नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका सबै बेड कोरोनाका विरामीले भरिए । तर पनि विरामी आउने क्रम रोकिएन । अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कोरोनाका विरामी भर्ना गर्न नसक्ने भन्दै असमर्थता जनायो । तर पनि उपचार पाउने आशमा संक्रमितहरु आउने क्रम रोकिएन । चिकित्सकहरुका अनुसार अस्पताल आएका विरामीलाई उपचार नगरी घर फर्काउनु धर्म विपरित मानिन्छ । त्यसैले अस्पताल प्रशासनले आफ्नो फिल्ड परिसरमा टेन्ट गाडेर १२ बेड थप्यो । एकै दिनमै टेन्टको बेड पनि भरियो । ‘भएको उपाय लगायौ“ । अब त टेन्ट राख्ने ठाउँ पनि बाँकी छैन,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा भन्छन्,‘कोही डिस्चार्ज भएर जानु भो भने बेड खाली हुने हो, होईन भने टेन्ट पनि राख्न सक्ने अवस्था हामीसंग रहेन् ।’
भेरी अस्पतालमा लुम्बिनी प्रदेशबाहेक कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत जटिल अवस्थामा विरामीहरु रिफर भएर आउने गरेका कारण बेड अभावसंगै टेन्टमा पनि उपचार नपाउने अवस्था आएको छ । पहिलो चरणको लहरमा कोरोना महामारीको हटस्र्पोट बनेको बाँकेमा कडा प्रयासपछि डेढ महिनाअघि नियन्त्रणमा आएजस्तो देखियो । भेरी अस्पताल नेपालगन्जमा कोरोनाका ६ विरामी थिए । उपचार सहज थियो । तर हाल कोरोनाका विरामीले अस्पताल खचाखच भरिएको छ । ईमरजेन्सी र जनरल वार्डमा पनि कोरोनाका विरामीहरु भर्ना गरिएका छन् । हाल अस्पतालमा उपचार गराईरहेका विरामी मध्ये ९० प्रतिशत कोराना संक्रमित छन् ।
भेरीमा कोरोनाका विरामीले भरिएपछि नेपालगन्ज उपमहनगरपालिकाले रामलिलामा नेपालगन्ज उपमहानगरपालिकाले बनाएको अक्सिजनसहितको वार्डहरु भरिएको छ । ‘बेड थप्नका लागि जनशक्ति आवश्यक पर्छ । स्थान पनि हुनै पर्यो,’ मेसु डा. थापाले भने,‘भेरी अस्पतालको परिसर खाली छैन । जनशक्ति पनि अभाव छ ।’
बा“केमा पहिलो चरणको कोरोना नियन्त्रणमा आएजस्तो देखिए पनि चिकित्सकहरुले कोरोनाको महामारी नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेकै थिए । भेरी अस्पतालका बिशेषज्ञ चिकित्सकहरुले कोरोना नियन्त्रण भएजस्तो देखिए पनि विष्फोट हुन अझै बाँकी रहेको चेतावनी दिएकै थिए । सचेतना अपनाइएन, जसका कारण कोरोनाको महामारी एकाएक फैलिएको छ । विरामी भर्नाका लागि बेड कुर्नु पर्ने अवस्था आएको छ । त्यसका लासग संक्रमित व्यक्ति कोरोना जितेर घर फर्किनु पर्ने वा मृत्यु भएमा मात्रै सम्भव छ ।
दोस्रो लहरको कोरोनामा उक्त अस्पतालमा हालसम्म १ हजार ६ सय ५६ कोरोना संक्रमित उपचारका लागि भर्ना भए । १ हजार ७८ जना डिस्चार्ज भएका छन् । हालसम्म अस्पतालमै २ सय १० जनाको मृत्यु भइसकेको छ । कोरोनाका लागि १ सय ४२ बेड क्षमताको अस्पतालमा २ सय १६ बेड बनाइएको छ । त्यो अपुग भएर अस्पताल परिसरमा टेन्ट लगाइएको हो । अस्पताल भर्ना भएका मध्ये ६० जनाको स्वास्थ्य अवस्था गम्भिर छ ।
भेरी अस्पताल नेपालगन्ज विकास समितिका अध्यक्ष प्रमोद धितालले उपचारका लागि अस्पताल आएका कसलाई पनि फिर्ता गर्न नपरोस भनेर टेन्ट बनाइएको बताए । ‘तर टेन्टको बेड पनि भरियो । अब कठिन छ । हामीसंग ठाउ“ पनि छैन,’ उनले भने,‘हामीले चाहेर पनि बेड बडाउन सक्ने अवस्था रहेन ।’ उनका अनुसार दैनिक दर्जन बढी संक्रमितहरु अस्पताल भर्नाका लागि आउने भएका कारण समस्या हुने गरेको हो ।
अस्पतालका मेडिकल विभाग प्रमुख तथा फिजिसियन डा.राजन पाण्डेले जटिल अवस्थाका संक्रमितहरु उपचारका लागि आउने गरेकाले निको हुन समय लाग्ने गरेको बताउँछन् । ‘एउटै विरामी २२÷२५ दिनसम्म उपचारका लागि अस्पतालमै छन् । जसका कारण अस्पतालको बेड खाली हुन समय लाग्ने गरेको हो,’ उनले भने,‘जटिल अवस्थाका विरामीहरु उपचारका लागि आउने गरेकाले मृत्यु संख्या पनि बढी देखिएको छ ।’ उक्त अस्पतालमा १८ टा आईसीयू बेड र भेन्टिलेटर छ ।