नेपालगन्ज । कोरोनाको संक्रमण जिल्लामा एकाएक फैलिएपछि जिल्ला प्रशासन बाँले थप एक साताका लागि निषेधाज्ञा बढाएको छ । यो संगै बाँकेमा निषेधाज्ञा जारी गरेको करिव एक महिना पुग्न थालिसक्यो । प्रशासनले पटकपटक निषेधाज्ञा थप्नुको कारण के ? ‘पछिल्लो पल्ट निषेधाज्ञा लगाउनु भन्दा पहिले नै कोरोनाको संक्रमण घरघरमा पुगिसकेको छ । होली, नयाँ वर्ष, मेला महोत्सव र राजनीतिक दलका ठूला आमसभा गरिएकाले कोरोना संक्रमण फैलिएको हो,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख तथा फिजिसीयन डा.राजन पाण्डे भन्छन्,‘निषेधाज्ञा जारी नगरिएको भए अहिलेको भन्दा झन भयाभव परिस्थिती आउथ्यो ।’ उनले दुई साताको निषेधाज्ञाले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको जनाए । यसैगरी संक्रमणको संख्या बढ्दै जाने हो भने निषेधाज्ञाको समयावधि बढाउनु पर्ने उनको सुझाव छ । ‘एकै दिन सातआठ सय संक्रमित फेला परिरहेका छन् । पीसीआर परीक्षण गरेका मध्येमा २५ प्रतिशतमा मात्रै संक्रमण देखियो भने केही खुकुलो गर्दा हुन्छ,’ उनले भने,‘तर यहाँ सयमा ८१ प्रतिशत बढीमा संक्रमण देखिन थालेपछि निषेधाज्ञा अझै बढाउन परिस्थिती आउन सक्छ ।’। फागुन र चैतको महिनामा परिक्षणको संख्या सरदर समान रहेपनि चैतको महिनामा संक्रमण पुष्टि हुने भने करीब ४ गुणा बढेको देखिन्छ ।
डीडीएमसी बाँकेका अनुसार कोरोनाको दोस्रो लहर भएयता बैशाख १ देखी जेष्ठ ३ सम्म भेरी अस्पतालमा ८५२ जना भर्ना भएका छन् । जसमध्ये ४६६ जना निको भई डिस्चार्ज भएका छन् । १५३ जनाको निधन भएको छ । त्यस्तै १२ जना बिरामीहरुलाई रिफर गरिएको छ । भेरीमा २२१ जना उपचाररत छन् ।शिक्षण अस्पताल नेपालगन्जमा ४३८ जना कोरोनाका विरामी उपचारका लागि भर्ना भएका थिए । २२७ जनाले कोरोना जितेका छन् । ५१ जनाको ज्यान गयो । १० जनालाई रिफर गरिएको छ । शिक्षण अस्पतालमा उ १५० संक्रमितहरुको उपचार भइरहेको छ ।