हमासले जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै हजारभन्दा रकेट प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले ८ सय ५० वटा रकेट आफ्नो भूमिमा खसेको र प्रतिरक्षा प्रणालीले करिब २ सय रकेट गाजामै खसालिदिएको पनि बताएको छ । हमासले जेरुसेलममा रहेको अक्सा मस्जिदमा इजरायलका तर्फबाट आफूहरुलाई उक्साउने काम भएको र त्यो अहिले गाजासम्म आइपुगेको बताएको छ । समाचार संस्था रोयटर्सका अनुसार हमासले इजरायलले टकरावलाई बढाए त्यसले उसैलाई ठूलो क्षति पुग्ने चेतावनी पनि दिएको छ । त्यस्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि हमासले यो टकरावको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
हमासका नेता इस्माइल हानियाले टेलिभिजनमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘कतार, इजिप्ट र संयुक्त राष्ट्र संघले सम्पर्क गरी हामीलाई शान्ति स्थापनाका लागि अपिल गरेका छन् । हामीले इजरायललाई यो सन्देश दिएका छौं कि उनीहरु द्वन्द्व चाहन्छन् भने त्यसका लागि हामी तयार छौं । यदि यसलाई उनीहरु रोक्न चाहन्छन् भने त्यसका लागि पनि हामी तयार छौं।’द्वन्द्व बढ्दै गएपछि इजरायलले लोड सहरमा संकटकाल घोषणा गरेको छ । जहाँ हमासद्वारा हानिएको रकेट लागेर बाबुछोरीको मृत्यु भएको थियो ।बीबीसीका अनुसार अहिलेसम्म दुवै तर्फका गरी कम्तीमा ४० जना मारिएका छन् । इजरायली सेनाले गाजाका १५० ठाउँमा आक्रमण गरेको छ । इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनका सर्वसाधारणको मृत्यु भएको बताइएको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न अनुरोध गरेका छन् । बुधबार यसै विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दै छ ।
इजरायली रक्षामन्त्री बेन्नी गान्ट्जले भने ‘इजरायली आक्रमणको सुरुवात मात्र’ भएको बताएका छन् । चरमपन्थी समूहलाई परास्त गरेर दीर्घकालीन रुपमै आफूहरुले शान्ति पुन:स्थापना गर्ने उनको दाबी छ । त्यस्तै हमास नेता इस्माइल हानियले इजरायलले द्वन्द्वलाई बढाए प्रतिक्रियाका लागि आफूहरु तयार रहेको बताएका छन् ।इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसअघि मंगलबार हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका थिए । । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् । पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।
हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ । सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।