गत वर्ष नै यहाँको ह्वाइट हाउस होटलमा सञ्चालनमा ल्याइएको आइसोलेसनलाई यस पटक पनि निरन्तरता दिइएको छ । ‘होटल आइसोलेसन उपमहानगरभित्रका संक्रमितलाई राख्न बनाइएको हो,’ उपप्रमुख मगरले भनिन्, ‘अहिले ह्वाइट हाउसमा रहेका १ सय २० जनामध्ये उपमहानगरका १८ जना मात्रै छन् ।’ उपमहानगरले भेरी अस्पतालमा उपचाररत संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउने अञ्जनी माता रसोईलाई मासिक एक लाख रुपैयाँ सहयोग गर्न थालेको छ । कार्यपालिका बैठकले मासिक एक लाखको दरले तीन महिना सहयोग गर्ने निर्णय गरेको हो । ‘यो संकटमा गरिएको मानवीय सेवा हो,’ सुन्दर काण्ड मित्रमण्डलका सदस्य जितेन्द्र सिंहले भने, ‘जेनतेन मिलाइरहेका थियौं, त्यसैमा उपमहानगरको साथ पाएका छौं ।’सोमबार उपमहानगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले एउटा एम्बुलेन्ससमेत थप गर्ने निर्णय गरेको छ । ‘उपमहानगरमा संक्रमित बढी देखिएकाले यो निर्णय गरेका हौं,’ उपमहानगरका प्रवक्ता तथा वडा १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘धेरै संक्रमित घरकै आइसोलेसनमा छन्, त्यसैले अर्को एम्बुलेन्स भयो भने संक्रमितलाई सजिलो हुन्छ ।’ उपमहानगरले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल थप आइसोलेसन सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्ता रिजालले बताए ।स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार जिल्लामा १० हजार ५ सय ८० जना संक्रमित छन् । ३ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् । उपमहानगरपालिकामा कोभिडबाट १९ महिला र २४ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।
ईकान्तिपुरबाट