तस्बिर सौजन्य: चुङ्बा शेर्पा
बर्दिया — चहलपहल बढेपछि आनीबानी र आवागमन पहिचान गर्न बाँके, बर्दिया र पर्सा निकुञ्जका गरेर थप चारवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले गत चैत १६ गते पूर्व–पश्चिम राजमार्गस्थित कौवाभारमा पाँच वर्षको बाघलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गरेर छाडेको छ । मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निकुञ्ज विभागले बर्दिया, बाँके, चितवन र पर्साको कम्प्लेक्समा ६ वटा बाघको अध्ययन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । पर्सा निकुञ्जमा एक महिनाअघि प्राविधिक टोलीले एउटा बाघलाई स्याटेलाइट कलर जडान गरिसकेको छ । अब चितवन र बाँकेमा एक/एक, बर्दियामा दुईवटा बाघमा रेडियो कलर जडान हुनेछ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले चाँडै बाँके र बर्दिया निकुञ्जका थप तीनवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गर्ने बताए । कलर जडान गरिएका बाघको अध्ययन भइरहेकाले व्यवहारका आधारमा विचरण क्षेत्र, आहारा जुटाउने तरिका र राजमार्गमा कसरी आउजाउ गर्छ भन्ने थाहा हुने उनले बताए । ‘अध्ययन पूरा भएपछि धेरै कुरा थाहा हुनेछ,’ उनले भने । रेडियो कलर जडान गरिएका बाघको सबै गतिविधिको अनुगमन निकुञ्ज मुख्यालय ठाकुरद्वारामा यहाँ राखिएको प्रविधिबाट भइरहेको छ । रेडियो कलरबाट आएको सूचनाअनुसार फिल्ड अनुगमन भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्सा, बाँके, चितवन र बर्दिया निकुञ्जमा सडक संरचना कस्तो बनाउने, मान्छेमाथि हुने आक्रमणका घटना कसरी रोक्नेलगायत विषयमा तय गर्न अध्ययनले सघाउने छ । बाघ कति आक्रामक छ, मानिसलाई कसरी आक्रमण गर्छ भन्ने विषयमा अध्ययन भएपछि यसैका आधारमा निकुञ्जले प्रतिवेदन सरकारलाई बुझाउनेछ । कलर जडान गरिएकाको अवस्था निगरानी गर्दा बाघलाई राजमार्ग वारपार गर्न गाह्रो परेको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले बताए ।
बाघका आनीबानी अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व सम्पदा संघ, मिचीगन स्टेट विश्वविद्यालय अमेरिका र राष्ट्रिय प्रकृति संरक्षण कोषले मिलेर काम गरिरहेका छन् । अनुसन्धान लामो समय चल्ने अनुमान छ । बर्दिया निकुञ्जमा यो मौसममा धेरैतिर बाघ देखिन थालेका छन् । राजमार्गमा बाघका आनीबानी अध्ययन थालिए पनि मध्यवर्ती क्षेत्रमा भने केही पछि गरिने निकुञ्जले जनाएको छ । सन् २०१८ को गणनाअनुसार बर्दियामा ८७ वटा बाघ रहेकामा अहिले बढेर १ सय २५ पुगेको अनुमान छ । दुई वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १७ र बाँके निकुञ्जमा दुई गरी १९ जना मानिसको मृत्यु भइसकेको छ ।
ईकान्तिपुरबाट