नेपालगन्ज— नेपालगन्ज उपमहानगर ४ सल्यानी बंगला । टिनले छाएका थोत्रा जीर्ण घरहरु । यि टिनका घर किनमेल गर्न नेपालगन्ज आउने सल्यानीहरुका लागि बनाइएको थियो । करिव तीन दशकअघि यहँ सल्यानीहरुको भिड लाग्थ्यो । घ्यू, जडिबुटी बिक्रीका लागि आउँथे । नुन, चिनी, तेल र कपडा किनेर जान्थे । तर हाल सल्यानीहरु किनमेल गर्न आउन छाडिसके । घर जीर्ण भइसक्यो । हाल ति घरमा ससाना होटेल लगायतका पसल राखिएका छन् । जीर्ण घर अगाडिका खाली जग्गामा फोहोरको फालिन थाल्योे । राप्ती सोनारी गाउँपालिका बैजापुर क्षेत्रमा आउजाउ गर्ने थोत्रा वस त्यही फोहोरमा पार्किङ गरिन्थे । आउजाउ गर्नेहरु त्यही शौच गर्थे । रातिबेला खुला दिशा गर्थे । उक्त क्षेत्र भएर आउजाउ गर्नेहरु दुर्गन्धले मुख छोप्थे । त्यही फोहोरैफोहरले भरिएको स्थानमा हाल आधुनिक चिल्डे«न पार्क बनेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि सल्यानी बंगलाको स्वरुप फेरिएको हो । वडा कार्यालयलाई फोहोर हटाउनै तीन÷चार महिना लाग्यो । सवारी साधन पार्किङ अन्यत्र सारियो । खुला शौच गर्न रोक लगाइयो । खुलारुपमा फोहोर फाल्ने बानी परेका स्थानीयलाई बुझाउन कम्ति सकस भएन । तर जनप्रतिनिधि हरेश खाएनन् ।
‘निर्वाचित भएर आउनुअघि यहाँ फोहोर फालिन्थ्यो । मानिसहरु शौच गर्थे,’ नेपालगन्ज उपमहानगर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना भन्छन्,‘चिल्ड्रेन पार्क बनेपछि सर्वसाधारणहरु घुम्न आउन थालेका छन् । बालवालिकाहरु पार्कमा खेल्न आउने गरेका छन् ।’
नेपालगन्ज उपमहानगरभित्र पहिलो पल्ट बालवालिकालाई चिल्ड्रेन पार्क निमार्ण गरिएको हो । यसअघि मिनी जु भित्र पार्क बनाइएको थियो । तर जनप्रतिनिधिबिहिन भएपछि उक्त पार्क जिर्ण भइसकेको छ । आधुनिक चिल्ड्रेन पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बालवालिकालाई खेल्न र मनोरम बातावरणमा रमाउनका लागि आधुनिक पार्क निर्माण गरिएको हो । ‘फोहोरले दुर्गन्धित स्थानमा पार्क बनेपछि सल्यानी बंगलाको रौनक बढेको छ । अन्य टोलबाट बालवालिकाहरु खेल्न आउन थालेका छन्,’ स्थानीय मेराजअहमद सल्मानी भन्छन्,‘हाम्रा छोराछोरीहरु त्यहाँ जान मान्दैन्थे । अहिले आफै खेल्न पुग्छन् ।’
पार्कमा बालवालिकाका लागि पीङ राखिएको छ । बालवालिकाहरु चिप्लेटी खेल्छन् । अभिभावकहरुका लागि बस्न बेन्चको ब्यवस्था गरिएको छ । पार्कलाई हरियाली बनाउन बिरुवा रोपिएको छ । पार्क परिसरभरी दुबो रोपिएका छन् । नेपालगन्जमा बालवालिकालाई रमाउन कुनै पार्क नभएको बेला चिल्ड्रेन पार्कले केही राहत दिएको छ । उक्त पार्क निमार्णपछि बालवालिकाहरु रमाउन पाएका छन् । करिब २८ लाखको लागत लाग्ने अनुमान गरिएको छ । पार्कमा पर्खाल, बाटो, पानीको फोहरा, चमेना गृह र पार्कको मध्य भागमा बिशाल लाइटिङ सहितको ब्यबस्था गरिएको छ । पार्कमा सिसी टिभी समेत जडान गरिदै छन् । आधुनिक चिल्ड्रेन पार्क हेर्नका लागि वडा कार्यालयले पाँच रुपैयाँ शुल्क तोक्ने भएको छ । उक्त रकम पार्कको मर्मत सम्भारमा खर्च गरिने वडा कार्यालयले जनाएको छ ।