नेपालगन्ज । पहिले बिहेको निम्तो गर्न जाँदा गुन्द्री, सुप्पा (नाङ्लो), झउवा बोकेर जाने चलन थियो । त्यसयता थाल, तलसालगायतका स्टीलका सामाग्री बोकेर बिहेको निम्ता गर्न जान्थे । तर पछिल्लो समयमा भने बिहेको निम्तो महँगो बन्दै गएको छ । छोरीको बिहेको निम्तो गर्न अझ महँगो बन्दै गएको छ । छोरीलाई आर्थिक सहयोग होस भनेर नगद दिने चलन बढेको छ । एक हिसाबले छोरी मान्छेका लागि यो परम्परा राम्रै होला तर बिहेको निम्तो गर्न जाने हरुका लागि यो परम्परा निकै महँगो सावित भएको छ । पश्चिम तराईको थारु समुदायमा माघको पहिलो सातादेखि बिहेवारी सुरु हुन्छ । खासमा फागुन महिनाभरी बिहेको रमझम हुन्छ । कतिपयले बैशाखमा बिहेवारी गर्छन । कसैको बिहेवारी भए गाउ“भरीलाई निम्ता गर्ने परम्परा रहँदै आएको छ । ‘पाँच÷दश वर्षअघि १०÷२० रुपैयाँ दिएर भोज खाईन्थ्यो । अहिले जमाना महँगो भइसक्यो । एउटा बिहेमा ५ सय भन्दा कम दियो भने लाज हुन्छ,’ बाँकेका थारु अगुवा तथा बैजनाथ गाउँपालिका ८ का स्थानीय चन्द्रबहादुर चौधरी भन्छन्,‘बर्षमा ३०÷४० हजार रुपैयाँ बिहेको निम्तो गर्नका लागि छुट्याउनु पर्छ ।’ छोराको बिहेमा भने केही कम पैसा दिएर निम्ता गर्न सकिन्छ । दुलहा पक्षको परिवारलाई आर्थिक सहयोग होस भनेर निम्तो खानेक्रममा पैसा दिनु पर्ने पुर्खौको चलन हो । अझ छोरीको निम्तोको निम्तो अनिवार्य हुन्छ । छोराको बिहेको निम्ता नगर्दा खासै फरक पर्दैन । ‘निम्तो मान्न नजाउ सामाजिक सम्बन्ध बिग्रीने डर हुन्छ । निम्तो गर्न जाउ आर्थिक भार खेप्नु पर्छ,’ अगुवा चन्द्रबहादुर भन्छन्,‘२० वटा बिहेको निम्ता गरिसके । अझै १० वटा निम्तो गर्न जान बाँकी छ । एउटा छोरीको निम्तोमा एक हजार दिनै प¥यो ।’
बिहे र निम्तो महम्गो बन्दै गएपछि थारु समुदायमा त्यसबारे बहस सुरु हुन थालेको छ । बिहेमा दाईजो प्रथाले प्राथमिकता पाउन थालेको भन्दै बहस सुरु भएको हो । बिहेबारी र दाईजो दिनैका लागि जग्गासमेत बिक्री गर्ने चलन बढेको छ । बिहेमा बिक्रिती बढ्दै गएपछि समुदायमा बहस हुनु स्वभाविक हो । बिहेको खानपीन महँगो छ । गाउँभरीका किसानलाई भोज खुवाउनु पर्छ । माछामासु र रक्सी अनिवार्य हुन्छ । कम्तिमा पनि एक सय भन्दा बढी बिहेको भोज खान पुग्छन् । दाईजो दिने कुरा छँदै छ । ‘बिहे र बिहेको निम्तो गर्ने दुबै कार्य निकै महँगो भइसक्यो,’ बाँके कोहलपुर नगरपालिकाका शिवचरण चौधरी भन्छन्,‘थारु समुदायमा देखासिकी बढ्यो । जग्गा बिक्री गरेर भए पनि तामझाम गरेर बिहे गर्ने चलन बढ्यो ।’ उनका अनुसार आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि समाजमा देखाउन जग्गा बिक्री गरेर बिहे गर्न थालेका छन् । त्यस्ते धान बिक्री गरेर भए पनि निम्तो गर्ने गरिएको छ । माघ र फागुनमा बिहे गर्ने चलन भने बैज्ञानिक छ । धानचमाल घरेमै हुन्छ । बारी भारी तरकारी हुन्छ । खेतिपातीको समय नभएकाले फुर्सद हुन्छ । मौसम पनि बातानुकुलित रहन्छ । त्यसैले थारु समुदायले माघ र फागुनमा बढी बिहे गर्ने चलन छ ।
थारु संस्कृतिका बारे चासो राख्ने बर्दिया बढैयाताल गाउँपालिकाका अगुवा सुशील चौधरीले निम्तो गर्ने र बिहेवारीमा दिने दाईजोमा बिक्रिती बढ्दै गएको औल्याउँछन् । ‘बिहेको निम्तो गर्न जाँदा एक जना टेबुल कुर्सी राखेर नाम टिप्ने र कति रकम दिएको विवरण टिप्छन् । त्यो गलत हो । हुनेखानेहरुले धेरै रकम दिन सक्लन तर समान्यका लागि आर्थिक भार हुन्छ,’ उनले भने,‘हुनेखानेको छोरीको विहेको निम्तो गर्दा हजार दिने । तर गरिबको छोरीको बिहेमा जाँदा सय÷पचास दिने चलन गलत हो ।’ उनले पछिल्लो समय बिहेमा देखिएको बिक्रिती बारे बहस हुन जरुरी रहेको सुझाव दिए ।
महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा समाजशास्त्री श्रीधर अधिकारीले पश्चिमा समाजको प्रभाव नेपाली समुदायमा परेको बताउँछन् । उनका अनुसार अरु समुदायसंग सिको गरेर पनि भड्किलो विवाह हुन थालेको उनले जनाए । ‘बैदेशिक रोजगारीका कारण पनि चाडपर्व र विहे भड्किलो भइरहेको छ । थारु समुदायमा मात्रै होईन नेपालीहरु समाजमै पश्चिमाको प्रभाव परिसक्यो । त्यसको परिणाम चाडपर्व र विहेमा देखिन थालेको हो,’ उनले भने ।