नेपालगन्ज । डा. राजन पाण्डे भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट प्रमुख तथा वरिष्ठ फिजिसीय हुन । उनले कोरोनाको पहिलो लहरमै धेरै कुरा सुझाएका थिए । सरकार र जनप्रतिनिधले सुनेनन् । बेवास्ता गरे । जसका कारण बाँकेमा कोरोनाको महामारी भुस झै फैलिएको छ । उनले निजी अस्पतालहरुमा उपचारको व्यवस्था नमिलाईए अवस्था जटिल हुने चेतावनी दिए । स्वास्थ्य पेजसंगको अन्र्तवार्तामा उनले भने्, सत्तामा बस्ने हुन वा प्रतिपक्षमा बस्ने नै किन नहुन तर कुनै पनि राजनीतिक दलहरुले प्राइभेट अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिडका विरामीको पहुँचमा ल्याउनु पर्छ भनेर आवाज उठाउन सकेका छैनन् । केही मेडिकल कलेजहरुले कोभिडका विरामीलाई भर्ना लिएका होलान त्यो अलग कुरा हो ।
कुनै पनि मेडिकल कलेज तथा निजी अस्पतालहरुले कोभिडका विरामीको उपचार गरेका छैनन् । यो संकटको बेलामा सरकारी तथा निजी जुनसुकै अस्पतालहरुले कोभिडका विरामीको उपचार गर्नुपर्छ । बाँकेकै सवालमा पनि आर्मी अस्पताल, प्रहरी अस्पताल र सशस्त्र प्रहरीको अस्पताल छन् । निजी अस्पतालहरुमा पनि छन्। खै ती अस्पतालहरु प्रयोगमा ल्याएको ? खै राजनीतिक दलहरुले बोलेको ? जतिसुकै कुरा गरेपनि नेपालमा नीति भन्दामाथि त राजनीति नै छ ।
राजनीतिक दलहरुले यो कुरामा बोल्नु पर्छ की पर्दैन ? पोलेसीमा हिट नगरेर बेड र अक्सिजनको पछि दौडिएर कोभिडसँग लड्न सकिदैन् । आमनागरिकहरुले पनि बुझन् जरुरी छ । कोभिडको उपचार अक्सिजनमात्रै होइन । अक्सिजन एउटा सहयोगी उपचारमात्रै हो । कोभिडका विरामीलाई अन्य क्रिटिकल कियर चाहिन्छ ।गाउँ–गाउँमा कोभिडका गम्भीर विरामीलाई अक्सिजन सुंघाएरमात्रै हुँदैन् । त्यसैले विशेषज्ञकै निगरानीमा विरामीलाई समग्र क्रिटिकल केयर चाहिन्छ । त्यसपछिमात्रै विरामीको ज्यान जोगाउन सकिन्छ । नीतिगत रुपमा मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई कोभिडका विरामीहरु भर्ना गरेर उपचार गर्न किन दवाव दिन सकिएको छैन् । भेरी अस्पतालमा एक सय ४० बेड कोभिडका लागि छुट्याइएको छ । अहिले दुई सय ५० को हाराहारीमा संक्रमितको उपचार भइरहेको छ । एक सय ४० बेडको अस्पतालमा दुई सय ५० जना गम्भीर संक्रमितको उपचार गर्दा स्वभाविकैरुपमा क्रिटिकल केयर पुग्दैन् । यस्को लागि त नीतिगत पहल हुनु पर्यो । राजनीतिक दलहरुले सरकारलाई दवाव दिनु पर्यो सबै मेडिकल कलेज तथा निजी अस्पतालहरुले कोभिडका विरामी भर्ना गर्नु पर्यो भनेर । जस्ले भर्ना गर्दैन त्यसलाई कारवाही गर्नु पर्यो । त्यसपछिमात्रै विरामीले सहज उपचारदेखि क्रिटिकल केयर पाउँछ ।
बरु त्यहाँका स्वास्थ्यकर्मीको पारिश्रमिक, अस्पतालको लगानीको सुरक्षा राज्य गर्नु पर्यो । यदी त्यसो गर्न सकियो भने अक्सिजन नपाएर, बेडकै अभावका कारण विरामीहरुले ज्यान गुमाउनु पर्ने अवस्था आउँदैन् । दुई चारवटा सिलिण्डर बाड्दैमा कोभिडसँग जुध्न सकिदैन् ।अर्को कुरा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्नु पर्यो । हप्तामा कम्तिमा ४२ घण्टा कोभिडको विरामीको उपचारमा प्रत्यक्षरुपमा खटिनु पर्यो । भन्दा तितो लाग्ला कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीलाई त अहिले दशैं लागेको छ । घरमा मज्जाले सुत्नु भएको छ । यस्तो महामारीमा जुन सुकै विधाको चिकित्सक अनिवार्य प्रत्यक्षरुपमा विरामीको सेवामा खटिनु पर्छ । अत्यावश्यक बाहेकका शल्यक्रिया स्थगीत गर्नु पर्छ । सबै सिंगो चिकित्सक तथा स्वास्थ्यकर्मी टीम कोभिड महामारीविरुद्ध होम्मिनु पर्छ । ठूला कर्पोरेट अस्पताल, मेडिकल कलेज सबैलाई नेपाल सरकारको मातहतमा राखेर कोभिड केन्द्रीत गराउनु पर्छ । उनीहरुले सरकारले निर्धारण गरेको मूल्यमा उपचार गर्नु पर्छ । अर्को कुरा खोपतिर ध्यान दिनु पर्छ । बरु जनगणना अर्को वर्ष गरे हुन्छ । तर खोप चाही घरघरमा पुगेर लगाउने वातावरण निर्माण गर्ने दायित्व राज्यको हो । जनगणना गर्दाको खर्च खोपतिर केन्द्रीत गराउन आवश्यक छ । अझैपनि बेला छ, सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर निजी अस्पताल तथा मेडिकल कलेजहरुलार्ई आफ्नो मातहतमा ल्याएर सम्पूर्ण जनशक्तिलाई कोभिडका विरामीको प्रत्यक्ष उपचार सेवामा लगाउने हो भने कोभिड नियन्त्रण गर्न सकिन्छ ।