नेपालगन्ज । नेपालगन्जमा शनिबार ६ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ३१ जनामा संक्रमण पुष्टि भयो । शुक्रबार ५ सय ८४ जनाको परीक्षण गर्दा ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको यो अभिलेख ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा होइन । यी व्यक्ति स्वस्फूर्त परीक्षण गराउन आएका हुन् । भेरी, नेपालगन्ज शिक्षण अस्पताल र बागेश्वरी ल्याबमा स्वस्फूर्त कोरोना परीक्षण गर्न जाने बढेका छन् । समुदायमा ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ’ रोकिएको छ । कोरोना पुष्टि भइसकेका व्यक्तिको परिवारका सदस्यको समेत ट्रेसिङ गरिँदैन । जसले संक्रमण नियन्त्रणमा चुनौती छ । निषेधाज्ञा जारी गरेको एक महिना भए पनि संक्रमण नियन्त्रणमा छैन । चिकित्सक भने कन्ट्याक्ट ट्रेसिङ नगरेसम्म नियन्त्रण नहुने बताउँछन् । ‘दुई/चार महिना कोरोनाको संक्रमण बढेजस्तो, कहिले घटेजस्तो देखिए पनि समुदायस्तरबाटै नियन्त्रण गर्न केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ अनिवार्य हुन्छ । त्यो नगर्दासम्म सम्भव देखिन्न,’ भेरी अस्पतालका डा. राजन पाण्डेले भने, ‘समयमै ट्रेसिङ गर्न नसक्दा यो अवस्था आएको हो ।’
संक्रमित पुष्टि भइसकेका व्यक्तिका परिवारको समेत ट्रेसिङ हुन नसकेको उनले बताए । ‘एकै दिन हजार जना बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने लाखौंको परीक्षण गर्नुपर्छ,’ उनले भने ।
बाँकेमा दैनिक सयौं व्यक्तिमा संक्रमण पुष्टि हुने गरेकाले ट्रेसिङ सम्भव हुन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कन्ट्याक्ट ट्रेसिङ पूर्ण रूपमा बन्द भएको बताए । उनले संक्रमित व्यक्तिका परिवारमै ट्रेसिङ गर्न नसकिएको स्विकारे । ‘समुदायमा ट्रेसिङको कुरै नगर्नूस् । कोरोना पुष्टि भएका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको पनि परीक्षण गर्न सकेका छैनौं,’ उनले भने, ‘घरघरमा कोरोनाको संक्रमण पुगिसक्यो । ट्रेसिङ गरेर परीक्षण गर्न सम्भव छैन ।’ पहिलो चरणको संक्रमण देखिँदा नेपालगन्जको जोलहनपुरवार र नरैनापुर गाउँपालिका हटस्पट बनेको थियो । कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गरेपछि कोरोनाको संक्रमण नियन्त्रणमा आएको थियो । बाँकेका ८ स्थानीय सरकारहरूले पनि समुदायमा परीक्षण गर्न सकेका छैनन् ।