म्यान्मारमा थप रक्तपात : एकै दिन कम्तीमा ११४ जना प्रदर्शनकारी मारिए - Dastabej

म्यान्मारमा थप रक्तपात : एकै दिन कम्तीमा ११४ जना प्रदर्शनकारी मारिए


  • एजेन्सी

  • यांगुन/म्यान्डले — म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।
    सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । ३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।
    जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । दिवसका अवसरमा आयोजना गरिने विशेष सैन्य परेडमा विगतका वर्षहरूमा विदेशी अधिकारीहरूको उल्लेख्य उपस्थिति हुने गर्थ्यो । शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए । म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।त्यसैगरी, थाइल्यान्डसँगको सीमा क्षेत्रमा १० जनाले ज्यान गुमाएको जनाइएको छ । सागइङ्ग, लास्हिओ, बागोलगायत २८ स्थानमा सुरक्षाकर्मीको गोलीले अन्य प्रदर्शनकारी मारिएका हुन् । म्यान्मारस्थित अमेरिकी दूतावासले ‘सुरक्षाफौजले निहत्था नागरिकको हत्या’ गरिरहेको जनाएको छ ।
    सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ । नोभेम्बरमा भएको चुनावमा सुचीको दल (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।
    सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेतालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नुअघि नै भाग्न सफल एनएलडीका सांसदहरूले सीआरपीएच नामको एउटा समिति गठन गरेका छन् । सीआरपीएचले सैनिक सरकारविरुद्धको क्रान्ति नरोकिने भन्दै पछिल्ला दिनमा आन्दोलन चर्काएको छ । सैनिक सरकारले सुचीमाथि विभिन्न ५ वटा मुद्दा लगाइसकेको छ तर ती आरोपबारे कुनै प्रमाण सार्वजनिक गरिएको छैन । एनएलडी नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् ।पछिल्लो समय म्यान्मारमा सैनिक ‘कु’ विरोधी प्रदर्शन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन् । सेनाले जननिर्वाचित सरकार बहाली गरी पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई बिनासर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ ।

  • १५ चैत्र २०७७, आईतवार ११:५७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा