नेपालगन्ज । बर्दियामा ६ नगपालिका र दुई गाउँपालिका गरी ८ स्थानीय सरकारका ७४ वडा छन् । ति मध्ये तीन महिलामात्रै वडा अध्यक्ष छन् । ठाकुरबाबा नगरपालिकामा एक र गुलरिया नगरपालिकामा दुई जना महिला वडाको जिम्मेवारी निर्वाह गरीरहेका छन् । ति मध्ये एक हुन ठाकुरबाबा नगरपालिकाकी एक्ली वडा अध्यक्ष राधा चौधरी । उनी वडा न. ९ बाट प्रतिनिधित्व गर्छिन । बाँकी आठ वडामा पुरुष वडा अध्यक्ष छन् । गुलरिया नगरपालिका वडा न. ५ को अध्यक्षमा सवित्रा गौतम र वडा न. ७ की वडा अध्यक्ष गीता बस्नेत चुनिएका छन् । उनीहरु पनि पुरुष जनप्रतिनिधिहरुकै भिडका बीच आफ्नो वडाको विकासमा जुटेका छन् । बर्दियाको बारबर्दिया, राजापुर, मधुवन, बा“सगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा महिला वडा अध्यक्ष शुन्य छन् । नेपालगन्ज उपमहानगरपालिकामा २३ वडा छन् । तर वडाध्यक्षमा महिला शुन्य । सचिवकारुपमा कार्यरत महिला कर्मचारी चार जनामात्रै छन् । वडा न. ४ मा गौरीकुमारी शाही, वडा न. ८ मा शान्ता घर्ती, वडा न. १० मा शान्ति केसी र वडा न. ११ मा साविता तिवारी वडा सचिवकारुपमा कार्यरत छन् । कतिपय पालिकाका वडा सचिवमा महिला सहभागिता शुन्य छ । नेपालगन्ज उपमहानगरमा भने सचिवमा निकै कम सभागिता देखिएको छ । कोहलपुर नगरपालिकामा १५ वडामा पनि महिला वडाध्यक्ष छैनन् । दुई वडामा मात्रै सचिवमा महिला कर्माचारी कार्यरत छन् । वडा न.११ मा पुष्पाकुमारी ओली र वडा न. ७ मा लक्ष्ँमी बिष्ट वडासचिवकारुपमा कार्यरत छन् । खजुरा गाउँपालिकाको ८ वडा अध्यक्ष र सचिवमा महिला सहभागिता शुन्य छ । त्यस्तै डुडुवा गाउँपालिकाको ६ वडामा महिला वडाध्यक्ष र सचिवमा महिला सहभागिता छैन । राप्ती सोनारी गाउँपालिकाको ९ वडामा पनि महिला वडाध्यक्ष छैनन् । वडा न. ४ मा शैलजा चौधरी सचिवका रुपमा कार्यरत छन् । तर बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा पनि महिला वडाध्यक्ष छैनन । दुई वडामा महिला सचिवकारुपमा कार्यरत छन् । वडा न. ४ मा सुजाता चौधरी र वडा न. ३ मा ज्योती घर्ती वडासचिवकारुपमा काम गरिरहेका छन् । बैजनाथ गाउँपालिकाको ८ वडामा महिला वडाध्यक्ष छैनन् । मध्ये वडा न १ मा कमला बिष्ट गुरुङ, र जानकी गाउँपालिकाको ६ वडा मध्ये वडा न.२ बेलभारमा कविता रेग्मी सचिवका कार्यरत छन् । महिला शाखामा कार्यरत उनलाई सचिवकारुपमा जिम्मेवारी दिइएको हो । उक्त पालिकाका दुई वटा सचिवबिहिन छन् । यो तथ्यांकले बाँकेका आठ पालिकामा ८१ वडा मध्ये ११ जना महिलामात्रै वडा सचिवमा कार्यरत रहेको देखिन्छ । वडासचिवकारुपमा महिला कर्मचारी किन निकै कम छन् त ? ‘लोकसेवामा महिलाका लागि बिशेष आरक्षणको व्यवस्था भइदिने हो भने महिलाहरुको सहभागिता बढ्थ्यो,’ नेपालगन्ज उपमहानरपालिका ४ का वडा सचिव गौरीकुमारी शाहीले भनिन्,‘हाम्रो समाजमा अझै पनि पुरुष मानसिकता छ । महिलाहरु अगाडि बढ्न सकेका छैनन् ।’ उनका अनुसार वडासचिवका रुपमा कार्यरत महिलाहरुलाई हेर्न दृष्टिकोण पनि फरक छ । ‘यो सचिव महिलाले के काम जाने होला भन्छन् । अविश्वास गरिन्छ । काममा पनि सघाउँदैनन्,’ उनले अनुभव सुनाईन । कोहलपुर नगरपालिका ७ का वडा सचिव लक्षमी बिष्टले वडासचिवको भूमिका सहजै निर्वाह गरिरहेको अनुभव सुनाईन । उनका अनुसार महिलाहरु लोकसेवा लड्नसके संख्या बढ्दै जाने ताईन । उक्त वडा कोहलपुर नगरपालिकाको सबैभन्दा सानो हो । ‘सानो वडा भएर होला मलाई यहाँ पठाइएको होला । तर काम भने राम्रै गरेको छु,’ उनले भनिन् ।
कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी चौधरीले कर्मचारी महिलाको संख्य कम भएका कारणले सचिवको भूमिकामा महिलाहरुको सहभागिता कम देखिएको बताईन । उनले महिलामैत्री निजामति कर्मचारी नियुक्ति गर्ने नीति आवश्यक रहेको जनाईन । ‘सरकारी सेवामा महिलाको सहभागिता कम छ । त्यसैले सचिवकारुपममा महिला कम देखिनु स्वभाविक हो,’ उनले भनिन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले समाज अझै पनि पुरुष प्रधानका रुपमा रहेकाले सरकारी सेवामा महिलाहरुको सहभागिता कम देखिएको जनाईन । उनले महिलाहरुको सहभागिता बढाउन नीति नै संशोधन गर्नुपर्ने आवश्यक रहेको बताईन । त्यसो त बा“केमा वडाध्यक्षमा महिलाको उपस्थिती शुन्य छ । राजनीतिक दलका नेताहरुले महिलाहरुलाई वडाध्यक्षमा अवसर नदिएका कारण सहभागिता शुन्य भएको हो । राजनीतिक शास्त्रका डा. जनार्दन आचार्यले राजनीतिक दलहरुले जतिनै समाबेशीका मुद्दा उठाए पनि व्यवहारमा कार्यान्वयन नगरेको सुनाउँछन् । ‘३३ प्रतिशत महिला सहभागिता गराउने नारा भन्ने मात्रै हो । समाबेशीकै मुद्दा उठाउने हो भने मेयरमा महिला खोई ? वडाध्यक्ष खोई ?’ उनको प्रश्न छ ।