नेपालगन्ज । बाँके र बर्दियाका स्थानीय सरकारहरु नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न तिब्र तयारीमा जुटेका छन् । केही पालिकाहरुले एक दुई दिनमै नीति तथा कार्यक्रम ल्याउने भएका छन् । असार १० गते भित्रै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक पर्ने बाध्यता रहेका स्थानीय सरकारहरु तयारीमा जुेटका हुन । स्थानीय सरकारहरुले यस वर्ष पनि गत आर्थिक वर्षजस्तै कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट उत्पन्न बेरोजगारीको समस्यालाई सम्बोधन गर्ने खालको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । गत वर्ष गरिएको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण कोष स्थापना र कोरोनाको महामारीपछि विदेश र नेपालका विभिन्न शहरबाट घर फर्किएका युवाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रमलाई प्राथमिकतामा पारिएको थियो । त्यसका लागि १० करोडसम्मको बजेट प्रस्ताव गरिएको थियो । बाँके बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले एकदुई दिनमै नीति तथा कार्यक्रम ल्याउने जनाए ।
लकडाउनका कारण कतिपय स्थानीय सरकारले आन्तरिक स्रोतका रुपमा रहेको कर उठ्न नसकेको भन्दै गत आर्थिक वर्षभन्दा कम बजेट प्रस्ताव गरेका थिए । बाहिरबाट घर फर्किएका बेरोजगार युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना ल्याइएको थियो । यस वर्ष पनि कृषिमा लगानी, पालिका स्तरिय अस्पताल, स्वास्थ्यचौकीको स्तरउन्नती, सामुदायिक बिद्यालयको विकासका कार्यक्रमहरु नीति तथा कार्यक्रममा पर्ने बिश्वास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष आधा बजेट कम ल्याएको थियो । उसले आर्थिक वर्षका लागि १ अर्ब ४८ करोड बजेट प्रस्ताव गरेको थियो । त्यसअघिको आर्थिक वर्षमा २ अर्ब ५८ करोड ल्याएको थियो । नयाँ आर्थिक वर्षका लागि उपमहानगरले कोरोना कारण पहिलेजस्तो आकारको बजेट ल्याउनेमा शंका देखिएको एक अधिकारीले जनाए ।
जानकी गाउँपालिकाले ५९ करोड ५६ लाख, कोहलपुर नगरपालिकाले ८६ करोड, खजुरा गाउँपालिकाले ७६ करोड ३६ लाख, राप्ती सोनारी गाउँपालिकाले ७२ करोड, बैजनाथ गाउँपालिकाले ६१ करोड १७ लाख, नरैनापुर गाउँपालिकाले ५५ करोड बराबरको बजेट ल्याएका थिए ।
बर्दियाको सबैभन्दा पुरानो गुलरिया नगरपालिकाले पनि ०७७÷७८ का लागि करिव ३ करोड बजेट प्रस्ताव गरेको थियो । तर कोरोनाका कारण उसले ७२ करोड २८ लाख बजेट बिनियोजन गरिएकोमा ६९ करोड ६६ लाख बजेट झरको थियो । यो वर्ष पनि पहिलेजस्तो ठूलो आकारको बजेट आउने सम्भावना कम छ ।
ठाकुरबाबा नगरपालिकाले ६२ करोड, बारबर्दिया नगरपालिकाले सामाजिक सुरक्षा भत्ताबाहेक ७० करोड ९० लाख, बाँसगढी नगरपालिकाले ७० करोड ९० लाख, राजापुर नगरपालिकाले ८६ करोड ४६ लाख, मधुवन नगरपालिकाले ७४ करोड बजेट प्रस्ताव थिए । ति सबै पालिकाले प्रस्तुत गरेको बजेट गएको आर्थिक वर्ष भन्दा कम थियो । पालिकाहरुले कम्तिमा पनि आन्तरिक स्रोतहरुबाट कम्तिमा ४ करोड कर उठ्ने लक्षय राखे पनि कोरोनाका कारण आधाभन्दा कम कर उठेको छ ।