नेपालगन्ज । पहुना आए सिधै घर प्रवेश गर्न नदिएर आँगन वा बरण्डामा बस्न दिइन्थ्यो । पीउनका लागि पानी । तोरीको पीना (खरी) पानीमा भिजाइन्थ्यो । त्यही पीना र पानीले तलासम्मा पहुनाको हाँत र खुट्टा धोइदिन्थे । साबुनको प्रचलन निकै कम रहेका कारण पीना प्रयोग गरिएको हो । खुट्टा धोएको फोहोर पानी घरदेखि टाढा लागेर फाल्नु पर्ने चलन थियो । पूर्ण सरसफाईपछि पहुनालाई घर प्रवेश दिइन्थ्यो । यो संस्कार पश्चिम तराईका थारु समुदायबाट हराएको धेरै भएको छैन । बिवाहका बेला दुलहा कुलदेउता राख्ने कोठा (मिन्झारी) मा बसेका बेला जन्ती पक्षको हात खुट््टा धुने चलन भने अझै कायमै छ । पीनाले हात खुट्टा नधोएसम्म पहुनालाई घरभित्र प्रवेश गर्न नदिनुको कारण के होला ? ‘बाहिरबाट आउने पहुनाको हातखुट्टामा रोगको किटाणु टाँसिएको हुनसक्छ । नधुने हो भने परिवारमा सर्न सक्छ,’ थारु संस्कृति र संस्कार बारे जानकार गोविन्दप्रसाद चौधरी भन्छन्,‘त्यसैले पहुनाको हातखुट्टा धोईदिने चलन पुर्खाहरुले बनाएका हुन । तर नया पुस्ताले भने त्यसो गर्न छाडिसके ।’ बिश्वभरी कोरोना भाईरस (कोभिड १९) को संक्रमण महामारीका रुपमा फैलिरहेका बेला थारु समुदायका पुराना पुस्ताले हातखुट्टा धुने संस्कार सम्झेका हुन । कोरोना भाईरसबाट जोगिन स्वास्थ्यकर्मीहरुले साबुन पानीले हात मिचिमिचि धुन सुझाइ रहेका छन् । ‘हातखुट्टा धोएर घरभित्र पस्न दिनु पुरानै चलन हो,’ उनले भने,‘सरसफाईले रोग लाग्नबाट जोगाउछ ।’ हातखुट्टा धोएको फोहोर पानीमा किटाणु हुने भएकाले घरदेखि टाढा फालिएको हो ।
ससुराली र आफन्तको घर गएका बेला पटकपटक हाटखुट्टा धुलाउने अवसर पाएका अगुवा मिहीलाल चौधरीले कुनै जमानामा महामारी फैलिएको हुनसक्ने भन्दै त्यसयता सरसफाईको संस्कार सुरु भएको हुनसक्ने अनुमान गर्छन । पटकपटकको भोगाईले पुर्खाहरुले विभिन्न संस्कार सुरु गरेका हुन । ‘पहुनाको हातखुट्टा धुने संस्कार बैज्ञानिक थियो । नयाँनयाँ रोग आएका बेला पुरानो चलनलाई फेरि सुरु गर्नसक्नु पर्छ,’ उनले भने,‘पीनाको प्रयोगले सफाई निकै राम्रो हुन्छ । नयाँ पुस्ताले सिको गर्न सक्नु पर्छ ।’ आयुर्बेदका डा. अनिलकुमार चौधरीले पीनाले हातखुट्टा धुने चलनले थुप्रै सरुवा रोगबाट बच्न सक्ने बताउछन् । तोरीको पीनामा भाइरस मार्ने एष्टीबाईटीक रहेको उनले जनाए । ‘पीनामा तेलीय पदार्थ पनि हुन्छ । त्यसले सफा गर्ने हो भने छालाको भित्रैबाट फोहोर निकाल्छ । ब्याक्टेरीया मार्छ,’ उनले भने,‘हातखुट्टा सफा गर्नेमात्रै होईन पीनाले नुहाउने चलन थियो । यसले टाउकोको जुम्रा लिखा मार्छ ।’ उनका अनुसार पीनाको महत्व आयुर्बेदमा निकै रहेको छ । पुर्खाले बनाएको संस्कार बिर्सिदै गएका कारण नयाँनयाँ रोग देखिन थालेको पुराना पुस्ताको बुझाई छ । पुरानो संस्कार हजारौ वर्षको भोगाईपछि बनाइएको बैज्ञानिक रहेको उनीहरुको तर्क छ । ‘हातखुट्टा धुने चलनलाई परिमार्जित गरेर सुरु गर्न सकिन्छ । पहुनाको हातखुट्टा आफैले नधोए पनि आफैले नधोएसम्म घर प्रवेश गर्न नदिए रोग सर्दैन,’ पुरानो संस्कार बारे वकालत गर्ने पतिराम चौधरी भन्छन्,‘आजकल भान्सामै हातधुने बनाइएको हुन्छ । जुत्ताचप्पलसहित पहुना भान्सामा पस्छन् । त्यसैले रोग सजिलै भित्रिन्छ ।’ उनले हातखुट्टा नधोएसम्म भान्सा र घरमा प्रवेश गर्न नदिने सुझाव दिए ।