सिम्माको पानीफोटो ! – Dastabej

सिम्माको पानीफोटो !

सिम्मा–समय चानचुने थिएनछ । मर्यादाको बहुरंगी फेरो नसमाईकनै त्यो प्यारी पहाडेकेटीको यादमा टोलाउन म बाध्य भएँ ।


  • दस्तावेज

  • पमालाको सुमेरु नाघ्न हुन्न भनेर सिकाउँछन्, पुराना जपालुहरू ! व्यवहारका कति सुमेरु पनि नाघ्न नहुने हो जिन्दगीमा सायद । मायाप्रेमका मधुर/मदिर स्मृतिलाई पनि सजाइराख्न सक्नुपर्ने हो हृदयमा, तर त्यसो नहुँदो रैछ ! जुटपानी खोलाछेउको विशाल पहरो मुन्तिरबाट निकालेको, भिजेको कमेरोका डल्ला ढक्कीमा बोकिल्याउँदा दस ठाउँमा बिसाउने गर्थें गाउँमा । जीवन–भोगाइका अनेकन बिसौनीबाट गुज्रिरहँदा पनि कति मीठा यादहरूमा भोटेताल्चा मारिएछ, हेक्कै रहेन । बारीमा बथुवा साग टिप्दा कुन सट्को मिसिएको मोथेजस्तो नचाहेका बेथितिको पनि सामना गर्नुपर्दो रहेछ ! सुकुमार पलहरूलाई चित्तमा साँचिराख्न नसक्दा हदैसम्मको अस्थिर मनले ‘सम्झना–बिर्सना सललल ल’ बनाइदिएछ । सम्झनामा सदावहार राख्नपर्ने मानिस, स्थान र परिवेशलाई यस्तोमा बेपत्तासँग भुलिँदो रैछ ! को बेटुङ्गे स्वभाव ! मोहको बन्धनलाई जंगली लहराले दाउरा–घाँसको भारी कसेजसरि टनक्क कस्सिहाल्न पनि बेर नलाउने, समयको अन्तरालमा त्यो मोहलाई दुरुस्त राख्न नसकेर फेरि टाकटुकै भुली पनि हाल्ने ! बँचाइका स्टेसनहरूमा कहिले अडिनपर्ने, कहिले हतारिएर लम्कनपर्ने समयको गुलाम मान्छे ! म स्वयं पनि समयकै कारिन्दा हुँ । ताकतवर बनेर परिस्थितिलाई आफूअनुकूल ढाल्न नसक्ने धेरै मान्छेको कमजोरी हुन्छ । यही कमजोर बथानमा आफूलाई फेला पार्दा मलाई लाग्छ– यतिसारो हिरदोक् पनि के भइहाल्नु हौ !
    तिनताका प्रत्येक हिउँदमा, फत्तेपुर नाउँको हाम्रो मधेसी कस्बाको साझा संस्थामा पहाडबाट जत्था–जत्थामा चामल लिन आउँथे मानिसहरू ! पुग्दो सामलतुमल बोकेर आएका उनीहरू साझा संस्थाकै चौरीमा चुलाचम्का गाडेर मिलिक्कै गुन्द्रुक उमाल्थे, ढिँडो ओडाल्थे र खान्थे, साझाकै लामो बरन्डामा लहरै ओछ्यान लाएर सुत्थे । समवेत् स्वरमा गीत गाउँदै झम्के साँझमा सग्लै गाउँ गुलजार बनाउँथे ! फत्तेपुर बसाइको दौरान, उब्रेको समयमा धिमा गतिमा कुदिरहेका बस/ट्रक पछाडि दौडन्थे । कोही त ट्रकको डाला समाएर झुन्डिने कोसिसमा कति बाजी सडकमा पछारिन्थे पनि– तर हार मान्दैनथे । बस पछाडिको सिँढीबाट हुत्त उक्लँदा उनीहरूको अनुहारमा देखिने खुसीको चमक हेर्नलायकको हुन्थ्यो । केही काल बितिनसक्दै, सुस्तरी अघि बढ्दै गरेको बसलाई रोक्ने इसारामा हात उठाएर ‘आस्ते गुरुजी !’ भन्न पनि जानिसक्थे । दुवै गालामा सिन्दूरको घोलले एकसरो जोड चिह्न बनाउनु झुन्डका बैंसालु महिलाहरूको उत्तम शृंगार हुन्थ्यो सायद, जुन कुरा मलाईचाहिँ अजिबको लाग्थ्यो । यस लोकका प्राणीजस्ता नलागेका ती पहाडे समूहका गतिविधिलाई बेलाबखत कौतुकमय नजरले हेर्दै दिन कटनी गर्नु रमाइलो लाग्थ्यो ।त्यसैक्रममा एउटा पहाडे समूहकी किशोरीसँग १३ टेकेकी मेरो हिमचिम बढ्यो । सिम्मा उसको नाउँ थियो । बान्तवा राईहरू ‘सानी छोरी’ भनेसरह कान्छी छोरीलाई सिम्मा भन्छन् भन्ने उतिखेर मलाई ज्ञान थिएन । म उसलाई ‘सिम्मा’ भनेर बोलाउँथें, ऊ मलाई मेरो परिवार र चिनारुले सम्बोधन गर्ने ‘मैयाँ’ नाउँले पुकार्थी । आकलझुकलका सिम्मा– सम्झनामा ऊ देखापर्दा अहिलेको मेरो व्यक्तिगत बुझाइले भन्छ– नाउँको अर्थ सानी भए पनि मेरी प्यारी सिम्मा कर्तव्य र जिम्मेवारीको गह्रौं बोझसहित जीवनलाई हाँसीखुसी अघि लाइरहेकी थिइ ।
    कतैबाट नछोइएकी, कृत्रिम हरकबिनाको जंगली फूलजस्ती प्राकृत र रहरलाग्दी थिई सिम्मा ! नजानिँदो पाराले छोटो समयमै हामीबीच दोस्ती र स्नेहको यस्तो गंगा बह्यो कि त्यो वर्णनातीत बन्यो । सायद ‘विपरीत आकर्षण’ को कमाल थियो हाम्रो मैत्री र सद्भाव किनकि हामी दुई धेरै कुरामा असमान थियौं, भिन्न थियौं । दैहिक रूपमा म अत्यन्त नाजुक थिएँ, मुवाँको भनाइमा– चोर औंलाले टाढैबाट देखाउँदा पनि बोटबाट झरेर पिटिक्कै फुटिजाने काँक्रा– लौकाजस्ती ! कठोर ज्यानकी ऊ भने, परिआएका जेजस्ता काम पनि अघि सरेर फटाफट भ्याइदिहाल्ने जब्बरे थिई ।
    वनजंगल, वस्तुभाउ र मेलापातका काममा दिनरात खटेर ढुंगामा पछार्दा पनि केही नहोला जस्ती बलियी उसलाई देख्दा शरम लाग्थ्यो । मभित्र कतै मधेसको समथरमा खाइखेली गरिरहेकी आफू पहाडको उकाली–ओरालीमा ऊजसरी ज्यान घोट्न सक्दिनँ भन्ने तत्त्वबोधचाहिँ हुने गर्थ्यो । मुवाँको ममताको छहारीमा लडिबुडी गर्न पाएर होला, मैले खासै गाह्रो काम गर्न कहिल्यै परेन । रहरले खेतमा रोपारसँग एकछिन उभिएर धान रोप्थेंँ, जुका देखेर लगत्तै आलीमा उक्लेर भाग्थेँ । कोदो रोप्न र पाकेका कोदाका बाला काटेर पछाडि भिरेको डोकोमा हुत्याउन पनि सिकाउनुभयो मुवाँले ! हाम्रो साह्रो न साह्रो र अग्लो कलको ह्यान्डलमा भुँडी टँसाएर बुरुक्क उफ्रँदै कल पेलेर प्याजको बियाडमा पानी पटाउँथेंँ । यस्ता कामका बीचमा खान पाइने जलखाइमा नुनिला चाम्रे, रोटीमाथि राखिएका नुन– करुतेल र प्याजमा चोब्दै खाइने बड्का–बड्का मडुवाका रोटीहरू स्वादिला र मनभावन लाग्थे । छोटो बसाइमा ‘सिम्मा’ नाउँधारी समवयी पहाडनीले मलाई खेत खलिहान, खपडा– इँटाभट्टा र नदीनाला जतासुकै सम्भव भएसम्म पछ्याइरही । ऊ मलाई छिपछिपे खोला र सिमसारहरूमा गँगटो, पोठी– सिन्गीमुङ्ग्री– हिले माछा समाएर भुइँमा पछार्न अनि पोलेर खान सिकाउँथी । ‘पाहा पनि पोलेर खाऊ न ! कस्तो स्वादिलो अनि ओखती पो हुन्छ त यो…..’ भन्थी, तर म भ्यागुता खाने सम्झेरै उलुक्क छाद्थेँ । ऊ खालि मेरो स्कुलमा मलाई साथ दिन सक्दिनथी । पटपटी फुटेका राता गालासहितकी सिम्मा आफूभन्दा सर्वथा बेग्लै लागेर म झन्झन् उसको आकर्षणमा बाँधिन्थेँं, उतिर तानिन्थेँ । अहिले भए, बा अर्कै नाउँ मिल्थ्यो कि उसको र मेरो त्यो मोहक सम्बन्धलाई । उसबखत चाहिँ ऊ पहाडे र म मधेसी कित्तामा मात्र छुट्टिएका थियौँ ।
    मेरो गाउँमा बसुन्जेल, ऊ मसँग वनजंगल चहार्थी, कर्कलोको पातमा पानी उघाएर पिउन सिकाउँथी । खोला छेउका जलुको टिप्न सघाउँथी । म उसलाई बस्ती छेउको जंगलको मुखैमा फलेका गुलिया वनरझुला खान सिकाउँथेंँ । ऊ दङ्ग पर्थी । त्रियुगा खोला छेउका ढिस्कनाबाट पश्नीले खनेर घर लिप्ने लेसाइलो माटो ल्याउँदा पनि ऊ मेरो साथै रहन्थी । मंसिरमा धान काटिसकिएको खेतका आली खनेर मुसाले सञ्चय गरेको दुले धनसारबाट धान झिक्थे मानिसहरू ! म सिम्मालाई त्यो देखाउन लान्थेंँ । छिनको छिनै ‘धानकुवेर’ बनेका उनीहरूलाई देखेर तिनछक् पर्थी ऊ ! त्यसमाथि धानका सिलासँग भुट्दाभुट्दैको कट्का मुरै साटेर खुवाउँदै म उसको ताज्जुबलाई सातौं आकाशमा पुर्‍याइदिन्थेंँ । मात्र मेरो मायालाई लत्याउन नसकेर फत्तेपुरमा केही अतिरिक्त समय अड्केर बसी मेरी सखी सिम्मा ! आफ्नो समूहलाई पहाड फर्कन दिएर पछि आएको अर्कै समूहको साथ लागेर घर फर्की ऊ, सालको पातमा सुन्दर बाँसको काइँयो र दुई लुर्का जंगली सुनाखरी फूल मलाई दिइराखेर ! अहिले मलाई उसको हालको अवस्थाबारे कुनै जानकारी छैन । आफ्नो नाउँ मात्र मेरो यादमा छाडिराखेर स्मृतिको पर्दाबाट ओझेल परेकी थिई ऊ, जसरी सिनेमा सकिएपछिको पर्दामा दृश्यहरू ठाउँको ठाउँ बिलाउँछन् । जसरी चटक देखाइएको एक चोक्टा जमिन चटक सकिएपछि रित्तो र खाली हुन्छ । छिसिक्क अन्दाज लाउन नसकिने बँचाइको ज्याद्रो घेराबन्दीमा परेपछि मनको कुनाबाट चियाइरहेको आफ्नै चाहना अर्घेलो भैदिने रहेछ ! त्यसैले होला, उतिबेला सिम्माको टाढिनुले खासै मतलब पनि राखेन मेरो दैनिकीमा ।
    भैपरि आउँदा जहिल्यै लम्पसार परिहाल्ने मान्छे म होइन, न त दोहोरो मान्यताको दोछायामा खेल खेल्ने जीव हुँ । तर कताकता, ‘खन्युको झ्याङ मुन्तिर त भालुले पो अड्डा जमाएको हुन्छ’ भनेर आङ जुरुङ्ग पार्दै स्वादिलो खन्यु खाएजस्तो लाग्छ मलाई सिम्मासँगको आफ्नो सम्बन्ध । कहिले प्रिय सम्झना त कहिले विस्मृतिमा धकेलिएको विगतको एउटा हिस्सालाई भुलेकोमा पछुतो ! ऊ पहाड फिरेपछि– म पुनः आफ्नो पुरानो दिनचर्या र राम–रमाइलोमा फर्कें । खर, थाकल र अम्लिसोको भारीमाथि भोर्लाको पातमा पोक्याएर आफन्तजनले ल्याइदिएका जंगली फलफूलका स्वादमा गजबसँग डुबिरहेँं । ३ चन्द्रशमशेरले त्रियुगा खोलाको हेडबाँधबाट दाहिनेपट्टि एउटा ठूलो भंगालो निकालेर चन्द्रनहर बनाउँदा, निर्माण सामग्री राख्ने गरेको एउटा विशाल गोदाम थियो, हाम्रो गाउँमा । त्यही गोदाममा ठूलै ठाउँ ओगटेर विक्रम संवत् १९८० देखि ज्यानमा खियाको कत्ला जमाएर ढसमस्सिएका फलामका बडेमानका सरसामान र एउटा जिप विराजमान थिए । रेलको लिक जस्तोमा सानाठूला ढुंगाको उरुङ पनि थियो त्यहाँ ।
    सुनसान त्यो गोदामको गेटमा चन्द्रनहरका चौकीदार काका दुःखी थारूको एककोठे क्वार्टर मात्र थियो, चलायमान र जीवनले भरपुर ! चौकीदार काकाले गेट खोल्दा– बन्द गर्दा र भुराहरू लुसुक्क त्यहाँ छिर्दा– त्यहाँबाट निस्कँदा त्यो क्वाइ्यँयऽऽऽ कराउँथ्यो र हल्लिन्थ्यो । अन्यथा त्यहाँका सबथोक अविचल, वातावरण सुनसान । स्टेयरिङबिनाको प्राचीन जिपमा बस्दै मुखबाट हरनको झैं प्याँप्याँ–पुँपुँ आवाज निकालेर फुस्सामा मोटर चलाएजस्तो गर्नु हाम्रो बच्चापाटीको मनोरञ्जन थियो । खेलकुदको काम सकिएपछि, त्यहाँ उम्रिएका निगुरो, मकैसँग र जिब्रे साग टिपेर घर फर्कन्थेंँ म, मुवाँको ‘यतिका बेर कहाँ सवारी भैबक्स्यो मैयाँसाप ? भुँडी त भरियो होला गोदाममा खेलेर ?’ भनिरहेको मुखमा बुजो लाउनलाई ! त्यही भूतजस्तो भयावह जिपमा साथीसँग लुकामारी खेल्ने र ढुरुन्–ढुरुन् गर्दै गाडी चलाउने दैनिकीमा फिरेंँ । भनौं न, मैले एक किसिमको जादुइ रोमाञ्चकता र मनोरञ्जनको विलासितामा आफूलाई होमेर सिम्मासँगको वियोगलाई ढुक्कले बाटो लाइदिएँ ।
    गाउँदेखि पर जंगलसँगै टाँसिएको गोवर्धन बाबाजीको कुटी थियो, जहाँ राम्रा–राम्रा फूलहरू फुलेका थिए, सुपारी–नरिवलका बोट थिए । करुनाको झ्याङ, गुलियो–अमिलो मिस्कट रसिलो तारा फल (क्यारमबोला) पनि थिए । मैले त्यो उमेरसम्म फलेको नदेखेको पहेंँला भोगटे रुखमा झुन्डिरहेका देख्थेंँ त्यहाँ । बाबाजी बजारतिर आउँदा देखिने उनको लगौंटीमा सुसज्जित देहमा खरानी घसिएको हुन्थ्यो, हातमा लठ्ठी र माथमा त्रिपुण्ड । केटाकेटीलाई भयोत्पादक लाग्ने उनको वैरागी कायाभित्र संवेदनायुक्त एउटा चल्दै गरेको मनकारी मुटु थिएछ । उनैले दिएको सडक छेउको अन्दाजी अढाई बिघा जग्गामा फत्तेपुरको श्री गोवर्धन वैरागी जनता मावि निर्माण भएको थियो । सुरुमा निमावि, पछि मावि । बाबाजीको सोही कुटीमा चाल मारेर जान्थेंँ । राम्रा–राम्रा फूलका बिरुवाहरू उखेल्थेंँ, घर ल्याएर रोप्न । अनि म सानी केटीले उभिएरै हाँगाबाट चुँडाउन सक्ने भोगटे चोरिखान्थेंँ बेस्कन ! यस्ता उपद्र्याहा काममा पनि कुस्त मनोरञ्जन प्राप्त गरेर होला, सिम्मा नाउँको दुईदिने रामछायालाई मन–मस्तिष्कबाट सजिलै पन्छाइदिएँ !
    फत्तेपुर–प्रमाणपुर प्रगन्नाका प्रधानपञ्चमा उठेका महगु लेखीको चुनाव प्रचारप्रसारमा स्कुले साथीहरूसँग ज्यान दिएर खटेका कारण पनि तिनताका ‘बिजी लाइक हेल’ भइयो । स्कुल बंक गर्दै त्यसरी ज्यान दिएर खट्न कसैले कर गरेको थिएन, न कुनै पार्टीप्रतिको रिसरागले उक्साएको थियो न त राजनीतिक चासो नै थियो, त्यो कलिलो उमेरमा । थियो त केवल विशुद्ध रमाइलो । त्यो भरदिनको गाउँ डुलाइ र कुदाकुद हामी केटाकेटीलाई उत्सव जत्तिकै सुखद थियो, जो सधैं जुर्दैनथ्यो । निधारमा अबिर घसेर राताम्य हुँदै ‘महगु लेखी जिन्दावाद ! जिन्दावाद– जिन्दावाद !’ को नारा लाउँदै कैयौं दिनसम्म फत्तेपुर, ओद्राहा, सखुबनी र गंगाजलीभित्रका सातवटा वडाको चक्कर लाइन्थ्यो । चुनावका इन्कलाबी गीतको जोस र हार्मोनी–ढोलकको तालमा थर्किरहेको नटुवाको नाच सम्मोहनकारी लाग्थ्यो, जसले बालमनलाई आल्हादित तुल्याउँथ्यो । अनि मख्ख पर्दै मिष्ठान्न भोजन उदरस्थ गरिहिँड्नु पनि सबैका निम्ति एउटा सिङ्गोसग्लो उमङ्ग भोगेझैं बिछट्टको अनुभव हुन्थ्यो । माथि उल्लिखित त्रियुगा वरपरका भुताहा गोदाम, बाबाजीको कुटी, वनजंगलका फलफूल र महगु लेखीजस्ता अनेक नाउँ, स्थान र परिघटनाहरूले सिम्मा–संगत बिर्सन मलाई मद्दत गरे । तर, सन्दर्भ जति पुरानो भए पनि, चटक्क भुलिदिन्छु भन्नु बतासे कुरा हो, किनकि ‘बात मारेर सकिँदैन, माया बूढो हुँदैन’ भन्छन् पाकाहरू ! जन्मँदै अस्तित्वमा बेचैनी टाँसेर जन्मिएकी म, वनमा चर्चरेको लहरा च्वाट्ट छिनाएर त्यसको पानीले तिर्खा मेटाएजसरी मोहका विम्बहरूलाई मेट्न सक्दिनँ । कुनै दिन, कुनै बार– के निहुँमा भूत मलाई वर्तमानमा झस्काउन आउँछ, ठोकुवा गर्न सक्दिनँ । अन्दाज लाउने मामिलामा म हम्मेसी सफल भइनँ ।
    सिम्मा–समय चानचुने थिएनछ, त्यसैले भवितव्यले गाँजेर मलाई हाराबारा खेलायो । मर्यादाको बहुरंगी फेरो नसमाईकनै, त्यो प्यारी पहाडे केटीलाई सम्झेर उसको नाउँमा यतिका शब्द खर्चिन बाध्य तुल्यायो । तर, यो बाध्यतामा मीठो स्नेह र अपनत्व सराबरी छ, करकापको कुरा बिलकुलै छैन । यादको क्यानभासमा सिम्माको पानीफोटो उतारिरहँदा लाग्छ, घरको जस्केलोबाट चियाएर ऊ मलाई भन्दैछे– मैयाँ ! मलाई बिर्सन किन धरमर ? भो छाड्दे उहिलेको त्यो चामले कुरा ! भैरहवाको गल्लावाल भर्तीमा छानिएको लाहुरेसँग अहिले म त युकेमा तँलाई सम्झेर सिकमानी हुँदै छु !

    इकान्तिपुरबाट

  • २८ चैत्र २०७७, शनिबार १३:४० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ