नेपालगन्ज । बढैयाताल गाउँपालिका ५ स्थित श्री नेपाल राष्टिय इन्दिरा भुसाल माबि बढैयामा बालविवाह न्युनिकरण सम्बन्धी अनुशिक्षण दिइएको छ । प्लान इन्टरनेश्नलको साझेदारीमा युनेस्को क्लबले आयोजना गरेको कार्यक्रममा शिक्षा प्रमुख विष्णुप्रसाद ढकालले बालविवाह हुुने कारण, त्यसबाट पर्ने प्रभाव र नियन्त्रणका बारेमा चर्चा गरेका थिए । उनले बालविवाहका कारण बालअधिकार सम्बन्धि सबै अधिकार हनन् भएको जनाए । बिद्यालय व्यवस्थापन समतिका अध्यक्ष ठाकुरसिंह थारुले पहिले अभिभावकले बालविवाह गराउँदै आएकोमा हाल बालवालिकाहरु आफैले गर्न थालेपछि चुनौती थपिएको बताए । प्रधानाध्यापक गंगा चौधरीले बालविवाह नियन्त्रणका लागि बहस भइरहेका बेला बिद्यालयमा हुने यस्ता कार्यक्रमले बालविवाह नियन्त्रणमा सहयोग पुग्ने जनाए । बिद्यालय व्यवस्थापन समितिका सदस्य भक्तराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा बिबिस पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावकहरुको सहभागिता थियो ।