नेपालगन्ज । पछिल्लो ३६ घण्टामा भेरी अस्पताल नेपालगन्जले २८८ मध्ये २३३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पोजेटिभिटी रेट करिव ८१ प्रतिशत हो । अस्पतालका अनुसार २३३ मा १३९ जना पुरुष र ९४ जना महिला रहेका छन् । ती मध्ये बाँकेका २०८ बर्दिया १३, कैलाली २ दाङ २ र अन्य जिल्लाबाट ८ जना रहेका छन् । पालिका अनुसार नेपालगंज उपमहानगरपालिकाबाट मात्र १८२ जना पहिचान भएका छन् । उमेर समुहमा २० वर्ष देखि ५० वर्ष उमेर समुहका मात्र १७४ जना छन् । जुन कुल संख्याको ७५ प्रतिशत हो । बाँकेमा मंगलबारमात्रै ६३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । उक्त अस्पतालमा भर्ना भएका कोभिडका विरामी मध्ये ६० जना आईसीयुमा छन् भने १० जना भेन्टीलेटरमा छन् । बेड अभावका कारण अस्पतालले जटिल अवस्थाका विरामीहरुलाई मात्रै भर्ना लिने गरेको हो । अस्पताल कोरोनाका बिरामीले भरिएर थप भर्ना लिन सक्ने अवस्था छैन । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।