संकटमा सेवामै रमाएका जोडी – Dastabej

संकटमा सेवामै रमाएका जोडी

कोरोना महामारीका दुई वर्षयता दिनरात व्यस्त उनीहरु संक्रमण व्यवस्थापनको जिम्मेवारी पूरा गर्न कटिबद्ध छन्


  • मधु शाही

  •  

    बाँके— ‘सरकारी काम, कहिले जाला घाम’ आहान बाँकेका जनस्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठको हकमा मेल खाँदैन । पेसाअनुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने हो । उनी चौबीसै घण्टा सेवामा खटिन्छन् । कोरोना महामारीका दुई वर्षयता उनी दिनरात व्यस्त छन् । संक्रमण व्यवस्थापन जिम्मेवारी पूरा गर्न कटिबद्ध छन् । गत वर्ष उनलाई ‘कोभिड हिरो’ को राष्ट्रिय सम्मान प्रदान गरियो । उक्त सम्मानपछि केही समय थकान मेट्ने मुड बनाएका थिए । तर, लगत्तै दोस्रो लहर सुरु भएपछि व्यस्त भए । यसपटक जिम्मेवारी गम्भीर र संवेदशील थियो । यो अवधिमा ६ महिना सरुवा भएर बर्दिया गए । त्यहाँ पनि उत्कृष्ट काम गरे । ‘बेड नपाउनेको समस्या सुल्झाउन सजिलो थिएन,’ उनले भने, ‘मलाई चुनौती मन पर्छ ।’दोस्रो कोरोना लहरमा बाँकेमा एउटा बिरामीको मृत्यु भएपछि अर्को बिरामीले बेड पाउने अवस्था थियो । ‘अहिले संक्रमित घटे,’ अधिकृत श्रेष्ठले भने, ‘परिस्थिति शान्त छ ।’ दैनिक अस्पतालमा शव लस्करै देखिन्थे । भावुक हुन पनि पाइन्थेन । ‘ढुक्कले नसुतेको धेरै समय भयो,’ उनले भने, ‘जतिबेला पनि तम्तयार भएर बस्छु ।’ उनको कामप्रतिको अधिक लगाव देखेर श्रीमती मेलिना अचम्म पर्छिन् । चार वर्षको छोरो पनि बुबाको मिहिनेतलाई महसुस गर्ने भइसकेको उनले बताइन् । ‘न खाने टुंगो छ, न सुत्ने,’ उनले भनिन्, ‘काम भएपछि परिवार चाहिंदैन उहाँलाई ।’ उनीहरूको तीन जनाको परिवार छ । भेरी अस्पतालको क्वार्टरमा बस्छन् । मेलिना अस्पतालकी नर्सिङ स्टाफ हुन् । पहिलो वर्षको कोरोना संक्रमणमा जति जोखिम उठाएर काम गरिन्, दोस्रो लहरमा त्यति चाप परेन ।

    श्रीमान्को कामप्रतिको लगाव देखेर मेलिनालाई खुसीसँगै रिस पनि उठ्छ । बिहानदेखि बेलुकासम्मै अफिसकै जिम्मेवारी पूरा गरेको देख्दा मेलिनाले पारिवारिक जीवन गौण भएको महसुस गर्छिन् । आफ्नो ज्यानकै वास्ता नगरेर काम गर्नु कस्तो पागलपन हो भनेर उनले धेरैपटक श्रीमान्लाई सम्झाइन् । मेलिनाका अनुसार त्यतिबेला नरेश फिस्स हाँसेर उडाइदिन्छन् । अनि उही काममै घोत्लिन्छन् । कोरोना कहरको पहिलो चरणमा मेलिना प्रसूति वार्डमा काम गर्थिन् । उतिबेला पीपीईको उचित सुविधा थिएन । प्रसूतिमा छटपटाउँदै आएका गर्भवतीको पीसीआर जाँच गरेर प्रसूति गराउने व्यवस्था पनि थिएन । ‘तुरुन्तै जे त होला भन्दै डेलिभरी गराइन्थ्यो,’ उनले सम्झिइन्, ‘पछि थाहा हुन्थ्यो, गर्भवती महिला संक्रमित हुन् भनेर ।’मेलिना अहिले चितवन मेडिकल कलेजमा नर्सिङमा स्नातकोत्तर अध्ययनमा व्यस्त छन् । दोस्रो लहरको कोभिड सुरु भएपछि मेलिनाको मन अलि डरायो । त्यसमा पनि नरेश दिनरात संक्रमित बिरामीलाई भेटेर आउने जाने गर्छन् । छोराले बाबासँग खेल्ने समय नपाउँदा उनलाई खिन्न लाग्छ । यतिबेला नरेशले बुबाको भूमिकासमेत सम्हाल्दै आएको उनले सुनाइन् । ‘कहिलेकाहीं छोरो पछ्याउँदा काममा लिएरै जानुहुन्छ,’ उनले भनिन्, ‘अस्पताल नै घुम्ने फिर्ने थलो बनेको छ, उसका लागि ।’ कोरोनाको विषयमा सुन्दा सुन्दै छोराले खेलौना नाम नै कोरोना राखिदिएको रमाइलो किस्सा सुनाए । मेलिना र नरेशको परिवार दुई वर्षदेखि खुलेर आउटडोर घुम्न पाएको छैन । अहिलेको परिस्थितिले घुम्नेभन्दा पनि काम गर्ने अवसर दिएको छ । नरेशले कोभिडलाई कार्यदक्षता देखाउने उत्तम अवसरको रूपमा लिएका छन् । नरेश श्रेष्ठलाई अहिले पनि सम्झना छ, नेपालगन्जमा पहिलोपटक कोभिड बिरामीलाई आइसोलेसनमा राख्न जाँदा मास्कको भरमात्रै थियो । कुनै पीपीईको व्यवस्था थिएन । उनीसँग सुरक्षित हुनुपर्छ भन्ने चेतना थियो र कर्मप्रति दायित्वबोध थियो । नरेश अझै पनि एउटा मास्ककै भरमा अस्पतालका कोभिड बिरामीलाई भेट्न जान्छन् । ‘म मास्ककै भरमा सुरक्षित छु,’ उनले थपे, ‘डर छैन ।  ’र्ईकान्तिपुरबाट

  • १० असार २०७८, बिहीबार ०९:५१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)