रोल्पा— रोल्पा नगरपालिका– ९ ह्वामा गाउँका टीकासिंह बूढामगरको घरमा पहिरो खस्दा एकै परिवारको तीनको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकासिंहकी आमा ८६ वर्षकी कर्मिता, बुहारी १८ वर्षकी सुशीला र छोरी १५ वर्षकी श्यामकलाको मृत्यु भएको हो । मंगलबार राति उनको घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोमा परी टिकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षका छोरा शक्तिमान घाइते भएका छन् । घाइतेमध्ये स्वास्थ्य अवस्था गम्भीर टीकासिंह र छोरा शक्तिमानलाई हेलिकप्टर उपचारका लागि बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाए । पहिरो टीकासिंहको दुई तले घरमा खस्दा भत्किएको छ । सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर टाढा पर्ने उक्त घटनास्थल लिवनस्थित वागेश्वरी माध्यमिक विद्यालय नजिकै पर्छ ।