भेरीको टेन्ट वार्ड पनि भरियो - Dastabej

भेरीको टेन्ट वार्ड पनि भरियो

अक्सिजनको व्यवस्था भने संक्रमित आफैंले गर्नुपर्ने


  • दस्तावेज

  • नेपालगन्ज — ठूलो हावाहुरी चल्यो । त्यससँगै बुधबार राति करिब एक घण्टा मुसलधारे पानी पर्‍यो । यस्तो विपत्का बेला आफू जोगिने कि अरूलाई जोगाउने ? तर, उनले हरेस खाइनन् । हावाहुरीले उडाउला भन्ने डरले एक हातले संक्रमित श्रीमान्लाई समाइरहिन् ।अर्को हातले टेन्ट लगाएको डन्डी जोडले समाइन् । हावाहुरी रोकिएपछि जेनतेन लामो सास फेरिन् । अक्सिजन सिलिन्डरसहित भेरी अस्पतालको परिसरमा बनाइएको टेन्टमा संक्रमित श्रीमान्को सेवामा जुटेका बेला उनलाई हावाहुरीले थप जटिलता थपेको हो । भेरी अस्पताल नेपालगन्जमा कोरोनाका बिरामी भरिएपछि टेन्टमा राखेर उपचारको प्रयास थालिएको छ । तर, अक्सिजनको व्यवस्था भने संक्रमितहरूले आफैं गर्नुपर्ने बाध्यता छ । ‘अस्पतालमा बेड पाइनँ, त्यसैले बाहिर बनाइएको टेन्टमा राखेर श्रीमान्को उपचार गराइरहेकी छु,’ बर्दिया बढैयाताल गाउँपालिका–८, कालिकाकी राधा थापा मगरले भनिन्, ‘रातभरि पानी पर्‍यो । हावाहुरी चल्यो तर श्रीमान्लाई छोड्ने कुरा भएन । कोरोनाले त सताएकै थियो, हावाहुरीले पनि निकै सतायो ।’ टेन्टमा उपचार गराइरहेका श्रीमान्का लागि उनले अक्सिजन आफैं किनेर ल्याएको बताइन् ।दाङको तुलसीपुर उपमहानगरपालिकाका मानबहादुर वलीले पनि संक्रमित श्रीमतीलाई उपचारका लागि अस्पताल परिसरमा बनाइएको टेन्टमा भर्ना गरेका छन् । अस्पतालमा बेड नपाएपछि उनले टेन्टमै भर्ना गराएका हुन् । उनीसँग कान्तिपुरले संवाद गरिरहँदा श्रीमतीको मुखमा क्यापसहितको अक्सिजन लगाइएको थियो । संक्रमित श्रीमतीकै सेवामा जुटिरहँदा उनले पनि रातभरि हावाहुरी झेले । ‘एक त अस्पतालमा बेड पाइएन । डाक्टरहरूले हेरिदेलान् भन्ने आसमा अस्पतालले बनाएको टेन्टमै राखेर भए पनि श्रीमतीको उपचार गराइरहेको छु,’ उनले भने, ‘श्रीमतीको उपचारका लागि हावाहुरी, पानी सबथोक सहनुपरेको छ ।’उक्त टेन्टमा सल्यान, रोल्पालगायत कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमितहरू उपचारका लागि भर्ना भएका छन् । अस्पतालको इमर्जेन्सी, ओपीडी अगाडिको खाली भागमा बनाइएको टेन्टको वार्डमा पनि कोरोनाका संक्रमित भरिभराउ भइसके । अस्पताल र टेन्ट वार्ड भरिएपछि भेरी अस्पतालले नवनिर्मित भवनको दक्षिणतर्फ पनि टेन्ट राखेर स्वास्थ्य सेवा दिने प्रयास गरिरहेको छ । अस्पतालमा कोरोना बिरामीका लागि २ सय १४ बेड थिए तर ३ सय संक्रमित भर्ना भएपछि बेड अभाव भएको हो । भेरी अस्पतालले बिरामीहरूको उपचारका लागि टेन्टमा वार्ड बनाउने प्रयास गरिरहेको छ ।

    ‘अस्पतालमा बिरामीहरू उपचारका लागि आएपछि घर जानूस् भनेर भन्न मिलेन, बेन्चमा राखेर पनि उपचारको प्रयास गरिरहेका छौं,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले भने, ‘अस्पतालअगाडिको भागमा बनाइएको टेन्टले मात्रै पुगेन । थप बनाउनुपर्ने बाध्यता आइपरेको छ ।’भेरी अस्पतालको टेन्ट वार्डमा भए पनि उपचारका लागि भर्ना हुने बिरामी बढ्नुको कारण भने चिकित्सकबाट परेका बेला उपचार पाउने आस नै हो । केही परिहाल्यो भने भेरीका चिकित्सकले सहयोग गर्ने उनीहरूको विश्वास छ । ‘भेरीमा धेरै कोभिडका बिरामी भर्ना छन्, बेड नभए पनि हामीसँग संक्रमितहरू आउने भनेको विश्वास हो,’ भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोराना स्रोतव्यक्ति डा. संकेत रिसालले भने, ‘अस्पतालका बेडमा भर्ना भएका मात्रै होइन, अस्पताल परिसरमा रहेका संक्रमित र नजिकै रहेको रामलीला मैदानको आइसोलेसनका बिरामीलाई पनि सेवा दिने प्रयास गरिरहेका छौं ।’ बेड र अक्सिजन अभावमा बाँकेमा दैनिक दर्जन बढी कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । अस्पतालहरू भरिभराउ भएपछि टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको चिकित्सकहरूले बताए ।संक्रमितहरूको संख्या बढ्दै गएसँगै अस्पतालहरूले थेग्न नसकेपछि अक्सिजनका लागि धरौटी राख्नुपर्ने अवस्था आएको छ । सरकारले अस्पतालहरूमा अक्सिजन कोटा तोकेपछि सञ्चालकहरूले बिरामीका कुरुवालाई अक्सिजन खोज्न भन्दै तनाव दिइरहेका छन् । जसका कारण बिरामीको ज्यान जोगाउन आफन्तहरू अक्सिजन उद्योगमा आफैं पुग्न थालेका छन् । एक सिलिन्डर अक्सिजनको मूल्य १५ देखि २५ हजार अग्रिम जम्मा गर्नुपर्छ । सानो सिलिन्डरको १५ हजार र ठूलो सिलिन्डरलाई २५ हजार धरौटी राख्नुपर्छ । नेपालगन्जमा दुई अक्सिजन उद्योग छन् । परासपुरमा एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सूर्य शक्ति अक्सिजन उद्योग छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार १२:५७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा