार १२ दिन पुगेको छ । अझै पनि घटनाका दोषीलाई प्रहरीले सार्वजनिक गरेको छैन । धेरै दिनसम्म दोषी पत्ता नलाग्दा परिवारलाई झन् पीडा भइरहेको काका शिवराज बताउँछन् । उनले हरेक दिन अपराधी पत्ता लाग्ने आश्वासनका शब्द सुनेरै दिनरात कटाउनुपरेको गुनासो गरे । घटना भएको ३/४ दिनमै हत्यारा नजिक पुगिसकेको बताउने प्रहरी १२ औं दिनसम्म पनि यही वाक्य दोहोर्याउँदै आएको छ ।
सोमबार पनि अनुसन्धानको नेतृत्व सम्हाल्दै खोचलेक प्रहरी चौकीमै रहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिम चरणमा पुगेको दोहोर्याए । त्रुटि नहोस् भनेर समय लगाएको उनको दाबी छ । दोषी सार्वजनिक गरेर मात्रै खोचलेक छोड्ने बताएका उनले अब धेरै कुर्नु नपर्ने आश्वासन दिए ।भागरथी हत्या घटनाका दोषीलाई छिटो सार्वजनिक गर्न माग गर्दै जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन् । विद्यार्थी र स्थानीयले जिल्ला सदरमुकामसँगै विभिन्न स्थानमा विरोधका कार्यक्रम गरिरहेका छन् । सोमबार पनि विद्यार्थी र स्थानीयले जिल्ला प्रशासनअगाडि प्रदर्शन गरे । दोगडाकेदार गाउँपालिकाका विद्यार्थी र स्थानीयले पनि दिनभर विरोधका कार्यक्रम गरे । सोमबार जिल्ला सदरमुकाम गोठलापानीमा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस बैतडीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले भागरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसँग माग गरे । आफ्नो पार्टीले न्यायका लागि पहल गरिरहेको उनको भनाइ थियो ।
अस्पतालमा शव बिग्रँदै
भागरथीका परिवारजनले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान छाडेका छैनन् । अहिले जिल्ला अस्पतालले काठको बाकसमा बरफ जम्मा गरेर शव राखेको छ । शव राख्न उपयुक्त फ्रिज नहुँदा शवको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । दैनिक बरफ फेर्दै गरे पनि शवलाई सुरक्षित पार्न नसकिएको उनको भनाइ छ । गत माघ २१ गते विद्यालय गएकी भागरथीको शव भोलिपल्ट गाउँ नजिकैको लवलेक जंगलमा फेला परेको थियो । पोस्टमार्टममा बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइए पनि अझैसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन । ईकान्तिपुरबाट