संक्रमण जितेर खेतीपातीमा - Dastabej

संक्रमण जितेर खेतीपातीमा

वर्षा सिजन सुरु भएपछि संक्रमित र निको भएर घर फर्किएका सर्वसाधारण खेतीपातीको काममा जुट्न थालेका छन् ।


  • ठाकुरसिंह थारु, रुपा गहतराज

  • नेपालगन्ज — बाँझो खनजोत गर्दै थिए, निमोनिया देखियो । बाँकेको राप्तीसोनारी–७ सर्रीका ३२ वर्षीय रामकरन चौधरी ज्वरोले थला परे । चिकित्सकसित परामर्श गरेर कोरोना परीक्षण गराए । वैशाखको दोस्रो साता संक्रमण पुष्टि भयो । कपिलवस्तु नगरपालिका–२ रामनगरमा बीउ राख्न खेत हिल्याउँदै कृषक । कोरोनाका बिरामी पनि यतिबेला खेतमा काम गर्दैछन्। घरमै आइसोलेसनमा बसेर खेतीपातीको काममा व्यस्त हुन थालेका उनी अहिले संक्रमण मुक्त भइसके । रोपाइँका लागि धानको ब्याड तयार गरिसके । सात जनाको परिवारले १० कट्ठामा खेती गर्दै आएको छ । ‘कोरोनाले आर्थिक भार बढायो । आफैं बिरामी परेपछि कमाउने कोही भएनन्,’ उनले भने, ‘अब खेतीको भरोसामा छौं ।’ खेतीपातीबाहेक उनी अटो रिक्सा चलाउँछन् । निषेधाज्ञा लागू गरिएपछि रिक्सा पनि गुड्न छाड्यो । ‘नगद कमाइ नभएपछि खाना जुटाउन समस्या छ,’ उनले भने ।खजुरा–२ की ६५ वर्षीया पार्वती खड्कालाई गत वैशाख २६ मा कोरोना संक्रमण देखियो । खजुरा गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा १२ दिन बसिन् । त्यतिबेला उनलाई रोगभन्दा खेतबारीको काम सम्झेर चिन्ता लाग्थ्यो । अहिले २ बिघा ४ कट्ठामा रोपाइँ गर्न ब्याड राखिसकेकी छन् । ‘एक हप्ता भयो ब्याड राखेको,’ उनले भनिन्, ‘रोगभन्दा खेतीपातीको चिन्ता छ । वर्षभरिको खाना जोहो यसैबाट हुने हो ।’ कोहलपुर–१४ चित्रानगरकी ५३ वर्षीया अनिता पुन कोरोना संक्रमण भएर निको भएकी छन् । गत वैशाख २१ मा अस्पतालबाट डिस्चार्ज भएपछि खेतीपातीको काममा व्यस्त छिन् । उनलाई खेतीको चिन्ताले सताएको छ । एक बिघा जमिनमा उनले खेती गर्दै आएको वर्षौं भइसक्यो ।

    ‘हातमुख जोड्न खेती त गर्नै पर्‍यो । रोग त यस्तै हो,’ उनले भनिन्, ‘ब्याड राख्यौं, अब मलको जोहो गर्दै छौं ।’ खजुरामा ७ सय ८० जनामा संक्रमण देखिएकामा ७७ जनाबाहेक सबै निको भएर घर फर्केको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताए । ‘धेरै जना निको भएर घर फर्कनुभएको छ । खेती गर्दै हुनुहुन्छ,’ उनले भने, ‘खेतीपातीको समय भएकाले सामाजिक दूरी कायम गरेर स्वास्थ्य हेरेर काममा लाग्न सुझाएका छौं ।’ कोरोना संक्रमण सुरु हुँदा सर्वसाधारण एकले अर्कोलाई भेट्न डराउँथे । नजिकका आफन्त पनि आउजाउ गर्दैनथे । धेरैबीच भेटघाट नभएको महिनौं भयो । छिमेकी पनि घरमा आउन डराउँछन् । तर, वर्षा सिजन सुरु भएपछि संक्रमित र निको भएर घर फर्किएका सर्वसाधारण खेतीपातीको काममा जुट्न थालेका छन् । उनीहरूलाई रोगभन्दा पनि भोकको चिन्ता छ । समयमै खेती नगरे वर्ष दिन मुख जोड्न समस्या हुन सक्छ । कतिपयले लक्षण देखिएर पनि कोरोना परीक्षण गराउन छाडेका छन् ।लामो समयसम्म आइसोलेसनमा बस्दा खेतीपातीको समयमा असर पुग्न सक्ने डर किसानलाई छ । राप्तीसोनारी–७ सर्रीका ५३ वर्षीय टीकाराम चौधरीलाई पनि वैशाखको पहिलो साता कोरोना संक्रमण देखियो । सुरुमा सामान्य खोकी लागेकाले उनी डराएनन् । जब खकारमा रगतका छिटा देखा पर्न थाले, उनी डराए । संक्रमणपछि उनी घरकै आइसोलेसनमा दूरी बनाएर बसे । सात जनाको परिवारमा उनलाई बाहेक कसैलाई कोरोना देखिएन । ‘परिवारले मास्क लगाउन कर गर्थे तर, कहिलेकाहीं नलगाएर त्यसै हिँडियो, त्यसैले संक्रमण देखियो,’ उनले भने, ‘सानो लापरबाहीले परिवार नै जोखिममा पारियो ।’ हाल उनी निको भइसकेका छन् । बाँकेमा अहिले संक्रमण घट्दै छ । सर्वसाधारण कोरोना संक्रमण भुल्दै खेतीपातीमा जुट्न थालेका छन् । वर्ष दिनको खेतीले छाक टार्दै आएका उनीहरू बीउ र मलको जोहोमा लागेका छन् । लामो समयदेखिको लकडाउन र निषेधाज्ञापछि कोरोनाको संक्रमण कम भएको भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति डा। संकेत रिसालले बताए । ‘निषेधाज्ञाले भीड हुन दिएन । सामाजिक दूरी बढायो । जसका कारण संक्रमण कम देखिनु स्वाभाविक हो,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि सबैभन्दा ठूलो कुरो सामाजिक दूरी कायम गर्नु नै हो ।’

     

  • २५ जेष्ठ २०७८, मंगलवार १०:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार