बाँकेको बैजनाथ गाउँपालिकाबाट दुर्लभ बन्यजन्तुका अङ्गसहित तीन जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालको कमान्डमा गएको टोलीले आज साझँ ४ बजेर ५० मिनेटको समयमा बैजनाथ १ चिसापानी बजारमा हिडिरहेका ३ जना व्यक्तिलाई चेकजाँच गर्दा दुर्लभ बन्यजन्तुका अङ्ग बरामद गरेको हो। उनिहरुको साथबाट १ थान रेड पाण्डाको छाला,२ थान कालो भालुको पित्त र एउटा कस्तुरीको बिणा बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए। खनालका अनुसार पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका २ का ४२ बर्षीय चीन बहादुर थामी मगर, कैलालीस्थित घोडाघोडि नगरपालिका १ का ४५ बर्षीय रत्न बहादुर खत्री र कालिकोट नलगाड १ का ४० बर्षीय खले बि.क.रहेका छन् ।
प्रहरी नायब उपरीक्षक खनालको टोलीले चेकजाँचका क्रममा चीन बहादुरले बोकेको दुई वटा झोलामा राखिएको अवस्थामा दुर्लभ बन्यजन्तुका अङ्ग बरामद गरेको थियो। यसरी, बन्यजन्तुको अङ्ग तस्करी गरेर २ करोड रुपैयाँमा बेच्ने लोभले आएका तीन जना गन्तव्यमा पुग्न नपाउदै प्रहरीले जेलको बाटो देखाइदिएको छ।पक्राउ परेका तिनै जनालाई इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन् ।
अहिलेको समयमा बाँके प्रहरीलेले बन्यजन्तु तस्करलाई निशाना बनाउदै समेत आएकाले दुर्लभ बन्यजन्तुका अङ्ग तस्करहरु धमाधम पक्राउ पर्दै आएका छन।