नेपालगन्ज । एक कप चियाको मुल्य नेपालगन्जमा कम्तिमा पनि १५ रुपैयाँ पर्छ । सादा खाना प्लेटको कम्तिमा डेढ सय रुपैयाँ पर्छ । तर कोरोनाको महामारी फैलिदै गएका बेला नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खानाको व्यवस्था मिलाइएको छ । विपन्नलाई लक्षित गरी निकै सस्तोमा खानाको व्यवस्था मिलाइएको हो । हाल दैनिक ढेड सय जना खाना खाइरहेका छन् । उक्त सेवाले अस्पतालमा उपचारमा रहेका विरामी, उनीहरुका कुरुवा र जोकोही सर्वसाधारणहरुलाई खानाका लागि निकै ठूलो सहयोग पुगेको छ । उनीहरुलाई आर्थिक भार कम भएको छ । यसअघि उनीहरुले अस्पताल अगाडिको सटरमा रहेका होटेलमा कम्तिमा पनि सादा खानाको डेढ सयमा तिर्ने गरेका थिए । खानाको गुणस्तर पनि निकै राम्रो छ । घरको खानाजस्तै स्वादिलो छ । थपिथपि पेटभरी खाना पाईन्छ । ‘होटेलमा खाना खाँदा एक जनाको दैनिक चार सय रुपैयाँ खर्च हुन्थ्यो । अहिले एक छाक २० रुपैयाँमा खाना पाएपछि निकै सहयोग पुगेको छ,’ भेरी अस्पताल नेपालगन्जमा विरामी कुर्ना आएका कर्णाली प्रदेश सुर्खेतका जीवन शाही भन्छन्,‘२० रुपैयाँमा खाना पाएपछि विरामीहरुको उपचारमा पनि सहयोग पुगेको छ ।’ खानामा लाग्ने पैसा विरामीको औषधि र जाँचमा खर्च गर्न सहज भएको छ । सुरुमा सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जले उक्त अभियान सुरु गरेको थियो । त्यतिबेला नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ खानाका लागि मण्डलाई दिएको थियो । सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका संरक्षक तथा खाना व्यवस्थापन समितिका संयोजक विजय गुप्ताले कोरोनाका कारण सर्वसाधारणहरु आर्थिक संकटबाट गुज्रिरहेकाले २० रुपैयाँमा पेटभरी खाना अभियान सुरु गरेका थिए ।
भेरी अस्पताल नेपालगन्जका विकास समित अध्यक्ष प्रमोद धितालले २० रुपैया“मा खाना अभियानले विरामी, कुरुवा र बाहिरबाट उपचारका लागि आउने सर्वसाधारणलाई आर्थिकरुपमा निकै सहज पुगेको बताए । ‘टाढाबाट उपचारका लागि आउने सर्वसाधारणहरुको खानामै धेरै पैसा जान्थ्यो । तर यो अभियान सुरुभएपछि उनीहरुको पैसा जोगिएको छ,’ उनले भने,‘उक्त अभियानमा भेरी अस्पताल पनि जोडिएको छ ।’ उनका अनुसार भेरी अस्पतालमा हाल दैनिक अढाई सय सर्वसाधारणहरु स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।
पछिल्लो पल्ट अञ्जनी माता रसोईले अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपैयायाँमा प्रति छाक विहानको खाना खुवाईरहेको थियो
। नेपालगन्ज उप–महानगरपालिकाले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका विरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाईरहेको छ । रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उप–महानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको हो । नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिए । यसैगरी नगरभित्र होम आईसोलेसनमा बसेका विरामीहरुलाई वडाका स्वास्थ्य फोकलपर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आईसोलेसन सन्चालन गर्ने निर्णय बैठकले गरेको छ ।