महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।’कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ । पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्यो । महाशाखाका अनुसार काठमाडौंमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।