अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । ‘एक चिकित्सक क्रिटिकल अवस्थामा रहेकाले अस्पतालमा उपचारमा हुनुहुन्छ,’ अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने, ‘यो संख्या थप बढ्न सक्छ ।’नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताए । ‘गम्भीर प्रकृतिका संक्रमित धेरै छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा थप चुनौती थपिएको छ,’ उनले भने । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोहलपुरमा हाल १ सय ५० बेडको कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन् । दुई दिनभित्र अस्पतालमा २ सय ५० बेड पुर्याउने अस्पतालका उपनिर्देशक डा. श्रेष्ठले बताए ।गत वर्ष स्वास्थ्यकर्मीलाई सेवा सुविधा दिने कुरासमेत सरकारले कार्यान्वयन नगरे पनि स्वास्थ्यकर्मी आफ्नो कामबाट विमुख भएका छैनन् । ‘स्वास्थ्यकर्मीको मनोबल घटेको छैन,’ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. संकेत रिसालले भने, ‘सुविधाको लाभभन्दा पनि सेवाभावले स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका छन् ।’
८० स्वास्थ्यकर्मी थपिँदै
स्वास्थ्य मन्त्रालयबाट आएको विज्ञ टोलीले गरेको सिफारिस सरकारले कार्यान्वयन गरेपछि भेरी अस्पताल प्रशासनलाई केही राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा.महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन न्यौपानेसहितको टोलीलाई भेरी अस्पतालको अवस्था बुझ्न नेपालगन्ज पठाएको थियो । अस्पताल प्रशासन र चिकित्सकहरूको परामर्शपछि विज्ञ टोलीले ८० जना स्वास्थ्यकर्मी आवश्यक रहेको सिफारिस मन्त्रालयलाई गरेको थियो ।सिफारिस गरेको दुई दिनमै मन्त्रालयले बजेट र जनशक्ति थप्ने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले मन्त्रालयले निर्णय पठाएपछि तीन दिनभित्रै ८० जना जनशक्ति थप्ने गरी विज्ञापन गरिसकेको बताए । मन्त्रालयले जनशक्तिका लागि असारसम्म खर्च हुने ६८ लाख बजेट पनि निकासा गरेको छ । ‘विज्ञ टोली आएपछि धेरै ठूलो राहत मिलेको छ,’ अध्यक्ष धितालले भने, ‘तीन दिनपछि उपचारमा सहज हुने विश्वास गरेका छौं ।’ मन्त्रालयका अनुसार भेरीका लागि १० जना मेडिकल अफिसर, दुई जना नर्सिङ अधिकृत, तीन जना एनेस्थेसियोलोजिस्ट, पाँच जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना जनशक्ति थपिँदैछन् ।मन्त्रालयले भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको उपचारका लागि २५ हजार, आईसीयूका लागि १० हजार र अक्सिजन बेडका लागि ३ हजार ५ सय उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअघि अस्पतालले भेन्टिलेटरका बिरामीका लागि १५ हजार, आईसीयूका लागि ५ हजार उपलब्ध गराउँदै आएको थियो ।
ईकान्तिपुरबाट