नेपालगन्ज । बाँके खजुरा गाउँपालिका २ का ६९ वर्षीय पुरुषलाई अस्पतालमा ल्याउँदै गर्दा सोमबार राति ११ बाटोमै मृत्यु भयो । लक्षण देखिएपछि बैशाख १९ गते परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका थिए । कोरोनाका विरामीले भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल भरिभराउ भएका कारण उनी घरमै बस्न बाध्य भए । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा उनको ज्यान गयो । खजुरा गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका वडा न.३ का ५५ वर्षीय कोरोना संक्रमितका पुरुषको शनिबार मृत्यु भयो । गाउँपालिकाले जनक शिक्षा सामग्री केन्द्रमा सन्चालन गरेको आइसोलेसन सेन्टरमा खजुरामा रहेका उनी उपचार नपाएर ज्यान गुमाए । सामान्य लक्षण देखिएपछि सुरुमा उनी परीक्षण नै नगराई होम आइसोलेसनमा बसे । वैशाख १६ गते परीक्षण गर्दा रिपोर्ट पोजीटिभ आयो । १७ गते जनक शिक्षामा रहेको आइसोलेसन सेन्टरमा भर्ना भए । परिवारले उनलाइ सुरुमा शिक्षण अस्पताल नेपालगन्ज लगेका थिए । तर अस्पतालका स्वास्थ्यकर्मीले कोरानाका बिमारीलाई उपचार गर्न नसक्ने भन्दै एम्बुलेन्स बाट झर्न दिएनन् । अस्पतालमा बेडको अभाव भएपछि उनलाई परिवारले शुक्रबार खजुराको आइसोलेसनमा भर्ना गरेका हुन ।
‘देखाउनका लागि दुई जना स्टाफको भरमा आइसोलेन बनाइएको छ । तर डाक्टर छैनन् । समयमा उपचार पाएको भएर बुवा सायद बाच्न सक्नुहुन्थ्यौ होला,’ मृतकका छोरा अनिल तिरुवाले भने्,‘ अक्सीजन लेबल कम थियो । एक्कासी गाह्रो भयो भन्दा भन्दै ज्यान गयो ।’ उनले उपचार अभावकै कारण आफ्नो बुबाको ज्यान गएको आरोप लगाए । बाँकेमा कोरोनाको संक्रमण बढेसगै अस्पतालहरुमा बेड अभाव भएपछि होम आइसोलेसनमा बस्ने बढेका छन् । लक्षण देखिएपछि परीक्षण नै नगराई होम आईसोलेसनमा बस्ने पनि उत्तिकै छन् । ढिलो गरी परीक्षण गराउँदा र होम आइसोलेसनमा बस्ने बढेसंगै मृतकको पारो पनि उक्लिदै गएको छ । ति मध्ये अर्काे घटना हो, बैजनाथ गाउँपालिका ५ का ५१ वर्षीय पुरुषको मृत्यु । उनी पनि होम आइसोलेसन थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि आइसोलेसनबाट अस्पताल लैजादै गर्दा मृत्यु भयो । वैशाख १२ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका थिए । खजुरा गाउँपालिका ७ की ३२ बर्षीया महिलाको बैशाख १६ गते उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भयो । उनलाई बैशाख १० गते कोरोना संक्रमण भएको पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी थिईन । स्वास्थ्य अवस्था बिग्रिएपछि ६ दिनपटि अस्पताल ल्याइएको थियो ।
कोरोना संक्रमण भएकाहरुले स्वास्थ्य समस्या गम्भीर भएपछि मात्र उपचारका लागि अस्पताल आउने गरेका कारणले मृतकको संख्या बढेकोछ । अस्पताल भरिएको हल्लाले पनि संक्रमितहरु बेड नपाउने हो कि भनेर अस्पताल नगएर घरमै बस्न थालेका हुन । त्यस्तै स्वास्थ्य अवस्था सामान्य हुँदासम्म घरमै बस्ने न गम्भीर अवस्थामा मात्र अस्पताल आउन चिकित्सकहरुले सुझाव दिंदै आएका छन् । ‘अहिलेको समस्या नै त्यहि हो । लक्षण देखिएकाहरु नै पीसीआर नगरी बस्नुहुन्छ । धेरै अस्वस्थ भएपछिमात्र पिसीआर गराउनुहुन्छ । कति त अस्पतालमा भर्ना भएपछिमात्र पीसीआर गराइन्छ, ’भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा फिजीसीयन डा.संकेत रिसाल भन्छन्,‘उपचारका लागि बिमारीलाइ ढिलो गरी अस्पताल पु¥याउँदा पक्कै पनि उपचारमा समस्या थपिन्छ ।’
मृतकहरुको आंकडा हेर्दा उपचारका लागि अन्तिम अवस्थामा अस्पताल पुग्नेको संख्या धेरै छ । अस्पताल बिरामीको चाँप थेगिसक्नु छैन । अक्सीजन अनि भ्यान्टीलेटरको अभाव उस्तै छ । जसले होम आइसोलेसनमा बस्ने संख्या बढदो छ । हाल नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ३ सय ६६ जना आफ्नै घरको आईसोलेसनमा छन् । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये वडा नम्बर १० मा सबैभन्दा बढी ६ सय ५० जना घरमै आईसोलेसनमा बसेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका विरामीलाई ह्वाईट हाउसस्थित आईसोलेसनमा राख्ने व्यवस्था गरेको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको आईसोलेसन केन्द्र सन्चालनमा छ ।
घरमै आईसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क ब्यक्तिले स्वास्थ्य अवस्था बारे जानकारी लिने र पछि पनि समयसमयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताए । ‘घरमै बसेकाहरुलाई वडाकै स्वास्थ्यकर्मीले फलोअप गर्नुहुन्छ’ उनले भने,‘समस्या गम्भीर भएमा कोभिड वार्डमा रिफर गर्छौ ।’ नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे समयसमयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताइन । बैशाख २० गते सम्मको अभिलेख अनुसार कोरोनाका कारण नेपालगंन्ज उपमहानगरमा मात्र ७१ जनाको मृत्यु भइसकेको छ । कोहलपुरमा २९, बैजनाथमा १२, खजुरामा १८ जनाको मृत्यु भइसकेको छ ।
होम आईसोलेसनमा बस्ने व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन सम्बन्धित पालिकाले स्वास्थ्यका कर्मचारीहरु परिचालन गर्नुपर्ने स्वास्थ्य निर्देशिकत छ । त्यस्तै वडाहरुलेसमेत संक्रमितहरुको अवस्था जानकारी लिने र स्वास्थ्य अवस्था जटिल बन्दै गए अस्पताल पठाउनु पर्ने छ । तर जनशक्ति अभाव भएको भन्दै होम आइसोलेसनमा बस्ने विरामीहरुको अवस्था जानकारी लिन पालिकाहरु असक्षम देखिएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले होम आइसोलेसनमा बस्ने विरामीको अवस्था सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहरुले हेर्नु पर्ने सहमति यसअघि नै गरिएको जनाए ।