नेपालगन्ज । सोमबार भइरहेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले मतदान नगर्ने घोषणा गरेपछि सर्बत्र चर्चाको विषय बन्यो । उनले मतदान नगर्दा दुई पक्षीय उम्मेदवारको भोटमा कति फरक पर्ला भन्ने अंक गंणितको विषलेशष समेत धेरैले गर्न भ्याए । उनले कोरोनाको महामारीमा निर्वाचन भन्दा पनि जनताको ज्यान जोगाउनु पर्ने प्राथमिकतामा रहेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् । तर मतको अंक गणितको हिसावले भने डा. राणाको मत भने निर्णायक होईन । त्यसैले उनले निर्वाचन बाहिष्कार गर्ने वा मतदान गर्ने निर्वाचनको हिसाबले कुनै माने नराख्ने राजनीतिक बिषलेशकहरुको तर्क छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का तथा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनबाट कांग्रेसका दीर्गनारायण पाण्डेले गरी दुई जनाको उम्मेदवारी पारेको छ । राष्ट्रिय सभा सदस्य रहेका खड्का एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।
प्रदेश सांसद ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१७ जना गरी ३ सय जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली काँग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा उपेन्द्र र महन्थ पक्षीय १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशसभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ सांसद रहेका छन् । नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वलीसहित) जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेशसभामा रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख(उपप्रमुखको मतभार १८ हुन्छ । जसपा र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरु नै निर्वाचनको निर्णायक हुने बताइएको छ ।
तर नेपालगन्जका प्रमुख डा. राणाले भने राप्रपालाई यो निर्वाचनको कुनै अर्थ नरहेको बताउँछन् । उनले फेसबुक र ट्विटरमार्फतलेखेका छन्,जसले जिते पनि यसको कुनै अर्थ छैन । हामीलाई केही मतलब नै छैन । ‘अर्थहीन निर्वाचनमा सहभागी हुनु जरुरी देखिनँ । त्यसकारण मत हाल्न गइन ।’ उपनिर्वाचनका लागि बिहान ९ बजेदेखि घोराहीमा मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । मतदानका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र बनाइएको छ ।राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङ घोराहीमा जारी निर्वाचनमा प्रदेशसभा सदस्य सबै जनाको मत खसेको छ । प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका ८३ सदस्य सबैको मत खसेको छ । स्थानीय तहका प्रमुख/उपप्रमुख ८ जनाको मत खस्न बाँकी छ । स्थानीय तहका २१७ मतमध्ये २०९ मत खसिसकेको छ ।