खजुरा — रनियापुरका रहिस अहमद खाँ र गनापुरका बिषराम यादव फरक धर्म मान्छन् । रहिस मुश्लिम र विषराम हिन्दु । तर उनीहरु मुसबेटवा बाबाको मजारमा संगसंगै पूजा गरे । उनीहरुले मजारमा चादर चढाए । अगरबत्तीको धुप बाले । संगसंगै मिठाईको प्रसाद पनि । अनि मनोकामना पूराका लागि मुसबेटवा बाबासंग बरदान मागे । ‘मनोकामना पूरा हुनका लागि मजारमा पूजाका लागि आएको हो,’ विषरामले भने,‘सबै धर्मालम्बीहरुको आस्थाको केन्द्र बिन्दु भएकाले यो वर्ष पनि आएको हुुँ ।’
बाँकेको खजुरा गाउँपालिका ४ मुसबेटवा मजार छ । यहाँ बर्दिया र बाँकेका सयौंँ हिन्दु र मुश्लिम आस्था राख्ने सर्वसाधारणको घुईचो लागेको छ । मजारमा तीन दिनसम्म भिड लाग्ने गरेको स्थानीयहरुले बताए । श्री पन्चमीको दिनदेखि मजारमा हिन्दु र मुश्लिमले सामू्हिक पूजा गर्न सक्छन् । नेपालगन्जका अब्बास खाँ पनि पूजाका लागि र मजारमा पुुगे । मिठाईको डब्बा बोकेर नेपालगन्जबाट आएका उनले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ आएको बताए । ‘श्री पन्चमीका दिन मजारमा पूजा गर्न आउन छुटाउँदैन,’ उनले भने,‘भाकल गरेपछि मनोकामना पूरा हुने मेरो विश्वास छ ।’
छेउमैमा थिए खजुराका जगतराम यादव उनी पनि मनोकामनाका लागि मजारमा भाकल गरिरहेको भेटिए । उनले पनि मजारमा चादर र मिठाई चढाए । मजारमा हरेक वर्ष पूजा गर्न नछुटाएको उनको दाबी छ । ‘जुनसुकै जाती वा धर्म मान्नेहरु यहाँ पूजा गर्न सुक्छन्,’ उनले देखेको अनुभव सुनाए ।
हिन्दु र मुश्लिम धर्मालम्बीहरु एकसाथ पूजा गर्ने भएका कारण मुसबेटवा बाबाको मजार लोकप्रिय बन्दै गएको छ । मजार भित्र प्रवेशका लागि हिन्दु र मुश्लिमहरुको फरक—फरक लाईन हुँदैन । जो पहिले पुग्छ उसैले प्राथमिकता पाउँछ । मजार भित्र मुश्लिम र हिन्दु धर्म गुरुहरु एकसाथ पं्रथना गरिरहेका । भक्तजनहरुले चदार र प्रसाद चढाएर श्रद्धा पुर्वक मथा टेक्छन् र मजारको चरण पर्छन् । नेपालगन्ज धम्बोझीका विष्णुप्रसाद बैश्यले मुसबेटवा बाबाको मजार स्थापना गरेका हुन । स्थानीय जानकारहरुका अनुसार त्यहाँ मुश्लिम बाबाक बस्थे र तीनका एक हिन्दु चेला थिए । मुश्लिम बाबाको मृत्युपछि हिन्दु चेला पनि त्यहाँको मुख्य भए । शहादतपछि दुबै बाबाको शव त्यहाँ राखिएको स्थानियले बताए ।
स्थानीय नरबहादुर खत्रीले ०२३ सालदेखि मजारमा हिन्दु र मुश्लिम भक्तजनले सामूहिक पुजा गर्दै आएको आफूले देखेको बताए । ‘म यहाँ आउँदादेखि सबै दुबै धर्म मान्नेहरु पूजा गर्न आएको देखेको छु,’ उनले भने,‘पहिले मधेसी समुदाय बढी आउथे । अहिले पहाडी सामुदायको पनि आस्थाको केन्द्रबिन्दु बनेको छ ।’
हिन्दु र मुस्लिम दुवै सम्प्रदायको बराबर श्रद्धा–भक्ती रहेको सो मजारमा आफुले मागेको मन्यता पुरा हुने जनविश्वास रहेको छ । पबित्र मजारमा मुश्लिम र हिन्दुहरुले मुण्डनसमेत गराउन आउने गर्दछन् । अघिपछि पनि दुबै समुदायका भक्तजनहरु मजारमा आई भाकल गर्ने गरेको स्थानीयहरुको भनाई छ ।
स्थानीय श्यामकृष्ण श्रेष्ठले मजारमा अन्य दिनमा पनि भक्तजनहरु आउने गरेको बताए । ‘मनोकामना पूरा गर्न भाकल गर्न र पूरा भएपछि फेरि पनि भक्तजन आएको देखेको छु,’ उनले भने । तर उक्त मजार जिर्ण बन्दै गएको भक्तजनहरुको गुनासो छ । मजारको पुनर्निर्माण र संरक्षणमा खजुरा पालिकाले योजना बनाएको छ । मजारमा श्री पन्चमीको दिनदेखि तीन दिनसम्म मेला पनि लाग्ने गरेको छ ।