रैतीका सारथीः राधाकृष्ण – Dastabej

रैतीका सारथीः राधाकृष्ण

मलाई कांग्रेस भन्नेहरु कांग्रेसी हुन सरकार । बमहरु नेपालगन्ज जेलको पर्खालमा लगाएर २०१६ चैत्र १६ गते बिस्फोट गराए।


  • ठाकुरसिंह थारु

  • क्याप्सन ः  बर्दिया गुलरिया नगरपालिकाको चोकमा रहेको प्रजातन्त्रिक आन्दोलनका योद्धा स्वर्गीय राधाकृष्ण थारु चोक ।

    बर्दियाको गुलरिया नगरपालिकाको बीच चौरहामा एउटा शालिक ठड्याईको छ । कालो रंगको अर्ध कदको उक्त शालिकको इतिहास बारे धेरै बेखबर छन् । घाम, पानी खेप्दै आएको शालिकको संरक्षण समेत हुन सकेको छैन । तर, उक्त शालिकको कथा खोतल्दै जाने हो भने प्रजातान्त्रिक आन्दोलनका ईतिहास खुल्दै जान्छन् । उनी हुन जननेता स्वर्गीय राधाकृष्ण थारु ।बुबा बाजेका आधा दर्जन गाउँमा जमीन्दारी थियो । बर्दियाको मोतीनगरसमेत गरी थप दुई÷चार मौजा थिए । तर, सभ्रान्त र प्रतिष्ठित परिवारमा जन्मेका राधाकृष्ण थारु जमीन्दारी रोजेनन् । रैतीहरुमाथि शासन गर्न चाहेनन् । बरु पश्चिम तराईका बाँके र बर्दियाका रैतीहरुको सारथी बने । जमिन्दारीको बिरोधमा उत्रिए । राणाहरुको जगजगीको खरोरुपमा विपक्षमा उभिए । राणाहरुको बिरुद्वमा लागेको भन्दै निर्वासन भए । तर, पनि उनी प्रजातन्त्रका पक्षमा लडिरहे, जीवनभर । पश्चिम तराईमा राणा बिरोधीको आन्दोलनको पहिलो सुरुवती उनैले गरेका थिए । नेपालगन्जको गोश्वरा अड्डा कब्जा, नेपालगन्ज कारागारमा बम विष्फोटदेखि बर्दियाको राजापुर कब्जा उनकै नेतृत्वमा भएको थियो । राधाकृष्णको पहिलो लडाई थियो—रैतीहरुका लागि जग्गा । त्यसैले उनी किसानहरुका लागि निकै लोकप्रिय थिए । केहीले उनलाई किसान नेताका रुपमा पनि चित्रण गरेका छन् । राणा शासन कालको पुरानो मुलुकी ऐनमै बर्दियाको किसानहरुको तर्फबाट ‘राधाकृष्ण थारुको सुझाव अनुसार’ भूमिसुधार गरिएको उल्लेख छ । राणाबिरोधि थालिएको सशस्त्र आन्दोलनमा सहभागि भए । आठ वर्ष निर्वासन भए । २०१५ मा मुलुकमा भएको प्रथम महानिर्वाचनमा उनी निर्वाचित भई पहिलो प्रतिनिधिसभाका सांसद भए । त्यति बेला उनले ८ हजार ९ सय ४५ मत ल्याएर बिजयी भएका थिए । २०१६ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भए । तत्कालिन कांग्रेस सभापति बिपी कोइरालाले उनलाई मन्त्री बन्न प्रस्ताव गरे । तर, उनले दांगका प्रशुनारायण चौधरीलाई मन्त्री बनाई
    दिए ।
    बि.स. १९६५ मा राधाकृष्ण थारु बर्दियाको गुलरिया गाउँ पञ्चायत ५ कोठिया गाउँमा जन्मिएका राधाकृष्ण बि.स. २०४५ मंसिर २५ गते स्वर्गबास भए । जीवनभर लोकतन्त्र र समाजबादका पक्षमा लड्ने बीर योद्वाको कदर गर्दै गुलरिया नगरपालिकाको मुख्य चोकमा उनको शालिक राखिएको छ । चोकको नामाकरण राधाकृष्ण थारु नामाकरण गरिएको छ । पश्चिम तराईको एक होनहार प्रजातान्त्रिक योद्वाको इतिहास नयाँ पुस्ताले बिर्सिएको छ ।

    भारतका तत्कालिन उपराष्ट्रपति डा. सर्वपल्ली राधा कृष्णनका साथमा राधाकृष्ण थारु ( २०१६ मा भारत भ्रमणमा गएका बेला ।

    राजनीतिक संघर्ष
    बि.स. १९६५ मा राधाकृष्ण थारु बर्दियाको गुलरिया गाउँ पञ्चायत ५ कोठिया गाउँमा जन्मिदा जहानिया निरकुंश राणाशासन काल थियो । बाजे खुसाल महतो जमीन्दार थिए । खुसाललाई ‘महतो’ पदबी तत्कालीन राणाहरुले दिएका थिए । भवानीदिन थारुको जेठो छोराका रुपमा जन्मिएका थिए । गाउँमा बिद्यालय थिएन । भवानीदिनले भारतको नानपाराबाट शिक्षक मगाएर घरमै पढ्ने व्यवस्था मिलाए । प्रारम्भिक अध्ययनपछि उनी पढाईका लागि बहराईच पुगे । त्यति बेला भारतमा भारतीय स्वतन्त्रता आन्दोलन चर्किदै थियो । महात्मा गाँधी, जवहरलाल नेहरुको अंग्रेजबिरुद्वको सत्यग्राहबाट उनी निकै प्रभावित भए । र, भारतमा अंग्रेजबिरुद्वको आन्दोलनमा सहभागि भए । त्यहि बेला राधाकृष्ण २२ वर्षका थिए । अंग्रेजबिरुद्वको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तत्कालिन नेता जवहरलाल नेहरुले भारतमा लोकतन्त्र आएपछि त्यहीको नागरिक बनेर बस्न आग्रह गरेका थिए । ‘तर, उहाँले मान्नु भएन । नेपालमा राणाहरुले शासन गरिरहेको र गरिब किसानहरु अत्याचारमा परेको जवाफ नेहरु जी लाई दिनु भयो । उहाँ राणाबिरुद्व संघर्ष गर्ने भन्दै नेपाल फर्किनु भयो,’ प्रजातान्त्रिक नेता स्वर्गीय राधाकृष्णका भाई सोमप्रसाद थारुले लेखेका छन्,‘भारतमा अंग्रेजबिरुद्वको संघर्ष सफल भएपछि उहाँमा नेपालको राणा शासनको संघर्ष उत्रिन थप हौसला मिलेको थियो । र, गाउँ फर्केर किसान आन्दोलनमा लाग्नु भयो ।’ राधाकृष्णको राजनीतिक यात्रा कपीमा उतारेका सोमप्रसादको पनि मृत्यु भइसकेको छ । उनले आफ्नै अक्षरमा दाजुको राजनीतिक यात्रा लेखेको कपी सुरक्षित छ । किताब प्रकासन भने हुनसकेको छैन ।

    भारतबाट फर्किएपछि राधाकृष्णले इस १९३७ मा गुप्ती प्रजापरिषद संस्था स्थापना गरे । राजा त्रिभुन थिए । राणाहरुको जगजगी थियो । बाँके र बर्दियालाई राणाहरुले आफ्नो ठान्थे । जंगबहादुर राणाले नयाँ मुलुकका रुपमा पाएको जिल्ला भएका कारणले पनि राणाहरुको दमन चरण थियो । राणाहरुले किसानलाई रैतीका रुपमा व्यवहार गर्थे । बेथबेगारी (निशुल्क श्रमदान) राणाहरुले लगाउँथे । त्यसको बिरोध राधाकृष्णले गर्दा राणाहरुको निशानामा पर्थे । तर, उनी थाकेनन्, रैतीहरुलाई जग्गा दिलाउने अभियानमा अहोरात्र खटिरहे । बि.स. २००१ मा बर्दियाको मैनापोखरका जोधिराम साधुको घरमा भण्डारा चलिलरहेको थियो । राधाकृष्णले हजारौ मानिसहरु जम्मा भएको भिडलाई सम्बोधन गरे । ‘किसान साथीहरु । खेती गर्नका लागि नम्बर जग्गा हुनुप¥यो । कुलो, खानेपानी र सडक हुनु प¥यो । छोराछोरीलाई पढाउन बिद्यालय चाहियो । औषधि गर्न अस्पताल खुल्नु पर्छ । सबै जनतालाई उचित न्याय मिल्नु पर्छ,’ नेता राधाकृष्णको सम्बोधन सोमप्रसादले लेखेका छन्,‘तपाई रैतीहरुसंग बस्ने जग्गा र खेतीका लागि जमिन छैन भने मानजली (माल अड्डा) को के काम ? पहिले बर्दियाका रैतीहरुको नाममा जग्गा दर्ता हुनु प¥यो । दरबारमा बिन्ती पनि चढाईयो । तर, केही सुनुवाई हुन सकेको छैन ।’ बि.स. २००२ मसिरमा पदमशम्सेर श्री ३ महराज बने ।

    जनता र रैती प्रति  उनी उदारभावका देखिए । राधाकृष्णले फेरि पनि बिन्तीपत्र चढाउने योजना बनाए । त्यसका लागि गोप्यरुपमा रैती र जनताको सही छाप लिने अभियान चलाइएको थियो । उक्त अभियानमा सर्जुप्रसाद, बिक्रम, दिलिपत थारु लगायतका जमीन्दारहरुले साथ दिए । साधाकृष्णलाई साथ दिएको भन्दै ति जमीन्दारहरुलाई मोहनशम्सेर राणाले पक्राउ गरी जंगी अड्डामा पु¥याए । धम्काए । काराबासको धम्की दिए । गालीगलौज समान्य थियो । तिमीहरु कांग्रेसीको बहकाईमा लागेका छौ भन्दै धम्काए । त्यो कुरा पदमशम्सेरसंग पुग्यो । उनले राधाकृष्ण र सहयोगी आन्दोलनकारीलाई दरबारमा हाजिर गराए । सुनुवाई सुरु गरियो । मोहन शम्सेरले यिनीहरु कांग्रेसी हुन । किसान र रैतीलाई भड्काए । सजाय हुनु प¥यो सरकार भन्दै बिन्ती चढाए । जवाफमा राधाकृष्णले भने—हामीलाई कांग्रेस भन्ने मान्छे कांग्रेस हो सरकार । हामी त किसानहरुको वारेश बनेर बिन्तीपत्र चढाउन आएका छौँ । नभन्दै उनले पदमशम्सेरलाई बिन्तीपत्र दिई हाले । तर, उनका बिरुद्व दरबारमा पहिले नै उजुरी पुगिसकेको रहेछ । राधाकृष्ण कांग्रेसी हो । सजाय दिनु पर्छ सरकार भनिएको थियो । बिन्तीपत्र चढाएर फर्किसकेका राधाकृष्णसहितका नेताहरु काठमाडौंको रक्तकाली भुरुङखेल टोलमा डिठ्ठा भद्रमान चित्रकारको घरमा थिए । १६ जवान आठ पहरिया डिठ्ठालगायतका टोलीले गिरफ्तार गरिएको दास्ताबेज अझै सुरक्षित छ ।

    रैतीका नायक

    राधाकृष्ण किसान नेतामात्रै नभई रैतस्का नायक थिए । उनले निरन्तररुपमा रैतीका पक्षमा उभिरहे । उनले रैतीहरुलाई जग्गाधनि बनाउने निरन्तर दबाव दिएपछि बि.स २००४ सालमा रैती जनताहरुको गुनासो सुन्न र जग्गा नापीका लागि राणाहरुले बडाहाकिम ब्रहमशम्सेरको नेतृत्वमा टोली बर्दिया पठाइयो । टोलीका सदस्यमा शारदा शम्सेर र मोहन शम्सरेका कान्छा भाई विजयशम्सेर थिए । ‘उक्त टोली समक्ष फेरि पनि राधाकृष्णले जनता र रैतीहरुको नाममा जग्गा दर्ता नहुँदा निकै पीडा भएको छ । सरकार जमीन्दारहरुले रैतीमाथि क्रुरताका साथ (जेथबेगर) फ्रिमा काम गराउदै आएका छन् । जग्गाा दर्ता गर्नै पर्छ,’ राधाकृष्णले जग्गा नाी गर्न आएका टोलीलाई भनेका थिए । उनको पहलमा बर्दियाको ८१ हजार बिगहा जग्गा नापी भयो । ति मध्ये ५४ हजार बिगहा जमिन्दारका देखिए । २७ हजार विगहा जग्गा रैतीले पाए । २७ हजार जिगहा जग्गा जमीन्दारले पाए । ‘खासमा उहाँ त्यतिबेला कांग्रेस हुनुहुन्थेन । तर, उहाँ जग्गा आन्दोलनमा निरन्तर लागि रहनु भयो । रैतीको नाममा जग्गा हुनु पर्छ भन्ने आन्दोलनबाटै उहाँ प्रजातन्त्रिक आन्दोलनमा होमिनु भो,’ राधाकृष्ण चौधरीसंग लामो संगत गरेका बर्दियाको इतिहासका जानकार दिनेश श्रेष्ठ भन्छन्,‘उहाँ रैती र किसानमा नायक हुनुहुन्थ्यो । गरिबका पक्षमा सधै संघर्ष गरिरहनु भयो ।’

    जग्गा रैतीका नाममा नापी गरेर टोली फर्केपछि फेरि ज्यादती सुरु भयो । जमीन्दारहरुले फेरि जग्गा खोस्न थाले । उनीहरुले अनेक जालझेल गर्न थाले । राधाकृष्ण फेरि बिन्तीपत्र लिएर काठमाडौं पुगे । बिन्तीपत्रपछि बासुदेव प्याकुरेलको नेतृत्वमा फेरि अधिकार सम्पन्न कमिसन नै पठाइयो । उक्त कमिशनले २५ हजार विगहा जग्गा किसानको नाममा दर्ता नै गरिदियो । उनले जेठ बेगार नै बन्द गराई दिए । जमीन्दारहरु क्रुढ बन्दै गए । उनको बिरुद्वमा राणाहरुसंग जमीन्दारहरुले चुक्ली लगाई रहे । जसका कारण राणा शासनको तारो बने उनी ।

     बर्दिया गुलरियाका दिनेश श्रेष्ठले उनकै घरमा खिचेको राधाकृष्ण थारुको तस्बिर ।

    निर्वासन

    २००७ सालमा मुलुकमा प्रजातनत्र स्थापना भएपछि राधाकृष्ण रैती र किसानका पक्षमा थप सशक्त भएर अगाडि बढिरहे । अनौठो के भने त्यतिबेलासम्म उनी कांग्रेस थिएनन् । तर, राणा शासकहरुले उनलाई कांग्रेसी देख्न थाले । त्यसअघि बि.स. १९९७ माघ १५ गते मध्यरातमा शोभा भगवती , बिष्णुमति र भद्रमतीका बीचमा दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानियो । धर्मभक्त र शुक्रराज शास्त्रीलाई फाँसी दिएपछि उनी क्रुढ बने । त्यहि समयमा राधाकृष्णलाई पनि राणा सिपाहीले खोज्न थाले । उनी भागेर जंगल पसे । ‘१५ दिनसम्म जंगलमा जंगली फल खाएर बिताउनु भो । अनि कांग्रेसका नेताहरुसंग सम्पर्क बढाउन थाल्नु भो,’ सोमप्रसाद लेख्छन्,‘त्यसपछि उहाँ राणा शासन अन्त्य गरी बहुदल स्थापनाका लागि प्रतिज्ञा गर्नु भयो ।’स्थापना भएको प्रजातन्त्र मस्न अनेकथरी जलझेल भने जारी थियो । २०१७ साल पौष १ गते प्रजातन्त्र खोसियो । राजा महेन्द्रले कु गरी शासनसत्ता आफ्नो मुठ्ठीमा लिएका थिए । २०१७ माघ १२ गते बसेको नेपाली कांग्रेसको आपतकालिन बैठकले देशभरी सशस्त्र कारवाही गर्ने निर्णय ग¥यो । राधाकृष्ण चुप लागेर बस्ने स्वभावका थिएनन् । त्यसपछि उनी सशस्त्र आन्दोलनका लागि भारतमा राजनीतिक निर्वासनमा गए । ‘बारेष्ट जारी भयो । उहाँको घरभित्रबाट सेफ उठाएर लगियो । जग्गाजमिन जायदाद रोक्का गरी लिलाममा चढाउने सूचना प्रकाशित भयो । अपार माया गर्ने जनताका नेताको जग्गा लिलाम बोल्ने कोही आएनन्,’ राधाकृष्णसंग संगत गरेका दिनेश श्रेष्ठ भन्छन्,‘यसैबाट पनि जनताले उहाँलाई कति माया गर्दा रहेछन् भन्ने पुष्टि हुन्छ ।’उनले राधाकृष्ण थारु बारे बर्दिया, जमीन्दारी, नेपाली कांग्रेस र जननेता राधाकृण थारु पुस्तकसमेत लेखेका छन् । राधाकृष्ण सुरुमा बाँके—बर्दियाको सीमा भारत बहराईच जिल्लाको नानपारामा बसे । त्यहाँबाट दुबै जिल्लामा सशस्त्र आन्दोलन हाक्थे । राजा महेन्द्रले २०२५ कार्तिक १४ गते आममाफी दिएपछि नजरबनदीबाट बीपी कोइराला, गणेशमान सिंह, सुर्यप्रसाद उपाध्याय लगायतका नेताहरु छुटे । र, उनीहरु पनि भारत निर्वासनमा गएका थिए ।

    जेल कब्जा

    नेपाली कांग्रेसका कार्यकर्ताहरु नेपालगन्ज जेलमा राखिएका थिए । ति मध्ये एक थिए भागीरथ बर्मा । २०१७ पुस १ गतेपछि उनीहरु बन्दी बनाइएका थिए । बर्माले अन्य बन्दीहरुलाई साथमा लिई जेल तोडेर निस्किने र जेल गारदको हतियार लिई भेरी अन्चलको तत्कालिन प्रशासकीय अड्डा बाँके गोश्वारा बब्जा गर्ने गुप्त योजना राधाकृष्णले बनाए । उनको संघर्ष बारे पुस्तक प्रकाशन गरेका श्रेष्ठ सम्झिन्छन्,‘त्यसका लागि गुप्त तरिकाले नेपाली कांग्रेसको रुपैडिहा सम्पर्क स्थानमा पठाउनु भयो । यो पत्र दानबहादुर सिंह मार्फत राधाकृष्णलाई प्राप्त भयो । त्यसपछि उहाँ योजना कार्यान्वयन गर्न चाँजोपाँजो मिलाउनु भयो । तुरन्तै भागीरथको पत्रको जवाफ फर्काउनु भयो । समयको प्रतिक्षा गर्नुस ।’ श्रेष्ठले उक्त घटना पुस्तकमा पनि समेटेका छन् ।

    त्यसपछि केही दिनमै राधाकृष्ण थारु र दानबहादुर सिंहले दुई थान शक्तिशाली बम (८०० नं. को डाइनामेट) र यसलाई बिस्फोटन गर्ने बिधि समेत बनाइर पत्र समेत लेखि गुप्तचार तरिकाबाट नेपालगन्ज जेलभित्र भागीरथ बर्मालाई पठाइयो । जुन बमहरु नेपालगन्ज जेलको पर्खालमा लगाएर भागीरथ बर्माले २०१६ चैत्र १६ गते बिस्फोट गराएका थिए । पर्खाल भत्कियो तर गोश्वारा कब्जा भने हुन सकेन । त्यसअघि उनकै नेतृत्वमा बर्दियाको राजापुर कब्जा भएको श्रेष्ठ सुनाउँछन् ।

    नेपाल—भारतकै लोकप्रिय

    अंग्रेज शासनबिरुद्व भारतमा चलिरहेको सत्यग्राहमा सघाएका कारण उनलाई भारतीय नेताहरु जवहरलाल नेहरुलगायतका प्रीय थिए । राणाबिरुद्व चलेको आन्दोलनकै क्रममा उनको बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुसंग चिनजान भएको थियो । उनको काम गराईले तत्कालिन कांग्रेसका नेताहरुका प्रीय बनेका थिए । ‘राधाकृष्ण चौधरीलाई मैले २००७ मा चिनेको हो । त्यति बेलाको क्रान्ति देखिनै उहाँ बाँके र बर्दिया दुबै जिल्लाको एक कर्मठ नेताका रुपमा चिनिनु भएको थियो । किसानहरुको हितको उहाँ बास्ताविक संरक्षक र प्रवक्ता बनेर जीवनको अन्तसम्म रहनु भयो,’ २०५२ मंसिर २५ गते कांग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले पठाएको हार्दिक श्रद्धान्जलीपत्रमा उल्लेख छ ।

     

     

     

     

     

     

  • २६ जेष्ठ २०७८, बुधबार १४:१९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु