नेपालगन्ज । ज्वरोले ओछ्यानमा ढलेका उनका श्रीमान् तीन दिनपछि निको भए । श्रीमान्को सेवामा जुटेकी उनी ज्वरोले थलिइन् । त्यही बेला अस्पतालका बेड संक्रमितले भरिएको र नयाँ बिरामी भर्ना बन्द गरेको खबर सुनिन् । श्रीमान्लाई सन्चो भएकाले नेपालगन्ज–४ की ५० वर्षीया महिला निको हुने विश्वासमा थिइन् । उनी स्वास्थ्य मापदण्ड अपनाउँदै घरमै बसिन् । पीसीआर परीक्षण गर्न दबाब दिँदा अटेर गरिन् । गत मंगलबार उनको होम आइसोलेसनमा मृत्यु भयो । ‘हल्का प्रेसर थियो, डरले आत्तिएर मृत्यु भयो,’ मृतकका ज्वाइँ ईश्वर खड्काले भने, ‘ज्वरोलाई सामान्य ठानियो । उपचार नगराउँदा ज्यानै गयो ।’
उनी मात्र होइन, सामान्य रुघाखोकी लागेपछि उपचारलाई बेवास्ता गर्दा दाङकी २० वर्षीया स्टाफ नर्सले भेरी अस्पतालमा ज्यान गुमाइन् । कोरोनाका लक्षण देखिँदा पनि ढिलो पीसीआर परीक्षण गर्दा उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनकी आमालाई संक्रमण देखिएपछि भेरी अस्पतालमा उपचार भइरहेको छ । मृतकका बुबा सन्तोष वलीमा पनि कोरोना पोजिटिभ देखिएको छ । आफू संक्रमित भएको भन्दा श्रीमती संक्रमित भएपछि उनलाई बढी पीडा छ । ‘छोरीलाई कोरोनाले खोस्यो । श्रीमती पनि पोजिटिभ छन्,’ उनले भने, ‘अब त बाँच्नु र मर्नुमा के फकर रह्यो ? म आफैं पोजिटिभ छु ।’
गत शनिबार कोहलपुर नगरपालिका–९ झन्डहवाका ६० वर्षीय कोभिड संक्रमित पुरुषले घरमै आत्महत्या गरे । सुरुमा सामान्य उपचारका लागि मेडिकल कलेज कोहलपुर पुगेका उनलाई अस्पतालले उपचार गर्न मानेन । पीसीआर रिपोर्ट ल्याएमात्र उपचार गर्ने भनेपछि उनले कोरोना जाँच गरेर घर फर्के । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा बस्न चाहेनन् । घरमा अवस्था सुधार नभए पनि उनले परिवारसँग केही भनेनन् । ‘के समस्या थियो भन्ने नै थाहा भएन । अस्पतालले पनि पहिला उपचार गर्न मानेन,’ मृतकका छोरा टेकमान केसीले भने, ‘उपचार गरेको भए समस्या त थाहा पाउँथ्यौं । उपचार गर्न सकिन्थ्यो ।’घरकै फ्यानमा डोरी बाँधेर झुन्डिएका उनलाई परिवारले निकालेर राख्दासम्म होसमा थिए । ‘एम्बुलेन्स बोलाइयो । समयमा आएन,’ माइला छोरा नेटबहादुर केसीले भने, ‘बोलाएको २ घण्टामा एम्बुलेन्स पुग्दै थियो, बुबाको सास गएपछि बाटोबाट एम्बुलेन्स फर्काइदियौं ।’ भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले क्रिटिकल अवस्था भएपछि मात्र अस्पताल आउने कारणले मृत्युदर बढ्दै गएको बताए । ‘अवस्था क्रिटिकल भएकालाई फर्काउने अवस्था कमै रहन्छ,’ उनले भने ।
कोरोनासित मेल खाने लक्षण देखिएर कोहलपुरका भूपेन्द्र खड्का परीक्षणका लागि शिक्षण अस्पताल पुगे । कर्मचारीले गेटभित्र छिर्न दिएनन् । त्यस्तो व्यवहारले हतोत्साहित भए । ‘कोरोना पुष्टि भइसकेको भए कस्तो व्यवहार हुन्थ्यो कुन्नि,’ उनले भने, ‘कोरोनाका बिरामीका लागि बेड छैन । अस्पतालले भर्ना लिन छाडेपछि समस्या भएको छ ।’ कोरोनाको लक्षण देखिएर अस्पतालमा भर्ना नलिने र अस्पतालमा उपचारका लागि नजाने प्रवृत्तिले मृतकको संख्या बढेको छ ।