नेपालगन्ज । दुई महिना अघिसम्म भेरी अस्पताल नेपालगन्जमा रहेका कोभिड वार्ड करिव खाली भए । जम्मा ६ जना कोरोना संक्रमित उपचारका लागि बाँकी रहे । यसले चिकित्सक र स्वास्थ्यकर्मीलाई उत्साहित बनायो । संक्रमितहरुलाई सेवा दिन सहज बन्यो । कोरोना नियन्त्रणमा आएपछि निजीस्तरमा सन्चालित नेपालगन्ज शिक्षण अस्पतालले कोरोना वार्ड बन्द गरियो । संक्रमितहरु नभएको भन्दै बाँकेका स्थानीय सरकारले सन्चालन गरेका आइसोलेसन र क्वारेन्टाईन सबै बन्द गरिएका छन् । चिकित्सकहरुले कोरोनाको कहर नसकिएको भन्दै सावधानी अपनाउन सचेत गराईरहे । तर कोरोना नियन्त्रणमा आएको भ्रममा सर्वसाधारणले लापरवाही गर्न थाले । कोरोना भाइरसको महामारीलाई बेवास्ता गरियो । माक्सविनै भिडभाडमा पुगे । बजार भरिभराउ भए । मेला सन्चालन गरिए । सामाजिक दुरी कायम गर्न छोडिएको छ । ठूलाठूला भेला र सम्मेलन गरिए । तर पछिल्लो समय भने बाँकेमा धमाधम कोरोना संक्रमित व्यक्तिहरु फेला पर्न थालेका छन् । शनिबार एकै दिन २९ जनामा कोरोना सक्रमित फेला परेपछि बाँके फेरि कोरोनाको हटस्र्पोट बनेको छ । यो संगै दुई सातामा संक्रमितको संख्या १ सय १४ पुगेको छ । दुई महिनाअघि खाली भएको कोभिड वार्ड भरिभराउ भएको छ । संक्रमितहरुको उपचारका लागि जनशक्ति अभाव पुनः दोहोरिएको छ । भेरी अस्पतालमा अक्सिजनसहित १४२ कोभिड वार्ड, १५ आइसोलेसन र २५ वटा एभडीयु बार्ड बनाइएको छ । ‘दुई महिनाअघि कोभिड वार्ड खाली भइसकेको थियो । अहिले संक्रमण बढेपछि वार्डहरु भरिएका छन्,’भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापा भन्छन्,‘यसैगरी कोरोना ंसंक्रमित बढ्दै गए पहिलेको अवस्थाजस्तै भयावह स्थिती आउनसक्छ ।’ उनका अनुसार कोरोना नियन्त्रण नहुँदै सर्वसाधारणहरुले बेवास्ता गरेका कारण संक्रमण फेरि दोहोरिएको हो । आउने बैशाख र जेष्ठ महिनामा कोरोनाले उग्ररुप लिनसक्ने बिज्ञहरुले सुझाए पनि त्यसको बेवास्ता गरिएको छ । ‘कोरोनाको त्रास सबैले भुलिसके । यसले गम्भीर अवस्था निम्तियाउन सक्ने खतरा छ,’ भेरी अस्पताल प्रमुख डा. थापा भन्छन् । उनले स्थानीय सरकारहरुले फेरि पनि आइसोलेसन र क्वारेन्टाईन सन्चालन गर्नुपर्ने सुझाव दिए । भेरीले मात्रै धान्न नसक्ने संकेत देखिन थालेपछि नेपालगन्ज शिक्षण अस्पतालमा फेरि कोभिड वार्ड बनाउन पहल भइरहेको छ । भारत नगएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थालेको अस्पतालले जनाएको छ ।
त्यस्तै भारतबाट घर फर्किने केही नेपालीहरुमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल भारत सीमामा राखिएको हेल्थ डेस्कमा भारतबाट फर्किने १२४ जनाको एन्टीजीन परीक्षण गर्दा १० जनामा पोजेटीभ देखिएको छ । कोरोनाको संक्रमणको शंकामा स्वास्थ्य परीक्षण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको जनाए । ‘शंका लागेका व्यक्तिहरुको भने स्वास्थ्य परीक्षण गरिरहेका छौँ । केहीमा संक्रमण देखिएको छ । संक्रमण देखिएका व्यक्तिहरुलाई उपचारका लागि भेरी अस्पतालमा पठाईरहेका छौँ,’ उनले भने । चैत ११ मा सीमामा हेल्थ डेस्क राखिएको छ । परीक्षण गराएर मात्रै नेपाल पस्न पाउने भनिए पनि जनशक्ति अभाव छ । हेल्थ डेस्कबाट १५ मिनेटमा रिर्पोट दिनसक्ने प्रविधि सीमामा राखिएको छ ।
भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि घर फर्किने नेपालीहरुको चाँप बढेको छ । जसका कारण नाका अझै व्यस्त छ । जिल्ला विवाद व्यवस्थापन समितिले भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । सीमामा हेल्प डेस्क राखिएको छ । कोरोना भाइरसको संक्रमण भएको शंका लागे ल्याब टेस्ट गर्ने भनिएको छ । तर भारतबाट फर्किने नेपालीहरुको संख्या बढेसंगै स्वास्थ्य परीक्षणमा समस्या देखिएको हो । सीमामा स्वास्थ्य परीक्षणका लागि सरकारले एक जना ल्याब र पाँच जना स्वास्थ्यकर्मी पठाएको छ । हेल्प डेस्कलाई सघाउन नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले दुई स्वास्थ्यकर्मी परिचालन गरेको छ । भारतमा कोरोनाको संक्रमण देखिएपछि नाकामा कडाई गरे पनि दैनिक चार÷ पाँच सय बढी नेपालीहरु घर फर्किरहेका छन् । आकस्मिक काम भन्दै पाँच सय नेपालीहरु भारत पसिरहेका छन् । ठूलो संख्यामा नेपालीहरु घर फर्किरहेका कारण हेल्प डेस्कमा सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको हो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले हेल्प डेस्कमा ल्याबसहित स्वास्थ्यकर्मी तैनाथ गरिए पनि जनशक्ति अभाव भएको बताउ“छन् । ‘यो जनशक्तिले भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण सम्भव छैन । त्यसैले शंकास्पदहरुको स्वास्थ्य परीक्षण गर्ने र ज्वरोलगायतका लक्षण देखिएकाहरुको ल्याब परीक्षणको काम भइरहेको छ,’ उनले भने,‘सत प्रतिशतको स्वास्थ्य परीक्षणका लागि ठूलो जनशक्ति आवश्यक पर्छ ।’