बर्दिया — बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबार गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ । अनिश्चित कालका लागि राति १० देखि बिहान ६ बजेसम्म दुईपांग्रे सवारी र पैदल यात्रुलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । शनिबार दिउँसो बाइकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको थियो । यद्यपि उनलाई खासै क्षति हुन पाएन । खाता जैविक मार्ग र आसपासका जंगलमा आठ महिनायता बाघले ५ जनाको ज्यान लिइसकेको छ । दिउँसो पाँचवटा मोटरसाइकल समूहमा आउजाउ गर्नुपर्ने नियम बनाइएको छ । एक्लै आउजाउ गर्दा बाघको जोखिम भएकाले यो नियम बनाइएको हो । करिब २ किमि सडक खण्डमा घना जंगल भएका कारण सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनरक्षक परिचालन गरिएको प्रजिअ अधिकारीले जनाए । ईकान्तिपुरबाट