बाँके— कोरोना भाइरस संक्रमणको केन्द्र बनेको बाँकेमा संक्रमण दर घटेको छ । दैनिक संक्रमण हुनेको संख्यामा कमी आएपछि अस्पतालमा बिरामीको चाप घटेको छ । दोस्रो लहर सुरु भएको दुई महिनामा अकासिएको संक्रमितको संख्या ओरालो लाग्दै गएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । समितिको तथ्यांकअनुसार जेठ महिनाको दोस्रो सातायता ३० प्रतिशतले संक्रमण दर घटेको छ । बुधबारमात्रै ३ सय १० जनाको पीसीआर जाँच गर्दा ९३ जनामा संक्रमण पुष्टि भएको छ । जाँच गरिएकामध्ये ३० प्रतिशत मात्रै संक्रमित भएका हुन् ।
संक्रमितको संख्या घट्ने क्रम बाँकेमा जारी छ । १० दिनअघि १ हजार ४७ जनाको पीसीआर जाँच गर्दा ५ सय ५९ जना संक्रमित भएका थिए । ५३।३९ प्रतिशत संक्रमित थिए । पछिल्लो समय लक्षणसहितका बिरामीको संख्या घटेकाले पीसीआर जाँच गराउने पनि कम हुन थालेका छन् । पछिल्लो दुई सातायता समुदायस्तरमै संक्रमितको संख्या घट्दै गएको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले बताइन् । उनका अनुसार पहिले दैनिक ८० प्रतिशतको हाराहारीमा संक्रमित देखा पर्थे । अहिले त्यो संख्यामा धेरै नै कमी आएपछि एक दिन बिराएर पीसीआर लिने गरिएको उनले बताइन् । अहिले ३०।३५ जनाको पीसीआर परीक्षण गरिँदा एकदुई जना मात्रै संक्रमित भएको पाइएको छ । यस हिसाबले समुदायस्तरमा संक्रमण नियन्त्रणमा आएको उनको अनुमान छ ।
भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डेले तुलनात्मक रूपमा संक्रमितको संख्या घट्दै गए पनि पूरै नियन्त्रण आएको भनेर आश्वस्त हुन नमिल्ने बताए । पूरै नियन्त्रण हुन अस्पतालमा ओपीडीका बिरामीसमेतलाई उपचार गर्न सकिने, बिरामीको कन्ट्याक्ट ट्रेसिङ दायरा बढाउनुपर्ने, लक्षण देखिएका सबै कोभिड बिरामीलाई सहज उपचार दिन सक्ने अवस्था भएपछि मात्रै सम्भव हुने उनले सुनाए । ईकान्तिपुरबाट