नेपालगन्ज । निषेधाज्ञा, सचेतना र परीक्षणले सहरी क्षेत्रमा घटे पनि लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रमा संक्रमित बढेका छन् । गाउँमा परीक्षणको दायरा नबढाइएकाले संक्रमण बढेको विज्ञहरूले बताए । गाउँका घरघरमा बिरामी छन् । यस्ता बिरामीलाई कोरोना संक्रमण होरहोइन पत्ता लगाइएको छैन । अहिले गाउँमा रहेका मेडिकलमा घुइँचो लाग्ने गरेको छ । स्वास्थ्य जटिल बनेमात्रै अस्पताल पुग्छन् । ‘सर्वसाधारण कोरोनासित डराउनै छाडे । पहिलेको जस्तै भीडभाड छ,’ कोहलपुरका नारायण चौधरीले भने, ‘गाउँमा सावधानी छैन । मास्क नलगाई दौडिरहन्छन् ।’ बस्तीमा कोरोनासित मेल खाने लक्षणका बिरामी थुप्रै छन् ।
बाँकेको राप्ती सोनारीका हेमन्त चौधरीले गाउँमा ज्वरोका बिरामी भए पनि कोरोना परीक्षण नभएको बताए । ‘ज्वरोका बिरामी धेरै छन् तर परीक्षण छैन, नजाँचेपछि केका बिरामाी हुन्, कसरी पत्ता लाग्छ रु’ जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले गाउँमा शंका लागेका व्यक्ति स्वास्थ्य संस्थामा आएमात्रै एन्टिजेन परीक्षण गरिने बताए । लक्षण देखिएका तर स्वास्थ्य संस्थामा सम्पर्क नआएकाको परीक्षण नगरिएको उनको भनाइ छ । भेरी अस्पतालमा ८८ जना संक्रमितको उपचार भइरहेको छ । वरिष्ठ फिजिसियन डा। संकेत रिसालले कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्ने बताए । उनका अनुसार संक्रमण कम देखिए पनि खतरा टरेको छैन । ‘परीक्षणको दायरा नबढाएसम्म संक्रमणको अवस्था भन्न सकिँदैन । त्यसका लागि परीक्षण बढाउनै पर्छ,’ उनले भने, ‘संक्रमण ५ प्रतिशतमा नझर्दासम्म खतरा रहन्छ ।’