नेपालगन्ज । बाँकेमा कोरोनाको संक्रमण घटेजस्तो देखिए पनि संक्रमणको चेन बे्रक नतोडिएपछि सोमबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा बढाइएको छ । बाँकेमा हाल संक्रमण दर २५ देखि ३० प्रतिशतसम्म रहेको चिकित्सक बताउँछन । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना संक्रमणको ‘चेन बे्रक’ तोडिन संक्रमण दर ५ प्रतिशतमा झर्नु पर्छ । करिव दुई महिनादेखि लगातार निषेधाज्ञा लगाईए पनि कार्यान्वयन गरिएको छैन । बाँकेमा कोरोनाको दोस्रो लहरमा संक्रमित दर ८३ प्रतिशत पुगेको थियो । कोरोनाको चेक ब्रेक तोड्न स्थानीय प्रशासनले दुई महिनादेखि निषेधाज्ञा लगाएको छ । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले निषेधाज्ञाकै कारण संक्रमण घटेको बताए । तर लापरवाहीका कारण संक्रमण फैलिन सक्ने चिन्ता बढेको हो ।भेरी अस्पतालमा अझै पनि ७० कोरोना संक्रमित विरामीहरु उपचारकै क्रममा छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा बढाइएको बताए । बाँकेमा निषेधाज्ञा कार्यान्वयन भएको छैन । बजार खुलेजस्तै छ । हिडडुल गर्नेहरुको भिड छ ।