नेपालगन्ज । नेपालमा रहेका भेरिअन्टहरू Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) भएको र यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) भएको जानकारी विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जालमार्फत् दिएको छ। तर ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको बीबीसीले जनाएको छ । कतिपयले ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ। नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट “ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने” सामाचारमा दाबी गरिएको छ।
“नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको” समाचारमा लेखिएको छ।
विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन “अवगत नभएको” जनाएको छ।
ब्रिटिश पत्रिकामा गरिएको दाबीलाई लिएर नेपालका स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दुई देशका निकायबीच कोभिड-१९ सम्बन्धी सूचना आदानप्रदान हुँदै आएको छ। “हिजो [बुधवार] सम्म उहाँहरूले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन। नेपालबाट फर्केका बेलायती नागरिकमा कुनै नयाँ भेरिअन्ट नदेखिएको हामीलाई जानकारी गराइएको छ,” पौडेलले बीबीसी नेपालीसँग भनेका छन्,”मैले पनि त्यो समाचार आएको देखेपछि त्यसलाई उद्धृत गर्दै यूकेको नियामक निकायलाई के-कसो हो भनेर सोधेको छु। त्यसबारे हामी थप बुझिरहेका छौँ।”
विश्व स्वास्थ्य सङ्गठनले पनि अहिलेसम्म ‘भेरिअन्ट अफ कन्सर्न’ भनेर नेपालमा त्यस्तो कुनै नयाँ भेरिअन्ट देखिएको नभनेको प्रवक्ता पौडेलले बताए। “डब्ल्यूएचओले पनि त्यस्तो केही भनेको छैन र हाम्रो आधिकारिक जानकारीमा पनि छैन,” उनले थपे। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार जीन सीक्वन्सिङका लागि २४८ वटा नमुना सङ्कलन गरिसकिएको छ। “जीन सीक्वन्सिङको नियमित प्रक्रियाअन्तर्गत नै हामीले २४८ वटा नमुना प्रयोगशालामा पठाउने तयारी गरेका छौँ।” नेपालमा जेठ १९ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ७१ हजारभन्दा बढी पुगेको छ। नेपालमा कोभिड परीक्षण. गत ७ दिन गरिएको पीसीआर र एन्टिजन परीक्षण र पुष्टि भएका सङ्क्रमित सङ्ख्या. .तीमध्ये अहिले एक लाखभन्दा केही बढी मानिसमा सक्रिय सङ्क्रमित रहेको सरकारी तथ्याङ्क छ। कोभिड-१९ सँग सम्बन्धित कारणले अहिलेसम्म कुल ७,५५५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।