यसै गरी संक्रमण बढ्दै जाने हो भने कसैले केही गर्न सक्ने अवस्था नरहने चिकित्सकहरू बताउँछन् । ‘कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइसक्यो । हामीले सक्ने सेवा दिने प्रयास गर्ने हो । त्यसभन्दा बढी हाम्रो हातमा केही रहेन,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले भने । सरकारले जोखिम भत्ता दिने निर्णयसमेत गरेको छैन । सुरुवाती चरणमा काम गरेका स्वास्थ्यकर्मीले भने दरबन्दीअनुसार जोखिम भत्ता पाएका छन् । हाल काम गर्नेलाई जोखिम भत्ता दिने योजना बनाएको अस्पताल प्रशासले जनाएको छ । ‘कुरुवाबाट आक्रमण हुँदा पनि सहेकै छौं । आफन्त गुमाउँदा कुरुवा आक्रोशित हुनु स्वाभाविक नै हो,’ डा. थापाले भने, ‘त्यसलाई हामीले ठूलो मुद्दा बनाएका छैनौं ।’ दोस्रो लहरमा पनि नेपालगन्ज हटस्पट बनेपछि अस्पताल प्रशासनको प्रयासमा अक्सिजन प्लान्ट स्थापना गरिँदै छ । त्यस्तै केन्द्र, प्रदेश र स्थानीय सरकारले केही जनशक्ति उपलब्ध गराएका छन् । केन्द्रबाट चिकित्सकसहित ६० स्वास्थ्यकर्मी दिने भनिए पनि मागअनुसार निवेदन नपर्दा ४८ जनालाई नियुक्त गरेर काममा लगाइएको छ । विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अभाव छ । नेपालगन्ज उपमहानगरपालिकाले १५ स्वास्थ्यकर्मी भेरीमा पठाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सकसहित २२ स्वास्थ्यकर्मी पठाइएपछि केही सहज भएको छ ।
अस्पताल प्रशासनलाई जनशक्तिसँगै अक्सिजन र बेड अभाव सबैभन्दा ठूलो समस्या बनेको छ । ‘अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या थपिएको छ । समयमा अक्सिजन नपाउँदा बिरामीको ज्यान जाने अवस्था आएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने, ‘लिक्विड ट्यांकर आयो तर रिफिल गर्ने सामग्री नहुँदा अक्सिजन पुर्याउन सकिएको छैन ।’ अस्पतालले लिक्विड अक्सिजनका लागि १५ दिनअघि अनुरोध गरे पनि अहिलेसम्म उपलब्ध भएको छैन । अध्यक्ष धितालका अनुसार अस्पतालसँग समन्वय नगरेर बिरामी अस्पताल पठाउँदा पनि बाटोमै अक्सिजन नपाएर ज्यान गुमिरहेका छन् । अहिले अस्पतालमा रहेका ९० प्रतिशत बिरामीको अक्सिजनसहितको बेडमा उपचार भइरहेको छ । अस्पतालमा दिनमा ४ सय ५० वटा ठूला अक्सिजन सिलिन्डर खपत हुन्छ । बाँकेमा रहेका दुईवटा अक्सिजन सप्लायर्सले पश्चिम नेपालकै ठूला अस्पताललाई अक्सिजन उपलब्ध गराइरहेका छन् । केही दिनयता विद्युत् आपूर्तिमा समस्या भएपछि अक्सिजन उत्पादन बढ्न सकेको छैन । ‘अक्सिजनले धान्न नसक्ला भनेर परिवारलाई पहिले सूचित गराएका छौं । प्लान्टबाट एकैपल्ट पाइप लाइनबाट सबै बेडमा अक्सिजन दिइन्छ,’ भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘पाइप लाइन नभएको ठाउँमा सिलिन्डरबाट अक्सिजन दिइरहेका छौं ।’
कोरोना वार्डबाहिर रहेका चारवटा कुरुवा बेडमा सिलिन्डर प्रयोग भइरहेको छ । कोरोना उपचार केन्द्र भेरी अस्पतालमा १८ वटा आईसीयू बेड छन् । स्वास्थ्य अवस्था निकै जटिल भइसकेका संक्रमितका लागि १५ वटा भेन्टिलेटर छन् । कोरोनाका लागि १ सय ४२ बेडको अस्पताल मानिएको भेरीमा २ सय १० बेड पुर्याइएको छ । अस्पतालका हरेक कुनाकाप्चामा बेड थप्दै २ सय ४९ जना संक्रमितको उपचार गरिँदै छ । भेरी अस्पतालका चिकित्सकसहित १ सय ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीलाई संक्रमण भइसकेको छ । संक्रमित भएर पनि स्वास्थ्यकर्मीले बिरामीको सेवा गरिरहेका छन् । उनीहरू एक साता २४ घण्टा काम गरेर दुई साता आइसोलेसनमा बस्छन् र पुनः काममा फर्किन्छन् ।