बर्दिया । भत्किएको बाटोमा कल्भट राखेर आउजाउ सहज गरिदिन मुक्त कमैयाहरु वडा पालिकामा दशौंँ पटक धाए । आफ्नो समस्या सुनाए । बाढीले भत्काई दिएको बाटोमा कल्भर्ट राखेर पानीको निकास मागे । बर्षातमा आउजाउ गर्न नमिल्ने गुनासो वडामा राखे । भत्किएको ठाउँमा कल्भर्ट नहुदां बालबालिका तथा सर्बसाधरणलाई आउजाउ गर्न उनीहरुलाई कठिनाई भएको छ । तर वडा कार्यालयमा उनीहरुको गुनासो सुनवाई भएन । अन्ततः बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ मुक्त कमैया बस्ति रामनगरका मुक्त कमैयाहरुले आफ्नै श्रमदानमा काठे कल्भर्ट बनाएका छन् । स्थानीय सामुदायिक पोखरीमा भएको काठले काठे कल्भर्ट बनाएको स्थानीय शिक्षक जिवन थारुले बताए । कल्भर्ट बनाउन काठको अभाव भएको छ । जसले गर्दा कल्भर्ट एक बर्ष मात्रै टिक्छ । उनीहरुलाई पटक पटक काठे कल्भर्ट बनाउनु पर्ने बाध्यता छ । मुक्त कमैया बस्तीका बडघर कृपाल थारुले हिडडुलका लागि काम चलाउका लागि काठको कल्भर्ट बनाएको बताउँछन् । हामीले बनाएको यो काठे पुल मुस्किलले एक बर्ष मात्रै चल्छ ।
फेरी अर्को वर्ष बनाउनु पर्छ, उनले भने, वडाले दुई वटा कल्भर्ट दिएको भए स्थायीजस्तै पुल बन्थ्यो ।
०७५ सालमा आएको बाढीले बाटो कटान गरेपछि स्थानीयहरुले ३ बर्षदेखि काठ राखेर (सांघु बनाएर) वारपार गदै आएका छन् । बर्षा लागेपछि आउजाउ गर्न समस्या हुने भएकाले मुक्त कमैयाहरुले काठे कल्भर्ट बनाएका हुन् । बर्षामा आउजाउ गर्न सबैभन्दा बढी समस्या हुने गर्छ । १२४ घरधुरी रहेको मुक्त कमैया बस्ती रामनगरमा करिब ६ सयको जनसंख्या रहेको छ । जसमध्ये बस्तीको गोला टोलका १४ घरपरिवार पारी बस्ने गर्दछन् । पुरै गाउँले नै आउजाउ गर्दा समस्या भोग्ने गरे पनि गोला टोलका स्थानीयहरु भने त्यसको प्रत्यक्षरुपमा समस्या भोग्ने गरेका छन् । स्थानीयहरुका अनुसार बर्षामा ठूलो बाढी आउने बित्तिकै उक्त ठाउँ डुवानमा पर्ने गर्दछ । जंगलको छेउमा गोला टोल रामनगर पर्छ । जगातिय, हाउपुर र रामनगरको समुदायिक वनबाट आएको पानीले बर्षामा उक्त ठाउँ डुबानमा पर्ने गर्दछ । डुबान हँुदां बाटो बिग्रिनुका साथै स्थानीयहरुको घरमा समेत पानी पस्ने गरको स्थानीयहरुको भनाई छ ।