नेपालगन्ज—मंगलबारमात्रै भेरी अस्पताल नेपालगन्जमा १ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना भाइसको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार मंगलबार पीसीआर गरिएका मध्ये संक्रमितको संख्या ५२ प्रतिशत हो । कोरोना भाइरससंग मिल्ने लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि बाँकेका सबै पालिकामा संक्रमण फैलिएको पुष्टि गरेको छ । सोमबार कोरोनाको शंकामा ७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ संक्रमण पुष्टि भएको थियो । ति मध्ये तीन जना भारतबाट नेपाल फर्किएका थिए । नेपालगन्ज सीमामा एन्टीजेन परीक्षण गर्दा उनीहरुको रिर्पोट पोजेटिभ पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले भारतबाट फर्किने नेपालीहरुमा शंकास्पद लक्षण देखिए सीमामै एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बाँकेमा कोरोना भाइरसको संक्रमण एकाएक बढेको बताए । उनले यसैगरी संक्रमण बढ्दै जाने हो भने नियन्त्रणमा चुनौती हुनसक्ने संकेत गरे । ‘लक्षणको आधारमा परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको तथ्यांक आउन थालेको छ । शंका लागेर परीक्षण गराउनेहरु मध्ये आधा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । बाँकेमा १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा करिव ३३ हजारले कोभिशिल्ड लगाएका छन् ।