बाँके— गत वर्ष नेपालगन्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको ६ महिनापछि सरकारले जटिल लक्षण देखिएका बाहेकको पीसीआर परीक्षण बन्द गर्यो । संक्रमितसित सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न छाडियो ।
अस्पताल र होटलमा बनाइएका आइसोलेसन रित्तिए । संक्रमण नियन्त्रणमा आएको भन्दै चार महिनाअघि विद्यालय खुले । मध्य पश्चिमको ठूलो सहर पूर्ववत् अवस्थामा फर्कियो । नेपाल–भारत सीमा खुले । भौतिक दूरी कायम गरिएन । मास्क लगाउन छाडियो । त्यसबेला चिकित्सकले कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै सावधानीका लागि पटक–पटक आग्रह गरे । ‘संक्रमण नियन्त्रण गर्ने सबैभन्दा भरपर्दो उपाय अनिवार्य स्वास्थ्य मापदण्ड पालना नै हो । तर, नेपालगन्जमा त्यसको धज्जी उडाइयो । जसको परिणाम हामीले फेरि भोग्नुपरेको छ,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख डा। राजन पाण्डेले भने, ‘हरेक दिन सयभन्दा बढी संक्रमित थपिरहँदा पनि बेवास्ता भइरहेको छ । सावधानी नअपनाउने हो भने स्थिति भयावह बन्न सक्छ । चाहेर पनि केही गर्न सक्दैनौं ।’
यहाँ भुसको आगो जस्तै संक्रमण फैलिनुको कारण लापरबाही भएको चिकित्सकले बताए । बिनाकाम घर बाहिर निस्किने, मास्क नलगाउने, भीडभाड बढी गर्ने, अंकमाल गर्ने, हात मिलाउने गरिएकाले पनि संक्रमण बढेको हुन सक्ने उनीहरूको तर्क छ । गत वर्ष वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका–८ का एक स्थानीयमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर त्रास फैलिएको थियो । ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दैगर्दा एउटै टोलमा ६३ जना संक्रमित फेला परे । स्थानीय आफैंले टोलटोलमा डोरी, बेरियल लगाएर बन्द गरे । संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले तीनपल्ट लकडाउन गर्यो । निषेधाज्ञा लगाएर नेपाली सेनासमेत परिचालन गरियो । त्यसले कोरोनाको महामारी नियन्त्रणमा निकै ठूलो सफलता मिलेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भारतबाट फर्किनेमध्ये थोरैमा र स्थानीयमा बढी संक्रमण देखिएको बताए । लापरबाही गरेकै कारण कोरोनाको संक्रमण समुदायमा सरिसकेको उनले जनाए । ‘सबैले सावधानी अपनाउनुपर्थ्यो । तर, हामीले सोचेजस्तो सहयोग भएन,’ उनले भने, ‘पछिल्लो समयका संक्रमितमा जटिल खालको समस्या देखिरहेको छ । यो निकै चिन्ताको विषय हो ।’ उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा नगर्नु र कोरोनालाई बेवास्ता गरिएकै कारण नेपालगन्ज फेरि हटस्पट बनेको हो । दैनिक संक्रमित थपिने क्रम हेर्दा कोरोना नियन्त्रणबाहिर जाने खतरा बढेको छ । पछिल्लो दुई सातामा जिल्लामा संक्रमित ह्वात्तै बढेका छन् । अहिले दैनिक तीन सयभन्दा बढी संक्रमित भइरहेका छन् । भेरी अस्पताल, शिक्षण अस्पताल नेपालगन्ज र अनुमति प्राप्त ल्याबहरूमा गरिएको परीक्षणमा ८० प्रतिशतसम्म पोजिटिभ रिपोर्ट आउन थालेको छ । ‘भेरी अस्पताल आफ्नो स्रोतसाधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर, यसैगरी बिरामीको चाप बढ्ने हो भने थेग्न मुस्किल हुने निश्चित छ,’ अस्पताल प्रमुख डा। प्रकाश थापाले भने, ‘संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरेबमोजिम सुरक्षाका मापदण्डको पालना गरौं ।’ कोरोनाका बिरामी कोभिड वार्डमा नअटाएपछि जनरल वार्डमा राखिन थालेको छ । संक्रमण फैलिइरहने र अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको चिकित्सक बताउँछन् ।यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त उक्त अस्पतालले बनाएको कोभिड वार्ड बिरामीले भरिभराउ छन् । तर, दैनिक एक सय बढी कोरोनाका बिरामी थपिँदै गएका छन् । अस्पताल भरिभराउ हुँदा थपिएका कोरानाका बिरामी होम आइसोलेसनमा बस्दै आएका छन् । एक साताको दौरानमा परीक्षण गर्दा साढे सात सय कोरानाका बिरामी थपिएका छन् । भेरी अस्पतालमा कोरोनाका ८२ बिरामी भर्ना भएका छन् । ३४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन् ।यसैबीच, उच्च जोखिम रहेको नेपालगन्जमा जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा बिरामीले अस्पतालका बेड भरिभराउ भएको अवस्थालाई गम्भीरतापूर्वक लिई यस्तो निर्णय लिनुपरेको उल्लेख छ ।
ekantipur.com