नेपालगन्ज । कोरोनाको संक्रमण फैलिदै गएपछि बाँकेमा एक महिनादेखि निषेधाज्ञा लगाइएको छ । लामो समयको निषेधाज्ञाले जनजीवन प्रभावित भइरहेका बेला अतिआवश्यक कामका लागि बाहिर निस्किने सर्वसाधारणहरुसंग प्रहरीले अमानवीय व्यवहार गर्दै आएको सार्वजनिक भएको छ । सर्वसाधारणहरु निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनीहरुले सडकमै कान समात्न लगाएर उठबास गराउने गरेका छन् । सार्वजनिकरुपमै उठबास गराउने कार्यको अधिकारबादीहरुले निन्दा गरेका छन् । कानुनले दण्डको व्यवस्था गरेभन्दा बाहिर गएर सजाय गर्न नमिल्ने उनीहरुले जनाए । यो त हद भो । यस्तो पनि गर्न पाईन्छ । सडकमा उठबास गराउनु अमानवीय कार्य हो । कानुनले तोकेको सजाय हुनु पर्यो,राष्ट्यि मानव अधिकार नेपालगन्जका प्रमुख झंकरबहादुर रावल भन्छन्,कानुन अनुसार कारवाही गर्ने होला नि । उठबास गराउन पाईदैन सडकमा । त्यो ह्रेस्मेन्ट हो । यसको अनुसन्धन गर्छाै ।
कान समाटेर सडकमै उठबासको भिडियो सार्वजनिक भएपछि उच्च अदालत नेपालगन्जका पुर्बाध्यक्ष अधिवक्ता लोकबहादुर शाहले कान समात्न लगाएर उठबास गर्न लगाउनु अमानव्ीय काम भएको प्रतिक्रिया दिए । कुनै मान्छेले कसैको हत्या गरेको रहेनछ भने पनि उठबास गराउन पाईदैन । अमानवीय व्यबहार गर्न पाईदैनन, उनले भने । निषेधाज्ञामा घरबाट बाहिर निस्केको भन्दै जनतालाई सार्वजनिक रुपमै उठबास गराउने अधिकार वडा प्रहरी नेपालगन्जका प्रमुखलाई कसले दियो ? जबकी संक्रामक रोग ऐन, २०२० अनुसार ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु। १००।– सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यही अनुसार सजाय दिए भैगो नि । कानुन हातमा लिन मिल्छ ? तर वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खडकाले आफूले त्यस्तो कार्य नगरेको दाबी गरे । उनले भने, मबाट त्यस्तो कार्य हुनै सक्दिन ।