वीरेन्द्रनगर — गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन् । पटकपटक यौन शोषण गरेको उनको दाबी थियो । केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे । मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो । आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको अदालतमा बयान दिइन् । उनलाई गत भदौ १४ गते अदालतले दोषी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो । युवतीमाथि एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला भयो । गत असोजमा वीरेन्द्रनगर नगरपालिकाका एक कर्मचारीमाथि झूटो आरोप लगाउने ३७ वर्षीया महिलालाई पनि अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले गत सोमबार उनलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।
होटलमा बोलाएर कर्मचारीले बलात्कार गरेको उनले आरोप लगाएकी थिइन् तर पछि उनले अदालतमा बयान फेरिन् । झूटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर गर्दै महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले बताए । पछिल्लो समय कानुनको आडमा रिसइबी साध्न केही महिलाले झूटो आरोप लगाउने गरेको उनी बताउँछन् । ‘कानुनको फाइदा उठाएर लेनदेनलगायत विषयमा कुरा नमिलेपछि आरोप लगाउने प्रवृत्ति देखियो ।’ पछिल्लो ३ वर्षमा जिल्ला अदालतमा २ सय ४३ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्, जसमध्ये ७६ मुद्दा फर्स्योट हुन बाँकी छ । चालु आर्थिक वर्षमा जबर्जस्ती करणीका ४८ मुद्दा दर्ता भएको अदालतले जनाएको छ । पछिल्लो समय पैसाको प्रलोभनमा परी मुद्दा दर्ता गर्ने र पुनः पैसाकै लोभमा बयान फेर्ने प्रवृत्ति बढेको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताए ।
ईकान्तिपुरबाट